बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमुख शहरहरू बीचको यात्रा अवधि अधिकतम दुई घण्टा बनाउने सरकारको महत्त्वाकांक्षी योजना

सडक पूर्वाधार विकासका लागि यस्ता छन् बजेटमा व्यवस्था
आइतबार, १६ जेठ २०७८, १० : १९
आइतबार, १६ जेठ २०७८


सरकारले आवागमनमा सहजता, बजारहरु बीचको अन्तरआवद्धता र उत्पादन अन्तरसम्बन्धलाई मजबुत बनाउन गुणस्तरीय यातायात पूर्वाधारको विकास गर्ने बताएको छ। शनिबार आर्थिक वर्ष 2078/79 को  अनुमानित आय-व्ययको सार्वजनिक जानकारी वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रमुख शहरहरू बीचको यात्रा अवधि अधिकतम दुई घण्टा हुने गरी समय र लागत घटाउन गतियुक्त सडक, सुरुङ्गमार्ग, उचाईयुक्त पुल एवम् फ्लाइओभर निर्माण गरिने बताए। सबै सडकको जिआइएस म्यापिङ गरी वर्गीकरण गर्ने व्यवस्था मिलाइएको उनकाे भनाइ छ ।

यस्ता छन् बजेटमा गरिएका व्यवस्था 

पूर्व-पश्‍चिम राजमार्गलाई सुरक्षा मापदण्ड सहितको चार लेनमा विस्तार गरिनेछ। कञ्चनपुर-कमला, कमला-ढल्केवर-पथलैया र नारायणगढ-बुटवल खण्डको विस्तार कार्यलाई तीव्रता दिइनेछ। काकडभिट्टा-इनरुवा, पथलैया-नारायणगढ, बुटवल-कोहलपुर र कोहलपुर-वनवासा खण्डको विस्तृत डिजाइन सम्पन्‍न गरी निर्माण कार्य थालनी गरिनेछ। यस राजमार्गको सघन बस्ती भएको क्षेत्रमा सर्भिस लेन, अण्डरपास तथा फ्लाइओभर, चुरे क्षेत्रमा टनेल र वन क्षेत्रमा वन्यजन्तु टनेल समेत निर्माण गरिनेछ। यसका लागि रु. 15 अर्ब 34 करोड विनियोजन गरिएको छ।

पुष्पलाल राजमार्गलाई चारलेनमा विस्तार गरी मध्यपहाडी क्षेत्रको विकास मेरुदण्डको रुपमा निर्माण गरिनेछ। राजमार्गको दुरी घटाउन सम्भाव्यता अध्ययन गरी पुनःरेखाङ्कन, सुरुङ्ग प्रविधिको प्रयोग र उचाईयुक्त पुल निर्माण गरिनेछ। यसका लागि  रु. 8 अर्ब 13 करोड विनियोजन गरिएको छ।

मदन भण्डारी राजमार्गको चतरा-हेटौडा खण्डको निर्माण कार्य आगामी आर्थिक वर्ष सम्पन्‍न गरिनेछ। शान्तिनगर-धरान र भेडावारी-धुलियाविट, सुर्खेत खण्डको निर्माण कार्य प्रारम्भ गरिनेछ। बाँकी खण्डको रेखाङ्कन र विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण कार्य अघि बढाइनेछ। यसका लागि रु. 3 अर्ब 20 करोड विनियोजन गरिएको छ।

हुलाकी राजमार्गको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्‍न गरिनेछ। रतुवा, विरिङ्ग, कन्काई, कमला, वागमती, बलान, डन्डा र कान्द्रा नदीमा पुल निर्माण सम्पन्‍न गरिनेछ। चितवन र मकवानपुर जिल्लाका राष्ट्रिय निकुञ्‍ज क्षेत्रमा पर्ने खण्डको पुनःरेखाङ्कन गरी निर्माण सम्पन्‍न गरिनेछ। हुलाकी राजमार्गका लागि रु. 6 अर्ब 39 करोड विनियोजन गरिएको छ।

काठमाण्डौ-तराई मधेश द्रुत मार्गको निर्माणलाई तीव्रता दिइनेछ। द्रुतमार्गमा पर्ने सुरुङ्ग मार्ग र उचाईयुक्त पुल निर्माण कार्य आगामी वर्ष प्रारम्भ गरिनेछ। काठमाण्डौ तराई द्रुतमार्ग निर्माणको लागि रु. 8 अर्ब 15 करोड विनियोजन गरिएको छ।

सिद्धार्थ राजमार्ग र कोहलपुर-सुर्खेत राजमार्गलाई डेडिकेटेड डबल लेनमा स्तरोन्‍नति गर्न रु.7 अर्ब विनियोजन गरिएको छ। पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन खण्डको स्तरोन्‍नति र आँवुखैरेनी-पोखरा खण्ड चार लेनमा विस्तार गर्न रु. 7 अर्ब २७ करोड विनियोजन गरिएको छ।

पुर्व-पश्‍चिम राजमार्गबाट तराई-मधेशका 18 जिल्लामा जिल्ला सदरमुकाम हुँदै दक्षिणी सीमा जोड्ने सडकलाई चार लेनमा विस्तार गर्ने कार्यक्रम अन्तर्गत सम्पन्‍न हुन बाँकी खण्डको विस्तार गर्न रु. 2 अर्ब 66 करोड विनियोजन गरिएको छ।

अरनिको राजमार्गको धुलिखेल-दोलालघाट-कोदारी खण्ड स्तरोन्‍नति तथा विस्तार गर्न रु. 1 अर्ब 13 करोड विनियोजन गरिएको छ। गल्छि-स्याफ्रुवेंशी-रसुवागढी र काठमाण्डौ-विदुर सडकलाई डेडिकेटेड डवल लेनमा स्तरोन्‍नति गरिनेछ। ओलाङचुङ्गोला, किमाथाङ्का, लामावगर, लार्के, कोरला, हिल्सा, यारी र टिंकरसम्मको पहुँचमार्ग निर्माण तथा सुधारको लागि बजेट व्यवस्था गरिएको छ।

उत्तर-दक्षिण सडक कोरिडोर निर्माण कार्यलाई तीव्रता दिइनेछ। मेची कोरिडोरको देउराली-भैसे खण्ड, तमोर कोरिडोरको चतरा-ओलाङ्चुङगोला खण्ड, कोशी कोरिडोरको खाँदवारी-किमाथाङ्का खण्ड, त्रिशुली कोरिडोरको त्रिशुली-साफ्रुवेसी-रसुवागढी खण्ड, कालीगण्डकी कोरिडोर, सेती लोकमार्गको टीकापुर-साँफे खण्ड निर्माण कार्य अघि बढाउन रु. 6 अर्ब ५० करोड विनियोजन गरिएको छ।

कर्णाली राजमार्गको सुर्खेत-खुलालु खण्ड दुई लेनको बनाइनेछ। नाग्मा-गमगढी सडक स्तरोन्‍नति गरिनेछ। यसका लागि रु. 1 अर्ब 20 करोड विनियोजन गरिएको छ। हुम्ला जिल्लाको सिमिकोटलाई आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग सञ्‍जालमा जोडिनेछ।

भेरी सडक कोरिडोरको जाजरकोट-दुनै खण्डको स्तरोन्‍नति गरिनेछ। दुनै-तिन्जे धो खण्डको ट्रयाक खोल्ने कार्य आगामी आर्थिक वर्ष प्रारम्भ गरिनेछ। यसका लागि रु. 61 करोड विनियोजन गरिएको छ।

महाकाली कोरिडोरको ब्रम्हदेवमण्डी-झुलाघाट-दार्चुलाखलङ्गा-टिंकर सडकको निर्माणलाई तीव्रता दिइनेछ। यसका लागि रु. 1 अर्ब 3 करोड विनियोजन गरिएको छ।

आगामी वर्ष 3 सय पुल निर्माण सम्पन्‍न  गरिनेछ। दोधारा-चाँदनी हुँदै भारतीय सीमा नाका जोड्ने महाकाली नदीमा चार लेनको पुल निर्माण सम्पन्‍न गरिनेछ। पुल निर्माण तर्फ रु. 11 अर्ब 10 करोड विनियोजन गरिएको छ।

पूर्व-पश्‍चिम राजमार्गका कोशी, नारायणी, राप्ती लगायतका 10 सम्भाव्य सडक पुललाई आकर्षक सिग्नेचर ब्रिजले प्रतिस्थापन गरिनेछ। यी पुलहरूको डिजाइन एवम् विस्तृत परियोजना प्रतिवेदन तयार गर्न ख्यातीप्राप्त अन्तर्राष्‍ट्रिय परामर्शदातालाई सहभागी गराइनेछ।

संघीय सरकारको क्षेत्राधिकार भित्रका सडक तथा पुलको मापदण्ड निर्धारण, ड्रइङ्ग, डिजाइन, निर्माण, मर्मत सम्भार, सम्भावित लगानीको वैकल्पिक उपकरणहरूको प्रयोग, वित्तीय स्रोत परिचालन एवम् अभिलेखीकरण समेतका लागि राष्ट्रिय राजमार्ग प्राधिकरण स्थापना गर्न विज्ञ सहितको अध्ययन कार्यदल गठन गरिनेछ।

काठमाण्डौ उपत्यकाको चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत कलङ्की देखि महारागञ्ज खण्डको निर्माण शुरु गरी दुई वर्षभित्रमा सम्पन्‍न गरिनेछ। महाराजगञ्‍ज-धोवीखोला-चावहिल-तिलगंगा खण्डको विस्तृत संभाव्यता अध्ययन गरी परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य थालनी गरिनेछ। चक्रपथको ग्वार्को, सातदोवाटो र एकान्तकुना चोकमा फ्लाईओभर निर्माण कार्य प्रारम्भ गरिनेछ। चक्रपथ विस्तारको लागि रु. 2 अर्ब 64 करोड विनियोजन गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप