आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

साढे ५ खर्बको घाटा बजेट, ३ खर्ब ऋण लिँदा पनि नपुग्ने

बजेटको आकार ठूलो, तर स्रोत जुटाउने आधार देखिएन
शनिबार, १५ जेठ २०७८, २० : ०७
शनिबार, १५ जेठ २०७८

सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेटमा साढे ५ खर्बभन्दा रकम कहाँबाट जुटाउने भन्ने स्पष्ट छैन । अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गरेको बजेटको स्रोत ५ खर्ब ५९ अर्ब ३० करोड न्यून देखाइएको छ ।  

सरकारले साढे १६ खर्बको बजेट ल्याए पनि राजस्व र वैदेशिक अनुदानबाट जुट्ने रकम १० खर्ब ८८ अर्ब २७ करोड मात्र अनुमान गरिएको छ । यो रकम कुल बजेटभन्दा ५ खर्ब ५९ अर्ब ३० करोड कम हो ।

सरकारले आगामी आर्थिक वर्षमा राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड स्रोत जम्मा हुने अनुमान गरेको छ । त्यस्तै बैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड प्राप्त हुने अनुमान छ ।

कोरोनाका कारण अर्थतन्त्र डामाडोल भएकाले १० खर्ब २४ अर्ब राजस्व उठ्न सहज देखिँदैन । तथापि सरकारको दाबी चाहिँ कोरोना महामारी नियन्त्रण हुने आर्थिक गतिविधि चलायमान हुने भन्ने छ । र, यही अनुमानका आधारमा सरकारले आगामी आर्थिक वर्षमा ६.५ आर्थिक वृद्धिदर पुग्ने अनुमान गरेको छ ।

बजेटमा अपुग हुने ५ खर्ब ५९ अर्ब ३० करोडमध्ये ३ खर्ब ९ अर्ब २९ करोड ऋण लिने अर्थमन्त्रीको भनाइ छ । तर, यति ऋण लिँदा पनि कुल बजेटमा २ खर्ब २० अर्ब १ करोड अझै न्यून हुने देखिन्छ ।

एकातर्फ कोरोना महामारी र अर्कोतर्फ चुनाव घोषणा गरिएका बेला सरकारले गत वर्षको भन्दा पनि ठूलो बजेट ल्याएको छ । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब ७४ अर्ब ६४ रुपैयाँको बजेट ल्याएको थियो । गत वर्षको भन्दा यो बजेट १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँले बढी हो ।

तर, बजेट ठूलो आकारमा आए पनि बजेटको स्रोत चाहिँ ५ खर्ब ५९ अर्ब ३० करोड न्यून हुने गरी ल्याइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप