शनिबार, २४ कात्तिक २०८१
ताजा लोकप्रिय

भेरी अस्पताल: पीपीई लगाएर बिरामीको सेवामा खटिएका डाक्टर जसले कुटाइ खाए

शुक्रबार, १४ जेठ २०७८, २० : ०२
शुक्रबार, १४ जेठ २०७८

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका घर भएका डा. चन्द्रप्रकाश साहुले आफ्नो अध्ययन सकेपछि नजिकै रहेको भेरी अस्पतालमा सेवा गर्ने मनसाय बनाए । उनले कोरोना महामारीकै बेला अस्पतालमा सेवा सुरु गरे । 
घर नजिकैको अस्पतालमा करारमा नियुक्त भएर स्थानीयवासीलाई उपचार गर्न पाउँदा उनी खुसी नै थिए । कोरोनाले विभिन्न चिकित्सकको समेत मृत्यु भएको छ तर यो कठिन अवस्थामा पनि उनले मन खोलेर बिरामीको सेवा गर्दै आएका थिए ।
करारमा सेवा आरम्भ गरेको एक वर्ष नपुग्दै उनले हजारौं बिरामीको उपचार गरे । यो अवधिमा उनले भेरी अस्पतालमा आउने बिरामीलाई आफ्नै छर छिमेकी सरह मानेर सेवा भावले उपचार सेवा प्रदान गरे । महामारीको बीचमा जोखिम मोलेर बिरामीको सेवामा समर्पित रहेकै अवस्थामा डा. चन्द्रप्रकाश साहुको जीवनमा बिहीबार राति ज्यादै नमिठो घटना भयो । 

अस्पतालमा एकजना बिरामीको मृत्यु भएपछि उसका आफन्त आएर ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मी चन्द्रप्रकाश साहु, आश्विनी गुरुङ, सदीक्षा गैरे लगायतलाई हातपात गर्न थाल्यो । सो समूहले अस्पतालमा तोडफोडसमेत गर्यो ।

बिरामीको मृत्यु भएपछि आक्रोशित समूहले आफूसहित पाँच जनालाई लखेटी लखेटी हातपात गरेको डा. साहुले रातोपाटीलाई बताए । उनीहरूको आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अन्सारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको छ ।

अस्पताल प्रशासनका अनुसार तुलसीपुर उपमहानगरपालिका–११ निवासी डिल्ली बहादुर रावतको बिहीबार ९ बजे उपचारकै क्रममा मृत्यु भएको थियो । लगत्तै रावतका आफन्तले अस्पतालमा तोडफोड तथा आक्रमण गरेका थिए । उनीहरुले पंखा, टेबुल, कुर्सी र झ्यालढोका तोडफोड गरेको अस्पताल प्रशासनको भनाइ छ ।

पीडित चिकित्सकका अनुसार बिरामीलाई १० अघि अस्पतालमा भर्ना गरिएको थियो । त्यतिबेला पनि बिरामीको स्वास्थ्य अवस्था जटिल नै रहेको र अस्पतालमा आईसियु र भेन्टिलेटर खाली नभए पनि आफूहरुले उपचार जारी राखेको उनीहरुको भनाइ छ ।

घटनाबारे जानकारी गराउँदै चिकित्सक साहुले भने, ‘हिजो (बिहीबार) दिउँसो भेन्टिलेटर खाली भयो, बिरामीलाई भेन्टिलेटरमा राखियो । बिरामीका आफन्तले मेसुलाई फोन गर्न लगाउने र हामीलाई पनि बिरामीलाई केही होला भन्दै थर्काउने काम भइरहेको थियो ।’

केही बेरपछि अस्पतालभित्रै रहेका एक कुरुवाले बिरामीको मृत्यु भयो भन्दै अरू आफन्तलाई अस्पताल बोलाएको र लगत्तै एक हुल आएर अस्पतालमा तोडफोड र आक्रमण गरेको उनले सुनाए । ‘बिरामीको अवस्था सुरुदेखि नै गम्भीर थियो, भेन्टिलेटरको अभावमा पनि जसोतसो हामीले उपचार गरिरहेका थियौं,’ डा. साहुले भने, ‘बिहीबार बल्ल भेन्टिलेटर खाली भयो, हामीले बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार थाल्यौँ तर केहीबेरमा बिरामीको मृत्यु भयो । त्यसपछि आफन्तहरु आएर नर्सलाई घाँटी अठ्याउने, हातपात गर्ने र आफूहरुलाई पनि लखेटी लखेटी हातपात गरिएको उनले सुनाए ।

‘जथाभावी आक्रमण हुन थालेपछि डाक्टर र नर्सहरु भागेर एउटा कोठामा पुगे । त्यहाँको पनि ढोका तोडिएपछि शौचालयमा लुके । उनीहरुले क्याबिनमा लुकेर बसेका डाक्टर र नर्समाथि आक्रमण गर्न थाले,’ उनले भने, ‘जताततै तोडफोड गर्न थाले । त्यसपछि हामी पीपीई लगाएकै अवस्थामा झ्यालबाट हामफालेर भाग्यौँ ।’

राति अन्धकार रहेकाले झ्यालबाट तल केही नदेखिए पनि ज्यान जोगाउन हामफालेको उनले सुनाए । ‘तल बालुवा र ईंटा रहेछ । हामी ४ जना बालुवातिर हामफालेछौं, हामीलाई केही भएन,’ उनले भने, ‘एकजना भने ईंटामा परेकाले खुट्टामा चोट लाग्यो ।’

अस्पतालमा त्यतिबेला दुईजना प्रहरीमात्र तैनाथ रहेका कारण हुलहुज्जत गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिन सक्ने अवस्था नै नरहेको र आफूहरु बाध्य भएर बिरामीको उपचार छाडेर भाग्नु परेको उनको भनाइ छ । उनका अनुसार ती बिरामीको मृत्यु हुँदा उनी आफूसहित नर्सहरु आश्विनी, सदीक्षा गैरे, रिता अधिकारी र कविता पुन ड्युटीमा थिए । ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात भएपछि राति नै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु अस्पतालमा आएको र हातपात गर्ने तीन जनालाई समातेर जिप्रका लगिएको उनले बताए ।

दोषीलाई कडा कारबाही हुने आश्वासन आफूहरुलाई दिइएको उनले रातोपाटीलाई बताए । ‘हामी त बिरामीको उपचारका लागि अस्पताल जाने हो, हामीलाई यसरी हुलका हुल आएर पिट्न थालेपछि कसरी सेवा दिने ?’ डा. साहुले भने ।
उनका अनुसार अस्पतालमा डेढ सयभन्दा बढी बिरामी उपचाररत छन् ।  तुलसीपुर उपमहानगरपालिका–११ निवासी डिल्लीबहादुर रावतलाई १० दिनअघि भर्ना गरिएको भए पनि अस्पतालमा बिरामीको चाप रहेका र गम्भीर समस्या भएका बिरामीको उपचारका लागि सीमित स्रोत र साधन भएका कारण केही दिन सामान्य बेडमै राखेर उपचार गरिएको थियो । ४ दिनअघि उनलाई आइसीयुमा राखिएको डा. साहुले बताए ।

‘उहाँहरुले बिरामी ल्याइदिनु भयो, तर अस्पतालमा न आइसीयु खाली थियो, न भेन्टिलेटर नै खाली थियो,’ उनले भने, ‘एकदिन अघि उनीहरुले नै भेन्टिलेटरमा राखिदिनुप¥यो भनेका थिए । त्यो दिन खाली थिएन । हिजो खाली हुनासाथ हामीले भेन्टिलेटरमा राखिदियौँ ।’

त्यही बेला बिरामीको शरीरमा अक्सिजनको लेबल घटेको उनले बताए । ‘अनि बिरामीका आफन्त आएर हामीलाई चेतावनी दिन थाल्नुभयो,’ उनले भने, ‘हामीलाई धम्क्याउन थालियो । तर पनि हामी उहाँहरुको धम्कीबाट प्रभावित नभई मेडिकल साइन्सकै विधिअनुसार उपचार पद्धतिमा खटिरहेका थियौं ।’

आफूहरुले प्रयास गर्दा गर्दै पनि बिरामीलाई बचाउन नसकेको उनले सुनाए । उनले भने, ‘बिरामीको मृत्यु भएपछि उहाँहरुले फोन गरेर मान्छे बोलाउन थाल्नुभयो । हामीमाथि हातपात सुरु भयो ।’ उनले कुनै पनि चिकित्सकले बिरामीको मृत्यु होस् भनेर नचाहने पनि प्रस्ट पारे । ‘आफूले उपचार गरेको बिरामीको मृत्यु होस् भनेर कोही चाहन्छ होला ?’ उनले भने, ‘प्रयास गर्दागर्दै कतिपय अवस्थामा बिरामीलाई बचाउन सकिन्न, त्यसलाई दुःखद् घटनाका रुपमा लिनुबाहेक हामीसँग पनि केही विकल्प रहँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप