शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सामूहिक बलात्कारको घटना गाउँमै मिलाउन दबाब

शुक्रबार, १४ जेठ २०७८, २३ : १४
शुक्रबार, १४ जेठ २०७८

गाउँमै मिलाउन खोजिएको सामूहिक बलात्कार प्रयासको घटनामाथि प्रहरीको हस्तक्षेपपछि मुद्दा दर्ता भएको छ । सबैला नगरपालिकामा एक १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको थियो । उक्त घटना सार्वजनिक भएपछि स्थानीय केही नेताहरूले गाउँमै मिलाउन दबाब दिएका थिए ।

सबैला–१२ रघुनाथपुर बस्ने तीन युवाले किशोरीलाई बलात्कार प्रयास गर्दै भिडियोसमेत खिचेको पीडित किशोरीले जनाएकी छन् । पीडित किशोरीका परिवारजनले इलाका प्रहरी कार्यालय सबैलामा जेठ १३ गते आरोपित तीन युवा गाउँकै १८ वर्षीय राजु पासवान, १९ वर्षीय जितेन्द्र पासवान र २० वर्षीय अजित पासवान विरुद्ध उजुरी दर्ता गराएका छन् ।

जेठ १२ गते दिउँसो खेत गएकी किशोरीलाई ती युवाले सामूहिक बलात्कार प्रयास गरेको पीडितले बताइन् । घटना लगत्तै आरोपित तीनै जना युवा फरार रहेकाले उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।

प्रेस मञ्च प्रदेश २ का कार्यवाहक अध्यक्ष तथा सबैलाका बासिन्दा सुरेश यादवका अनुसार घटनापश्चात् पीडित परिवारलाई गाउँमै मिल्न स्थानीय केही नेताले दबाब दिँदै आएका थिए । उनले भने, “पीडित पक्षलाई स्थानीय केही नेताले मिल्न दबाब दिएर पञ्चायत बसाएको थाहा पाएपछि मैले नै प्रहरीलाई खबर गरेँ । जानकारी पाएलगत्तै पञ्चायतमै प्रहरीको टोली पुगेर हस्तक्षेप गरेको छ ।”

अहिले घटनाको मुद्दा दर्ता भएको छ । फरार आरोपीहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप