भेरी अस्पतालमा राज्य आतंक मच्चाउने एमाले कार्यकर्ता बलात्कारका आरोपी
बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने मुख्य आरोपी सत्ताधारी नेकपा (एमाले) कै अगुवा कार्यकर्ता रहेको थाहा भएको छ । आक्रमणमा संलग्न एमाले कार्यकर्ता दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावत अहिले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा छन् ।
उनीहरुमध्ये मानबहादुर नेकपा एमालेको लुम्बिनी प्रदेश समितिका सदस्य हुन् । एमाले दाङको जिल्ला समितिको सचिवालय सदस्यसमेत रहेका मानबहादुरको नेतृत्वको टिमले बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेका थिए ।
५२ वर्षका दाजुको कोभिड–१९ संक्रमणबाट मृत्यु भएपछि मानबहादुरको समूह नर्स र डाक्टरहरूमाथि आक्रमणमा उत्रिएको हो । आक्रमणबाट बच्न चिकित्सक र नर्सले एक तला माथिबाट हाम्फालेर ज्यान बचाएका थिए । डा. चन्द्रबहादुर साहु, नर्सहरु अश्विनी गुरुङ, बन्दना श्रेष्ठ र सदीक्षा गैरेले हामफालेर बाँचेको बताएका छन् ।
कोभिड–१९ को महामारीमा आफ्नो ज्यान जोखिममा राखेर उपचारमा खटिएका नर्स र डाक्टरलाई कुट्ने एमाले कार्यकर्ता मानबहादुरको विगत राम्रो छैन । दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका रावत यसअघि बलात्कार मुद्दामा जेल परेका थिए । ०६६ मा देउखुरीकी एक महिलालाई बलात्कार गरेको मुद्दामा डेढ वर्ष सजाय काटेर उनी जेलमुक्त भएको प्रहरीको रेकर्डबाट देखिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री निकट भनेर चिनिने मानबहादुर पहिले तुलसीपुर उप–महानगरपालिकाको जागिरे थिए । तुलसीपुर उप–महानगरका कार्यपालिका सदस्यलाई अभद्र व्यवहार गरेपछि उनलाई नगरपालिकाले निष्कासन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी