मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मानव जीवनरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री गुरुङ

आइतबार, १६ जेठ २०७८, १६ : ४८
आइतबार, १६ जेठ २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको बताएका छन् । पोखरा पर्यटन परिषद्ले आज यहाँ आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उनले खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवन रक्षा लागि प्रदेश सरकारले प्राथमिकता साथ काम गरेको बताए ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पनि खोपका लागि सकारात्मक पहल भएको र बजेटले पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको जनाउँदै मन्त्रिपरिषद्बाट पनि खोप खरीद गर्नेको लागि सङ्घ सरकारलाई सिफारिश गरेको जानकारी दिए ।
उनले प्रदेश अक्सिजनमा आत्मनिर्भर रहेको उल्लेख गर्दै स्वास्थ्य उपचारका लागि आवश्यक पूर्वाधार निर्माणको कार्य द्रुत गतिमा भइरहेको बताए । स्रोतसाधन र जनशक्तिको समेत अभाव हुन नदिन सरोकारवालालाई निर्देशन दिइरहेको जनाउँदै उनले बेलाबेलामा हुने ‘टेक्निकल इरर’का कारण बिरामीको मृत्यु हुने दुःखद् भएको र यसलाई गम्भीर रुपमा लिएको बताए ।

“पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड उपचार अस्पताल भएको छ अब सङ्क्रमितको उपचारका लागि कुनै पनि समस्या हुँदैन”, उनले भने । परिषद्ले उपलब्ध गराएको अत्यावश्यक स्वास्थ्य उपकरणले कोभिड– १९ का बिरामीलाई उपचारमा सहज हुने उनले बताए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कोभिड– १९ को महामारीका समयमा  मानवीय जीवनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राखे । मुख्यमन्त्रीले उक्त सामग्री सङ्क्रामक तथा सरुवा रोग अस्पतालका चिकित्सक विकास गौचन, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डुकबहादुर क्षेत्री र मातृशिशु मितेरी अस्पतालका चिकित्सक पुष्कर गौचनलाई हस्तान्तरण गरेका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना महामारीको अवस्थामा मानवीय सेवालाई केन्द्रविन्दुमा राख्दै परिषद्को नेतृत्वमा उक्त सामग्री छिमेकी मुलुक चीनबाट आयात गरिएको जानकारी दिए । उनका अनुसार करीब रु १५ लाख मूल्य बराबरको अत्यावश्यक कोभिड अक्सिजन कन्सन्ट्रेटेड मेशिन छ थानसहित अक्सिजन मेशिन (१० लिटर) चार थान, पिपिइ सेट ५०० थान, पञ्जा एक हजार थान, मास्क १० हजार थान स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो  । नमस्ते कम्युनिटी फाउण्डेसन अध्यक्ष भीष्म पौडेलले दुई थान अक्सिजन कन्सन्ट्रेटेड मेशिन सहयोग गरेका थिए ।

सो सामग्री पोखराका पर्यटन व्यवसायी सङ्घसंस्था, व्यवसायीलगायत रेवान पोखराका पूर्व महासचिव श्रीराम गिरीको समन्वयमा नेपलिज एशोसिएसन जर्जिया अध्यक्ष भवेन्द्र बस्नेत र अमेरिकाको जर्जिया राज्यका लागि जनसम्पर्क दूत दीपक पहारी समेतले सहयोग गर्नुभएको संस्थाका महासचिव रामचन्द्र शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप