शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कहाँ–कहाँ सुरुङ्गमार्ग बनाउन बजेट ?

शनिबार, १५ जेठ २०७८, २३ : ३३
शनिबार, १५ जेठ २०७८

पृथ्वी राजमार्गको नागढुङ्गामा सुरुङ्ग मार्ग निर्माण आरम्भ भएसँगै देश सुरुङ्गमार्गको युगमा प्रवेश गरेको सरकारको भनाइ छ । आधुनिक सुरुङ्गमार्ग नेपालीका लागि सपना नभइ वास्तविकतामा रुपान्तरित हुँदै गइरहेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । उनले भौगोलिक विकटताका कारण लम्बिएको यात्रा सुरुङ्गमार्गले छोटो बनाउने र यात्रा लागत घट्ने बताउँदै अब बन्ने सडकमा सुरुङ्ग प्रविधिको प्रयोगलाई महत्त्वका साथ अवलम्बन गरिने बताए ।

बजेटमा यस्तो छ व्यवस्था

काठमाण्डौको नागढुङ्गादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङ्गमार्ग निर्माण कार्यलाई तीव्रता दिई दुई वर्षभित्र सञ्चालनमा ल्याइनेछ। यस आयोजनाका लागि रु. 9 अर्ब 85 करोड विनियोजन गरिएको छ।

आगामी वर्ष सिद्धार्थ राजमार्गको सिद्धवावा-दोभान खण्ड, दोलखाको लामावगर-लाप्चे  र धरान-धनकुटा सडक खण्डको धरान-लेउती सुरुङ्ग मार्ग निर्माण प्रारम्भ गर्न बजेट व्यवस्था गरिएको छ।

काठमाण्डौ कोटेश्‍वरको सवारी चापलाई व्यवस्थित गर्न तीनकुने-जडिवुटी खण्डमा सुरुङ्ग मार्ग निर्माण गर्न रु. 1 अर्ब 80 करोड विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्ष टोखा-छहरे-गुर्जुभज्याङ, वेत्रावती-स्याफ्रुवेशी, खुर्कोट-चियावारी र थानकोट-चित्लाङ्ग सुरुङ्गमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य प्रारम्भ गरिनेछ।

पृथ्वी राजमार्गको मझिमटार-शक्तिखोर, पोखरा बाग्लुङ राजमार्गको हेम्जा-नयाँपुल, चेपाङ्ग राजमार्गको दुम्लिङ्ग-वाङ्गसिङ्ग, पूर्ब-पश्‍चिम राजमार्गको दुम्कीवास-वर्दघाट, कोहलपुर-सुर्खेत राजमार्गको बबई-छिन्चु, सुर्खेत-दैलेख सडकको कपासे-सियाकोट, पाल्पा-तम्घास सडकको प्रभास-जोर्ते र विपिनगर-खुटिया-दिपायल खण्डमा सुरुङ्गमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप