शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा एक साता थपियो निषेधाज्ञा

बिहीबार, १३ जेठ २०७८, १९ : ५३
बिहीबार, १३ जेठ २०७८

पोखरा । कोरोना भाइरसको संक्रमण तीव्र भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा थप गरेको छ । प्रशासनले कोरोना नियन्त्रण गर्ने भन्दै गत बैशाख १५ गतेदेखि लगाएको निषेधाज्ञा यही जेठ २१ गते राति १२ बजेसम्मका लागि थप गरेको हो ।

नयाँ भेरियन्ट सहितको संक्रमण तीव्र रुपले फैलिएकाले त्यसलाई रोक्नका लागि प्रशासनले यसअघि जारी गरेको निषेधाज्ञालाई पुनः एक साताका लागि थप गरेको हो । यसअघि पनि प्रशासनले निषेधाज्ञाको समय एक÷एक साता थप गर्दै आएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले थप एक साताका लागि निषेधाज्ञा थप गर्ने  निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार निषेधाज्ञामा यसअघि जारी भए जस्तै अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ९ बजेसम्म पसल खुला रहने छन् । तोकिएको समयमा अत्यावश्यक खाद्यान्नका पसल र डिपार्टमेन्टले स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुने छन् । त्यसैगरी खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता दैनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्नु पर्नेछ । 

त्यसका लागि सवारी साधन प्रयोग गर्न पाइने छैन । फलफूल तथा तरकारीको थोक बिक्रेताले खुद्रा बिक्री वितरण गर्न पाउने छैनन् । ताजा दुध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पुर्याउन रं बिक्री वितरण गर्न पाइने ब्यवस्था गरिएको छ ।

त्यसैगरी सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।  सार्वजनिक तथा निजी सवारी साधन जेठ २१ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ ।

विवाह, ब्रतबन्ध होटल र पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमा विवाह व्रतबन्ध लगायतका  कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने र एकमात्र सवारी साधनमा ५ जना मात्र सवार हुन पाउने प्रशासनको आदेशमा उल्लेख गरिएको छ । 

उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी,श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी सञ्चालन गर्न सकिने जनाइएको छ । त्यसैगरी सरकारी प्राथमिकता प्राप्त आयोजनाको निर्माण सामग्री बोक्ने गाडी बेलुका ७ देखि बिहान ४ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले १ चौथाइ कर्मचारी राखेर १ चौथाइ शाखामात्र निक्षेप १ लाखभन्दा बढी, चेक भुक्तानी, क्लियरिङ र विप्रेषण सेवामात्र बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने पाउने जनाइएको छ ।  बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई परिचयपत्र र कार्यालय पोशाक आधारमा बिहान १० देखि साढे ३ सम्म आवत–जावत गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप