शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नगरकोटको इतिहास बोकेको ‘क्लब हिमालय’: यस्तो छ टी गार्डेनदेखि रिसोर्टसम्मको यात्रा

शुक्रबार, १४ जेठ २०७८, १५ : ०१
शुक्रबार, १४ जेठ २०७८

भक्तपुर । नगरकोटको इतिहास बोकेको ‘क्लब हिमालय रिसोर्ट’ले २५ वर्ष पार गरेको छ । नगरकोट भन्ने बित्तिकै क्लब हिमालयको नाम आइहाल्छ । नगरकोट पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको शुरुआती दिन देखिकै साक्षीका रुपमा रहेको यो होटल ‘एस होटल समूह’ले संचालन गर्दै आएको छ। 

आन्तरिक एवं बाह्य पर्यटकहरूको रोजाइमा पर्ने नगरकोटलाई नगरकोटका रूपमा विस्तार गर्ने तथा डेस्टिनेशन विकासमा समेत मुख्य भूमिका क्लब हिमालयको रहेको छ । होटल व्यवसायी योगेन्द्र शाक्य भन्छन्, ‘भोलि यस्तो समय पनि आउला जब पर्यटकहरु नगरकोटमै बस्ने गरी आउने र साइट सिनका लागि काठमाडौं जानेछन्, यसको सम्भावना देखिएको छ।’

शाक्यको सम्झनामा सन् १९६० र ७० मा अधिकांश हिप्पीहरु सूर्योदय हेर्न कै  लागि अघिल्लो दिन नै टेन्ट लिएर अनकन्टार र नांगे डाँडा ‘बतासे डाँडा’  पुग्ने गर्दथे । रातभर गीत गाउँदै, नाच्दै समय कटाइ सकेपछि उनीहरु बिहान सूर्योदयको दृश्यावलोकन गर्थे ।

काठमाडौंको द रोयल होटल, सोल्टी, अन्नपूर्ण लगायतका होटलमा बस्ने पर्यटकहरू बिहान ३ बजे गाडीमार्फत डेढ घण्टाको कच्ची बाटो हुँदै ५ बज्नु अघि नै बतासे डाँडा पुर्याइन्थ्यो । त्यतिबेला ब्रेकफास्ट बक्स समेत काठमाडौंबाट लिएर जानुपर्ने बाध्यता थियो ।

नगरकोट प्रति पर्यटकको झुकाव देखेर एस होटलले सन् १९८० मा बतासे डाँडामा सुविधा सम्पन्न रिसोर्ट संचालनमा ल्याउने योजना बनाएको थियो । तर तत्कालिन शाही नेपाली सेनाको गुरिल्ला वेलफेयर ट्रेनिङका लागि बतासे डाँडा देखि महाँकाल डाँडा सुटिङ अभ्यास रेन्जका रूपमा प्रयोगका लागि लिने योजना बनाएको थियो । यसैले नगरकोटलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न मात्र नभएर बतासे डाँडामा रिसोर्ट स्थापना तथा संचालनमा ल्याउन सहज थिएन।

‘नगरकोटलाई पर्यटकीय गन्तव्यमा रुपान्तरणका गर्नका लागि तात्कालिन सरकारलाई विश्वस्त पारेर सहयोग लिनका लागि धेरै मेहनत गर्नुपरेको थियो,’ उनी सम्झन्छन्, ‘तत्कालिन श्री ५ को सरकार र  शाही नेपाली सेनाले विश्वासका आधारमा क्लब हिमालय संचालनका लागि म लगायत हङकङका लगानीकर्ता स्टानले केसी वङ, नेपाल माउन्टेनरिङ एसोसिएशनका तत्कालिन अध्यक्ष कुमार खड्ग विक्रम शाहलाई अनुमति दिएको थियो ।’ क्लब हिमालय निर्माणका लागि विदेशी साझेदारी र दरबारका ज्वाइँ समेतको साझेदारीमा रहेकाले होटल निर्माणका लागि सेनाले ढिलै भए पनि सहमति दिएको उनको भनाइ छ ।

होटल निर्माणका लागि शाक्यसहितको समूहले सन् १९८८ मै जग्गा खरिद गरेका थिए । ५२ रोपनी क्षेत्रफलको डाँडा खरिद गर्न त्यो बेला शाक्यले प्रतिरोपनी  ४२ हजार रुपैयाँ तिरेका थिए । शाक्य सम्झन्छन्, ‘त्यो बेला हामीले ४२ हजार प्रतिआना किन्दा त्यहाँका मान्छेहरू हामीलाई पैसा धेरै भएर यता आएछन् भन्थ्ये, किन भने त्यो बेला त्यस आसपासमा १ हजारदेखि १० हजारसम्ममा एक रोपनी जग्गा पाइन्थ्यो ।’

त्यो बेला त्यहाँ चारतारे होटल बनाउने भन्ने चानचुने चुनौती थिएन । किन भने बिजुली, टेलिफोन थिएन भने सडकको अवस्था पनि नाजुक थियो । नगरकोटका स्थानीयहरुको आयस्रोत भनेकै जंगलमा गएर दाउरा खोज्ने र भक्तपुरमा लगेर बेच्ने थियो । अहिले त्यहाँका मानिसहरूको आर्थिक अवस्था नै उथलपुथल  भएको छ । 

ती चुनौतीहरूलाई पार लगाउँदै उनले होटल निर्माण गरी छाडे र नगरकोटको परिचय नै बदल्न सम्भव भयो । जग्गाको मूल्य ह्वात्तै बढेको छ भने पूर्वाधार विकास पनि राम्रो भएको छ । अहिले नगरकोटमा सुविधासम्म होटल तथा रिसोर्टहरू सञ्चालनमा आएका छन् । त्यहाँ अर्बौं रुपैयाँ लगानी भित्रिएको छ । 

एस होटल समूहद्वारा सञ्चालन तथा व्यवस्थापनका साथ अघि बढेको क्लब हिमालयलाई नगरकोटमा लगानी भित्र्याउने र पूर्वाधार निर्माण गर्ने पहिलो गेटका रूपमा लिने गरिन्छ । ‘म अहिले पनि दाबी गर्छु कि क्लब हिमालय प्रवेश नगरेको भए नगरकोट अहिले सेनाको कब्जामै हुन्थ्यो, पर्यटकीय गन्तव्य बन्न पाउँदैन थियो’, सञ्चालक शाक्यले भने ।‘अहिले जहाँ क्लब हिमालय छ, त्यहाँ  सुरुमा शाक्यको समूहले १९९३ मा टी हाउस सञ्चालनमा ल्याएका थिए । जग्गा विवादले होटल सञ्चालन गर्न तत्कालै नमिल्ने र अन्यौलता छाएपछि टी हाउसलाई पहिलो इन्ट्रीको माध्यम बनाएको थियो । जसले गर्दा नगरकोटमा जाने पर्यटकहरूलाई खाजा र खानाका लागि सहज बनाएको थियो । जग्गा खरिद गरेको करिब ६ वर्षपछि मात्र होटलको उद्घाटन गरिएको थियो । उनका दुवै साझेदारहरू भने माओवादी द्वन्द्वपछि बाहिरिइसकेको छन् ।

२५ वर्ष पार गरेसँगै रिसोर्टले पर्यटक लक्षित सेवा सुविधालाई ध्यानमा राखेर आफ्नो क्षमता विस्तार गर्दै जाने योजना बनाएको यसका संचालक योगेन्द्र शाक्यले बताए। क्लब हिमालयको विस्तारसँगै समग्र नगरकोटलाई नै काठमाडौं आउने पर्यटकका लागि दोस्रो विकल्पका रूपमा रुपान्तरण गर्ने योजना रहेको उनले जानकारी दिए। यो रिसोर्ट सन् १९९६ मे १४ मा ‘बुद्ध जयन्तीको दिन’ पारेर संचालनमा आएको थियो। त्यतिखेर रिसोर्टको उद्घाटन तत्कालिन पर्यटनमन्त्री चक्र बास्तोलाले गरेका थिए। 

समुद्र सतहदेखि सात हजार दुई सय फिटको उचाइमा रहेको रिसोर्ट काठमाडौंदेखि ३२ किलोमिटर दुरीमा छ। रिसोर्टमा  स्ट्यान्डर्ड, डिलक्स र डिलक्स प्रिमियम लगायत तीन प्रकारका प्राइभेट बाल्कोनीसहितका ६८ कोठा छन्। रिसोर्टमा इन्डोर हिटेड पुल, ज्याकुजी, अन्तर्राष्ट्रिय शैलीको बार तथा डाइनिङ, मल्टिपल सेमिनार हल लगायतका सेवा सुविधा छ। हरेक कोठाबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन सहजै गर्न सकिने रिसोर्टले जनाएको छ। सुरुमा होटलमा ४० वटा कोठा मात्र थियो । पछि लगानी विस्तार गर्दै कोठाको संख्या थपेको उनको भनाइ छ । क्लब हिमालय नगरकोटकै हब रहन सफल भएको दाबी उनको छ।

बिहानी झुल्के घाम होस या हिमालय पर्वतको मनोरम दृश्य नियाल्न सकिने यस होटलमा कोरोना महामारीका बेला पनि उच्च सुरक्षा सतर्कता अपनाएर ग्राहकलाई सेवा दिइरहेको थियो । ‘क्लब हिमालयमा सुरक्षा मापदण्ड सधै उच्च प्राथमिकतामा रहेको छ, विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डले तोकेका दिशा निर्देशहरू सबै पालना हुने गरी सेवाहरु वृद्धि गरेका छौं ।’ हिमालयले भनेको छ, ‘पाहुनाका लागि दिनुपर्ने सुविधामा हामी कुनै कमी राख्दैनौं, पाहुनाहरूको सुविधाको लागि हामीले सेवाहरु बढाउँदै लग्जरी भिलाज र कोठाहरू थप परिष्कृत बनाउने योजना बनाएका छौं ।’ साथै यतिखेर नगरकोटको पर्यटकीय विकास तथा विस्तारका लागि एस होटल, सीई समूह र बैकिङ्ग तथा पर्यटन व्यवसायी पृथ्वी बहादुर पाँडेको सहकार्यमा ‘द हब नगरकोट’ नाममा मल्टि प्रोपर्टीको अवधारणामा एकीकृत पर्यटकीय आयोजना अगाडि बढाइएको उनले बताए छ।

यो मेगा प्रोजेक्टका लागि यतिखेर गृहकार्य भइरहेको बताउँदै शाक्यले भने, ‘यो हबमा पसल, सिनेमा हल, होटल तथा थुप्रै रेष्टुरेन्टहरु लगायतका  परियोजनाहरु रहनेछन्। पर्यटकहरु एयरपोर्टमा ल्यान्ड हुनेबित्तिकै नगरकोट जान सक्नेछन् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप