शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि

आइतबार, १६ जेठ २०७८, १२ : २७
आइतबार, १६ जेठ २०७८

 गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । पोखरा सभागृह हलमा दिउँसो १ बजेपछि संसदको बैठक सुरु हुनेछ । प्रदेशसभा शुरु हुने पहिलो दिनमै प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताले सम्बोधन गर्ने कार्यसूची तोकिएको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।

सोमबार बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता छ ।

कोरोना भाइरस फैलिदो संक्रमणका कारण गत वर्षदेखि नै पोखरा सभागृहमै बैठक सारिएको हो । यही बजेट अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने तयारी गरेका छन् । उनले ३० दिनभित्र अर्थात जेठ २७ सम्म संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मत लिनुपर्ने कानुनी ब्यवस्था छ ।

नीति तथा कार्यक्रम प्रस्तुत हुनुभन्दा अगाडि नै विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री गुरुङनिकट स्रोतले जनाएको छ । नेकपा एमालेको ओली निकट गुरुङ वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्त भएको मितिले ३० दिनभित्र उनले विश्वासको मत लिन नसके प्रदेशसभा प्रमुखबाट बहुमत प्राप्त दलको नेताको हैसियतमा मुख्यमन्त्री दबी गर्न आह्वान गर्ने छन् । त्यो सम्भव नभएका प्रदेशमा मध्यावधि निर्वाचनमा जाने सम्भावना रहन्छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले जेठ १६ का लागि बर्खे अर्थात बजेट अधिवेशन आह्वान गरेकी हुन् । बर्खे अधिवेशन खासगरी नीति कार्यक्रम एवम् बजेटसँग सम्बन्धित हुन्छ । शनिबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत नलिँदासम्म बजेट ल्याउन नहुने विपक्षी दलले आवाज उठाएका थिए । तर, सरकारमा रहेको नेकपा एमाले पक्षधरले भने मुख्यमन्त्रीले विश्वासको मत पनि लिने र बजेट पनि ल्याइछाड्ने अडान राखेका थिए ।

गण्डकीमा कुल ६० सदस्य छन् । तीमध्ये नेकपा एमालेका २७, काँग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र १ सदस्य छन् । स्वतन्त्र सांसद दीपक मनाङे सहित मुख्यमन्त्रीसँग २८ सिट रहेको छ ।

गण्डकी प्रदेशमा सरकार बनाउनका लागि ३१ मत अवश्य पर्छ । तर, सरकार बचाउन मुख्यमन्त्री गुरुङलाई जनमोर्चाका तीन मत आवस्यक पर्छ । तत्काल मुख्यमन्त्री गुरुङले जनमोर्चाको तीन मत पाउने सम्भावना छैन।  जनमोर्चाका तीन सांसद सत्तापक्ष र प्रतिपक्षमा बाँडिएको अवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप