बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसको उत्पत्तिको विषयमा अमेरिका–चीन पुनः आमनेसामने

बिहीबार, १३ जेठ २०७८, १७ : १८
बिहीबार, १३ जेठ २०७८

कोरोनाभाइरस कहाँबाट फैलियो, यो कुराको विषयमा अमेरिका र चीन एकपटक पुनः आमने–सामने भएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इन्टेलिजेन्स एजेन्सीलाई ९० दिनभित्र कोरोनाभाइरस कहाँबाट फैलियो भन्नेबारे पत्ता लगाउन आदेश दिएका छन् ।

यसअघि मंगलबार अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले विश्व स्वास्थ्य सम्मेलनमा चीनको नाम नलिइकनै विश्व स्वास्थ्य संगठनको अगाडि कोरोनाभाइरस कहाँबाट फैलियो, यसको अनुसन्धानको अर्को चरण पारदर्शी हुनुपर्ने बताएको थियो ।

कोभिड–१९ को सबैभन्दा पहिलो केस डिसेम्बर सन् २०१९ मा चीनको ऊहान शहरमा दर्ता गरिएको थियो । चिनियाँ प्रशासनले सुरुवाती मामिलाको सम्बन्ध ऊहानको एक सीफूड मार्केटसँग पाएको थियो । वैज्ञानिकले यो भाइरस जनावरमार्फत् मानिससम्म पुगेको मान्यता राखेका छन् ।

तर हालै अमेरिकी मिडियामा आएको खबरका अनुसार केही यस्ता प्रमाण छन् जसले यो भाइरस चीनको एक प्रयोगशालाबाट लिक भएको थियो भन्नेतर्फ इंगित गर्छ ।

‘वाल स्ट्रीट जर्नल’ ले अमेरिकी इन्टेलिजेन्स रिपोर्टलाई उद्धृत गर्दै यसअघि नै नोभेम्बरमा ऊहान प्रयोगशालाका तीन सदस्यलाई कोभिडजस्तो लक्षण देखिएपछि अस्पताल जानु परेको बताएको थियो ।

तर चीनले यो खबरलाई झुटो मात्रै बताएन, उसले कोरोनाभाइरस अमेरिकाको कुनै प्रयोगशालाबाट निस्किएको हुनसक्ने आरोप लगाए ।

यो भाइरसका कारण फैलिएको महामारीका कारण संसारभरी हालसम्म कम्तीमा ३५ लाख व्यक्तिको ज्यान गइसकेको छ र १६ करोड ८० लाखभन्दा बढी संक्रमित फेला परिसकेका छन् ।

बाइडेनले यसका लागि ९० दिनको अल्टिमेटम दिँदै भनेका छन्, ‘अमेरिकाको इन्टेलिजेन्स एजेन्सी दुई सम्भावनाको नजिक पुगेको छ तर कुनै ठोस् नतिजामा पुग्न सकेको छैन । हाल स्थिति यो हो कि इन्टेलिजेन्स कम्यूनिटीको दुई हिस्साको मान्यता छ कि यो जनावरबाट मानिसमा आयो जबकी एउटा हिस्साको मान्यता यो छ कि यो प्रयोगशालाबाट फैलियो । तर कोही पनि आफ्नो कुरामा पूर्ण विश्वास गरिरहेको छैन । धेरैजसोका अनुसार कुनै नतिजामा पुग्नका लागि पर्याप्त सूचना छैन ।’

अब राष्ट्रपतिले एजेन्सीलाई आफ्नो कोसिस तीब्र पार्न भनेका छन् र ९० दिनभित्र यस्तो जानकारी जुटाउन भनेका छन् ।

अन्तिममा उनले भने, ‘संसारभरीबाट एउटै सोच राख्ने सहयोगीसँग मिलेर चीनमाथि पूर्ण पारदर्शी र प्रमाणमा आधारित अन्तर्राष्ट्रिय अनुसन्धानमा संलग्न हुन र सबै प्रमाण उपलब्ध गराउनका लागि दबाब दिइरहन्छौं ।’

चीनको अमेरिकामाथि आरोपः

अमेरिकी मिडियामा प्रकाशित खबरमा बताइए अनुसार ऊहान प्रयोगशालाबाट भाइरस लिक भएको चर्चालाई चीनले पूर्ण रुपमा झुटो बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले यो भाइरस अमेरिकाबाट फैलिएको पनि हुनसक्छ र यसका लागि अमेरिकाले आफ्नो देशमा पनि अनुसन्धान गराउनुपर्ने बताएका छन् ।

लिजियानले भने, ‘महामारी फैलिएपछि चीनले यसको स्रोतको पत्ता लगाउनका लागि डब्ल्यूएचओलाई अत्यधिक मद्दत गरेको छ । यस वर्ष १४ जनवरीदेखि १० फेब्रुअरीसम्म डब्ल्यूएचओको अन्तर्राष्ट्रिय विशेषज्ञ भएको टीमले चिनियाँ विशेषज्ञसँग मिलेर लगभग एक महिनासम्म ऊहानमा गहन अनुसन्धान गरे ।’

‘दुबै पक्षका विशेषज्ञले मिलेर ती स्थानको भ्रमण गरे र अत्यधिक आँकडाको अध्ययन गरेपछि एक रिपोर्ट जारी गरे जसमा थुप्रै महत्वपूर्ण निष्कर्ष छन् । यो संयुक्त अध्ययनले भाइरसको स्रोतको पत्ता लगाउन प्रश्रय दिएको छ ।’

चिनियाँ सरकारका प्रवक्ताले भने, ‘अमेरिकामा केही मानिसहरु तथ्यको कुरा गरिरहेका छन् तर वास्तवमा उनीहरुले विषयलाई राजनीतिक रुपमा तोडमोड गरेर पेश गर्न चाहन्छन् । जब महामारीको विषय उठ्छ, उनीहरु चीनमाथि हमला गर्न थाल्छन् । उनीहरु भाइरसको स्रोतबारे पत्ता लगाउने आफ्नो कोसिसमाथि उठिरहेका प्रश्न र महामारीसँग जुध्नमा आफ्नो विफलतालाई पूर्ण रुपमा नजरअन्दाज गरिदिन्छन् ।’

‘उनीहरुमाथि प्रयोगशालाबाट लिक भएको थ्योरीको भूत सवार छ । उनीहरुले डब्ल्यूएचओका विशेषज्ञको टीमको तर्फबाट गरिएको शोध र विज्ञानको अपमान गरेका छन् । साथै महामारीलाई नष्ट गर्ने प्रयासको पनि उपेक्षा गरेका छन् ।’

लिजियानले भने, ‘म जोड दिएर भन्न चाहन्छु कि हालसम्म प्राप्त गरिएका प्रमाण, रिपोर्ट र शोधका अनुसार कोभिड–१९ महामारी सन् २०१९ को दोस्रो हिस्सा अघि नै संसारका थुप्रै हिस्सामा थियो ।’

उनले थपे, ‘चीन भाइरसको पत्ता लगाउने कामलाई गम्भीरता र जिम्मेवारीले लिन्छ र यो काममा उसले योगदान पनि दिएको छ । यदि अमेरिका पूर्ण रुपमा पारदर्शी अनुसन्धान चाहन्छ भने उसले चीनबाट सिक्दै डब्ल्यूएचओका विशेषज्ञलाई अमेरिका बोलाउनुपर्छ र फोर्ट डेट्रिकसमेत संसारभरीका आफ्नो प्रयोगशालाको अनुसन्धान गराउनुपर्छ ।’

‘साथै, जुलाई सन् २०१९ मा उत्तरी भर्जिनियामा साससँग सम्बन्धित नसुल्झिएको रोग फैलने र विस्कन्सिनमा इभाली संक्रमणको विषयमा पूरा जानकारी सार्वजनिक गर्नुपर्छ । हामी अमेरिका र अन्य सम्बन्धित देशलाई वैज्ञानिकलाई थप पारदर्शी तरिकाले खुलेर डब्ल्यूएचओलाई सहयोग गर्न अपिल गर्दछौं ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप