केन्द्रीय संस्करण
दर्शन

काम ऊर्जा व्यवस्थापनका सूत्र

person explore access_timeजेठ १५, २०७८ chat_bubble_outline0

काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य मानवीय स्वभाव हुन् । यिनलाई अर्को अर्थमा मानवीय गुण भन्न पनि सकिन्छ । जन्मँदै सँगै आएका यी गुण जीवन पर्यन्त रहन्छन् । फरक यति हो अवस्थाअनुसार कुनै कम हुन्छन् कुनै बढी । कुनै प्रत्यक्ष देखिन्छन् कुनै देखिँदैनन् । नदेखिए पनि सूक्ष्मरूपमा रहेकै हुन्छन् सबैमा । आबाल, वृद्ध, वनिता योगी, सन्यासी कोही पनि यसबाट अछुत हुँदैनन्, हुनै सक्दैनन् । त्यसैले यी समस्या होइनन् । समस्या ती हुन् जहाँ व्यवस्थापन गर्न जानिएको छैन वा तरिका मिलाइएको छैन । उदाहरणका लागि काम ऊर्जालाई नै लिन सकिन्छ ।

जस्तो हामीलाई थाहा छ काम प्राकृतिक नियम हो । प्रकृतिका यावत कण काममय छ, काम ऊर्जाले व्याप्त छ । काम, काम मात्र होइन, तपाईंको जीवन हो, जीवन ऊर्जा हो । यसैबाट तपाईंको जन्म भएको छ । जन्मजात लिएर आउनुभएको छ । पहिले कामले तपाईंलाई खेलाउँछ, पछि तपाईं उसलाई खेलाउन थाल्नुहुन्छ । यो तपाईंको रौँरौँमा छ । मुटुको ढुकढुकीमा छ । प्राणको स्पन्दनमा छ । कानमा छ, आँखामा छ, शरीरमा छ, मनमा छ, बुद्धिमा छ, विचारमा छ, व्यवहारमा छ । बालकमा छ, युवामा छ, प्रौढमा छ ।

बच्चाले आमाको काखमा खेल्दा पनि काममै खेलिरहेको हुन्छ । आमाले बच्चालाई खेलाउँदा पनि काम नै खेलिरहेको हुन्छ । कामकै कारण बच्चा आमाप्रति आकर्षित हुन्छ । आमाको बच्चाप्रतिको प्रेममा पनि कामकै भूमिका हुन्छ । काम बिना सृष्टि रोकिन्छ । ऊ यसैमा रमाउन चाहन्छ, यसैको कुरा सुन्न चाहन्छ, भोग्न चाहन्छ, चुम्न चाहन्छ, खेल्न चाहन्छ, खेलाउन चाहन्छ, देख्न चाहन्छ, देखाउन चाहन्छ । चाहे जड प्राणीको कुरा गर्नुस्, चाहे चेतन प्राणी काम सबैमा हुन्छ । यसैबाट आएको हो, यसैमा जान चाहन्छ । यसलाई कसैले रोक्न सक्दैन, रोक्न खोज्नु पनि हुँदैन ।  

काम भनेको वासना हो, वासना भनेको आकर्षण । वासना सांसारिक पनि हुन सक्छ, आत्मिक पनि हुन सक्छ । बाँच्नका लागि दुवै आवश्यक हुन्छन् । कामलाई जित्न कसैले सकेका छैनन् । प्रकृतिको गति रोक्न सक्ने ऋषिमुनिहरू समेत हारेका छन् । हामी उसलाई जित्न सक्दैनौँ तर रूपान्तरण गर्न भने सक्छौँ ।

प्रश्न उठ्न सक्छ रूपान्तरण भनेको के हो र गर्ने कसरी ? तर नआत्तिनुस् तरिका सरल छ । रूपान्तरण भनेको व्यवस्थापन हो । व्यवस्थापन भनेको जहाँ जाने हो त्यहीँ भएर जाने तरिका हो । मानिलिनुस् तपाईं भान्सा कोठामा जान खोज्दै हुनुहुन्छ । खाना पकाउने तपाईंको जिम्मेवारी छ । यहाँ खाना पकाउनु तपाईंको काम हो । त्यसो हो भने तपाईं खाना पकाउन जान सक्नुहुन्छ, जानुस् तर पहिले भान्साशास्त्रको ज्ञान लिएर जानुस्, भान्छामा बसुन्जेल पूरा भान्छे भएर रहनुस्, भान्सेबाहेक केही पनि नहुनुस् । अन्यथा खान बिग्रन सक्छ । तपाईं खाना बिगार्न जानुभएको होइन, बनाउन जानुभएको हो । बिगार्नु भयो भने दण्ड लाग्छ । सामाजिक, प्रशासनिक, नैतिक सबै किसिमको भरपाइ गर्नुपर्ने हुन सक्छ । यसबाहेक समयसमेत खेर जानेछ । त्यस्तै गाडी चलाउन चाहनु हुन्छ भने पूर्ण ड्राइभर भएर चलाउनुस् । बालकको पासमा जाँदा बालक नै बन्नुस् । वृद्धको पासमा जाँदा वृद्ध नै बन्नुस् । विद्यार्थीको पासमा जाँदा विद्यार्थी नै बन्नुस्, कृषक, व्यपारी, उद्योगपति जहाँ जानु हुन्छ त्यस्तै बन्नुस् । यी केही उदाहरण हुन् । हरेक क्षेत्रमा यही नियमले काम गरेको हुन्छ । काम जुनसुकै गर्नुस् केही छैन तर कसरी गर्नुहुन्छ त्यसले भने अर्थ राख्छ ।

मानिलिनुस् तपाईंमा काम वासना जागृत भयो । पहिले त्यसलाई हेर्नुस्, मात्र हेरिरहनुस् । राम्ररी हेर्नुस्, दो¥याएर हेर्नुस्, ते¥याएर हेर्नुस् । अनि प्रयोग गर्नेतिर लाग्नुस्, प्रयोग गर्ने तरिका मिलाउनुस् । त्यो भनेको आफ्नो अगाडि जे भेटिन्छ त्यसैलाई समाउने हो, त्यसैमा रमाउने हो । कुरा सुन्दा अनौठो लाग्न सक्छ तर अनौठो मान्नुपर्दैन । काम ऊर्जा रूपान्तरणको तरिका यही हो । समाउनुस् भन्नुको अर्थ कामक्रीडाका लागि समाउनुस् भन्ने होइन । यसको आशय प्रेम गर्नु हो, माया गर्नु हो । मात्र प्रेम, विशुद्ध प्रेम । 

यसका लागि पात्र यही हुनुपर्छ भन्ने छैन । जो पनि हुन सक्छ । झोलुङ्गोमा रुँदै गरेको बालक पनि हुन सक्छ । कोठामा ऐय्या, आथ्थु गरिरहेका हजुरबा हजुरआमाहरू पनि हुन सक्नुहुन्छ । आँगनमा खेलिरहेका बालबालिका पनि हुन सक्छन्, परेवाको बथान पनि हुन सक्छन् । घाँसको भारी लिएर आउनुभएको आमा पनि हुन सक्नुहुन्छ । पानीको गाग्री लिएर आउनुभएको दिदीबहिनी वा भाउजूबुहारी पनि हुन सक्छन् । क्याम्पसबाट आउँदै गरेका दाजु, दिदी पनि हुन सक्छन्, स्कुलबाट आउँदै गरेका भाइबहिनी पनि हुन सक्छन् । खोरमा भोकाएको बाख्राको पाठो पनि हुन सक्छ, कुकुरको छाउरो पनि हुन सक्छ । जोतेर आएको गोरु पनि हुनसक्छ, चटारिएकी गाई पनि हुन सक्छ ।

डड्दै गरेको भात, उम्लँदै गरेको दूध, बग्दै गरेको पानी, रोगी, मानिस, भोको शरीर, चिलाउँदै गरेको दाह्री, बढेको नङ, गोडाको मयल, टाउकाको चाया, मुखको पोतो, बल्दै गरेको बत्ती, चुलोमा रहेको चियाको गिलास, जुठा भाँडा, गोठको भकारो, भोको गाईभैँसी, मातेको राँगो, रागो खोज्ने भैँसी, पानी तान्ने मिसिन, कोदालो, हसिया, हतौडा, सागको बोट, सागबारी, धानको खेत, फलफूलको बोट, खोला वा धाराको पानी, किताब, कापी, कलम वा कम्प्युटर जे पनि हुन सक्छ, यही भन्ने छैन । जे भेटिन्छ त्यसैलाई सुमसुम्याउनुस्, खेलाउनुस्, चलाउनुस् । छुनुस्, मसार्नुस्, चुम्बन गर्नुस्, नजिक बस्नुस्, छाम्नुस्, उसको आवाज सुन्नुस्, आवश्यकता बुझ्नुस् अनि त्यसलाई पूरा गर्ने प्रयास गर्नुस् । तपाईंको काम ऊर्जा स्वतः रूपान्तरित भई सहयोगको हात बढाउन थाल्नेछ । 

जब तपाईं उसलाई साँचो प्रेम गर्न थाल्नुहुन्छ तब उसबाट पनि त्यस्तै माया पाउन थाल्नुहुन्छ । तपाईंले उसको जतन गर्नुभयो । उसले तपाईंको जतन गर्न थाल्यो । मायाको अर्थ प्रेम हो, सद्भाव हो, स्नेह हो, जहाँ दिने मात्र काम भएको हुन्छ । जहाँ चोखो माया हुन्छ त्यहाँ त्याग हुन्छ, घृणा र तिरस्कारको स्थान रहन्न । यही नै काम समाधिको अवस्था हो । जहाँ यस्तो अवस्था सिर्जना हुन्छ त्यसपछिको नतीजा अर्कै हुन्छ । तपाईंका कोही पनि शत्रु हुने छैनन् ।

हालसम्म दुःख पाउनुको कारण हो, कामलाई केवल कामवासनाका रूपमा मात्र हेरियो । काम ऊर्जाको रूपमा हेरिएन, हेर्ने प्रयास गरिएन । फलतः सच्चा प्रेम भएन । केवल अभिनय भयो । हामीले कामको अर्थ नै बुझेनौँ, प्रयोग गर्ने तरिका थाहा पाएनौँ । माया गरेको जस्तो मात्र गरियो । साँचो माया गरिएन । माया गरेको जस्तो गर्नुभयो, अभिनयमा रमाउनुभयो । त्यसैले उसले पनि त्यस्तै गरिदियो । फलतः निरन्तर रोग, भोक, शोक नै हातलागी भयो । जब तपाईं अन्तरात्मादेखि नै माया गर्न थाल्नुहुनेछ उसले पनि त्यस्तै गर्नेछ । यही नै काम ऊर्जा रूपान्तरणको मुख्य उपाय हो ।                             

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.