शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच वर्षमा सिटीको लगानी ६२ करोड युरो, तर जित्न सकेन च्याम्पियन्स लिग

आइतबार, १६ जेठ २०७८, १५ : ४९
आइतबार, १६ जेठ २०७८

एजेन्सी । पेप गार्डीओलाले शनिबार आफ्नो करियरमा तेस्रो च्याम्पियन्स लिग उपाधि जित्ने ठूलो अवसर गुमाए । थोमस टुचालको प्रशिक्षणमा रहेको चेल्सीले गार्डीओलाको म्यानचेस्टर सिटीलाई १–० ले हरायो ।  बार्सिलोनामा छँदा गार्डीओलाले दुईपटक च्याम्पियन्स लिग जितेका थिए– सन् २००९ र सन् २०११ मा । त्यसयता तीन सिजन बार्यन म्युनिखमा बिताएपछि सन् २०१६ मा गार्डीओला म्यानचेस्टर आए । उनी आएयता, म्यानचेस्टर सिटीले इङ्लिस फुटबलमा दबदबा कायम गर्दै तीनपटक  प्रिमियर लिग, चारवटा काराबाओ कप, एकपटक एफए कप र दुईवटा कम्युनिटी शिल्ड जित्यो ।

‘हामीले अद्भूत रुपमा प्रतिष्पर्धा गर्यौं । यो हाम्रो पहिलोपटक थियो । फेरि यहाँ फर्कनका लागि हामी तयार हुनैपर्छ’ फाइनलपछि उनले भने ।  गार्डीओलाले उपविजेताको मेडललाई किस गर्दै म्यानचेस्टर सिटीले पहिलोपटक फाइनलमा पुगेर हासिल गरेको उपलब्धि प्रदर्शन गरे ।

गत केही सिजन क्वाटरफाइनलबाटै बाहिरिएको सिटीले यसपटक फाइनल आइपुग्ने क्रममा बोरुसिया डर्टमुन्ड र पेरिस सेन्ट जर्माइनलाई हराएको थियो ।  तर फाइनलमा पहिलो हाफमा चेल्सीका काई ह्यार्भट्चले गरेको गोल नै निर्णायक बन्यो । 

च्याम्पियन्स लिगको फाइनल खेलेर पनि कहिल्यै उपाधि जित्न नसकेका २० क्लबमध्ये सिटी एक बन्यो । यो सूचीमा तीन पटकको उपविजेता एथ्लेटिको म्याड्रिड, दुईपटक फाइनल खेलेर पनि उपाधि जित्न नसकेका रेइम, भ्यालेन्सियालगायत पर्छन् । 

गार्डीओलाको प्रशिक्षणकाल अर्थात् विगत पाँच सिजनमा म्यानचेस्टर सिटीले ९३ करोड ८० लाख युरो खेलाडी भित्र्याउन खर्च गरिसकेको छ । त्यस्तै, उनले ३१ करोड ५० लाखमा विभिन्न क्लबमा खेलाडीहरु बेचेको छ ।  यसरी ६२ करोड ३० लाख लगानी गरेर क्लबले पाँच वर्षमा १० वटा उपाधि जित्यो । तर उसले जुन उपाधि जित्नका लागि यति धेरै लगानी खन्याएको थियो । त्यो उपाधि अर्थात् च्याम्पियन्स लिग जित्ने योजना कम्तिमा यो सिजन पूरा भएन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप