केन्द्रीय संस्करण

लघुकथा : पुष्पविमान

person explore access_timeजेठ १६, २०७८ chat_bubble_outline0

आज दिउँसो तीन दिनदेखिको लामो झरी उघ्रेपछि मीठो घाम लाग्यो । कोठाभित्र पसेर हेर्दा बिहानैदेखि बन्द भएको बिजुली पनि आएछ ।  अँ, साँच्चि त आज नेपाल सरकारले आगामी आर्थिक वर्षको निम्ति बजेट प्रस्तुत गर्ने दिन । हतारहतार  नेपाल टेलिभिजन खोलेँ। 

अर्थमन्त्रीबाट प्रस्तुत बजेट भाषणको प्रत्यक्ष प्रसारण हुँदै रहेछ। प्रसारण हेर्दाहेर्दै मैले बासँग जिज्ञासा राखेँ :

सांसद विकास कोषमात्र हैन, विकृति र विसङ्गतिको पोको भनौँ अथवा देशको सन्नीमा आएको पिलोको फोकोरूपी यो संसदीय व्यवस्थासमेत खारेज गरेर योभन्दा उन्नत समाजवादी व्यवस्था स्थापना गर्नसके पटकपटक विघटन गर्ने लेठामा लाग्नै पर्दैनथ्यो नि बा ! सकिएला त त्यसो गर्न ?

बाले मेरो कुरालाई ठाडै इन्कार गर्नुभो :
``अहँ, सकिन्न । फिटिक्कै सकिन्न।
``किन सकिन्न बा ?´´
`` हाम्रो संविधानले यस्तो अग्रगामी कदम चाल्ने कुनै व्यवस्था गरेकै छैन, लाटा !´´

बाले यसो भन्दै प्याट्ट गालामा हान्दा झल्याँस्स भएर बिउँझेछु। आँखा मिच्दै यसो यताउता हेरेँ । केही देखिएन । निस्पट्ट अन्धकार थियो । न त बा, न त आमा । कोही थिएनन् त्यहाँ । थियो त केवल सन्नाटा। त्यो सन्नाटाभित्र चारैतिर नियालेँ, हातमा दियालो बाल्दै आकाशतिर फर्किएर। मध्यान्हको टन्टलापुर घामलाई कालो बादलले छेकेको र बादलको छेवैमा चुच्चे नक्साले बेरिएका निशाचरको एक जोडी आलिङ्गन गर्दै भूतलतिर झरिरहेका देखिए। 

हेर्दाहेर्दै दक्षिणपश्चिमतिरबाट एउटा पुष्प विमान आएर समागममा मस्त निशाचरको जोडीमा पुष्पवृष्टि गरिदियो। विमान तिनीहरूको अघिल्तिर आएर हावामै टक्क अडियो। निशाचरहरूले आफ्ना ज्यानमा बेरेका नक्साको कागज च्यातचुत पारेर फ्याँक्दै विमानमा सवार भए । विमान एक फन्का मारेर आकाशिँदै बादलभित्र छिर्यो। म भने ट्वाल्ल परेर हेरेको हेर्यै भएँ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.