शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निषेधाज्ञाको मौका छोप्दै घर निर्माणमा मापदण्ड मिच्ने होड, अनुगमन गर्दै ललितपुर नगर प्रहरी

शुक्रबार, १४ जेठ २०७८, ११ : २९
शुक्रबार, १४ जेठ २०७८

ललितपुर महानगरपालिकाले निषेधाज्ञाको अवधिमा नक्सापास विनानै घर तथा टहरा निर्माण गर्ने प्रवृत्ति बढेको भन्दै अनुगमनमा कडाइ गर्न थालेको छ । महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार च्यासल, गावहाल, शंखमुल र कुमारीपाटी क्षेत्रमा हालै नक्सापास विनानै धमाधम निर्माण भइरहेका एक–एक घरटहरा निर्माणमा रोक लगाइएको छ भने निर्माण सामग्री जफत गरिएको छ ।

महानगर प्रमुख चिरिबाबु महर्जनले नियमकानुन विपरीत कुनै प्रकारका संरचना निर्माण हुन नदिन र त्यसरी नियम मिचेर बनाएको पाइए नियमानुसार कारवाही गर्न निर्देशन दिएकाले नगर प्रहरीले सबैजसो वडामा निर्माणाधीन संरचनाको अनुगमन गर्न थालेको हाछेथुको भनाइ छ ।

‘निषेधाज्ञाको मौका छोपेर धमाधम नक्सापास विना नै घरहरु बनाउन थालेको पाइएपछि हामीले अनुगमनलाई तीव्र बनाएका छौं,’ उनले भने, ‘अहिले पेलेरै घर बनाउने अनि पछि गएर तीन गुणा बढी राजस्व तिरेर नक्सापासको स्वीकृति लिने मनसायका साथ यस्तो काम भइरहेको देखिन्छ ।’

निषेधाज्ञाको अवधिमा थोरै जग्गा भएको स्थानमा बाटोतिर ‘टप’ निकाल्ने, मुद्दा चलेका जग्गामा समेत घर तथा टहरा निर्माण गर्ने प्रवृत्ति देखिएको उनको भनाइ छ । ‘नियम कानुनले नमिल्ने कुरालाई मिच्नका लागि अहिले निषेधाज्ञाको समयलाई प्रयोग गर्न थालेको देखिन्छ,’ उनले भने, ‘महानगरको नक्सा शाखा बन्द छ, अर्कोतिर उजुरी गर्न पनि सहज छैन । मानिसहरु घरघरमै सीमित रहेको बेलामा पेलेरै बनाउँ न भनेर घर बनाउनेहरु पनि छन् ।’

त्यसरी मापदण्ड बमोजिम घर तथा टहरा निर्माण गरेको पाइएमा निर्माण सामग्री जफत गर्ने र निर्माण कार्यमा रोक लगाउने गरी वडाहरूमा नष्ट प्रहरी परिचालन भएको उनले बताए ।

‘हाम्रो टोली अहिले नयाँ बनिरहेका घरमा पुगेर नक्सा पास छ कि छैन भनेर हेर्दैछ,’ उनले भने, ‘मापदण्डलाई मिचेर कुनै पनि संरचना बनाउन नदिने महानगरको नीति छ, मेयर साबले पनि हामीलाई त्यही हिसाबले निर्देशन दिनुभएको छ ।’

निषेधाज्ञाको समयमा छरछिमेकले पनि उजुरी गर्न नसक्ने, जाँचकीहरु पनि आउन नसक्ने अवस्थाको मौका छोप्दै मापदण्ड नपुग्ने ठाउँमा घर–टहरा बनाउन कतिपयले सक्रियता देखाएको हाछेथु बताउँछन् । ‘हामी अनुगमन गरिरहेका छौं, नगरवासीबाट पनि आफ्नो टोल छरछिमेकमा त्यसरी मापदण्ड मिचेर घर निर्माण भइरहेको शंका लागेमा जानकारी दिन हामी आग्रह गर्दछौं,’ उनले भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप