बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

माग पूरा नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने विपक्षीको रणनीति

बिहीबार, १३ जेठ २०७८, १३ : १८
बिहीबार, १३ जेठ २०७८

बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रदेशसभाको आगामी बैठकमा प्रतिपक्षको सशक्त र रचनात्मक भूमिका निर्वाह गर्ने जनाएको छ ।

रातोपाटीसँग कुराकानी गर्दै नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलले प्रदेशसभाको आगामी १६ गते बस्ने ८ औं अधिवेशन बैठकमा प्रतिपक्षको भूमिका सशक्त हने बताए ।

उनले प्रदेशसभामा माओवादी केन्द्रले उठाएको विषयमा माग पुरा नगरेसम्म बैठक चल्न नदिने बताए ।

‘प्रदेशसभाको आगामी बैठकमा हाम्रो भुमिका सशक्त र रचनात्मक हुन्छ । हामीले प्रदेशसभामा उठाएको मुद्दामा छलफल गरी माग पुरा नगरेसम्म बैठक अवरुद्ध पार्छौँ’ उनले भने ।

प्रदेश सरकार प्रतिपक्षले उठाएका विषयलाई वेवास्ता गर्दै गलत तरिकाबाट अगाडि बढेकाले प्रदेशसभामा आफूहरु सरकारको विरुद्धमा उभिने उनको भनाइ छ ।

माओवादी केन्द्रले उठाएको विद्युतीय बस खरिद तथा सञ्चालन प्रक्रिया खारेज हुनुपर्ने, कार्यविधि नै नबनाई मदन भण्डारी फाउण्डेसनलाई उपलब्ध गराइएको ५० लाख रुपैयाँको आर्थिक सहायता फिर्ता हुनुपर्ने, गुटगत रुपमा बजेट विनियोजन गर्न बन्द गर्नुपर्ने लगायतका माग राख्दै प्रदेशसभा बैठक अवरुद्ध पार्दै आएको छ ।

भौतिक पूर्वाधार बिना नै बस खरिद प्रक्रिया अगाडि बढाइएको प्रति आपत्ति जनाउँदै उनले सो कार्य तत्काल रोक्नु पर्ने बताए ।

‘हामीले विद्युतीय बस संचालन गर्न हुँदैन भनेका होइनौँ । बस खरिद गर्नुपूर्व त्यसका लागि चार्जिङ स्टेशन, रुट, उपयुक्त सडक पूर्वाधार तयार गर्न माग गरेका हौं । यी काम गर्न तर्फ सरकार ध्यान नदिने अनि प्रतिपक्षले काम गर्न दिएन भन्ने?’ उनले भने ।

प्रदेश सरकारले जनताको हितमा जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै आर्थिक सहायता सम्बन्धी कार्यविधि नै नबनाई एउटा गैरसरकारी संस्था सहयोग उपलब्ध गराएर आफै समस्यामा पर्ने काम गरेको उनले बताए ।

‘प्रदेश सरकार मदन भण्डारी फाउण्डेसनलाई ५० लाख रुपैयाँ सहायता उपलब्ध गराउने विधि के हो ? कानुन नै नबनाई पैसा बाँड्न पाइन्छ ? कि माग्न आउने जति सबैलाई त्यसै गरी दिने हो ?’ उनको प्रश्न गरे ।

प्रदेशसभा बैठकमा पछिल्लो अवस्था

लामो समयपछि गत चैत २४ गतेबाट संचालनमा आएको प्रदेशसभा बैठक पूर्ण रुपमा संचालनमा आउन सकेको छैन ।

चैत २४ गते दलका नेताहरुले शुभकामना मन्तव्य राखे लगत्तै स्थगित भएको प्रदेशसभाको बैठक चेत २५ र २६ गते बसेको थियो । 

सो बैठकमा माओवादी केन्द्रले आफ्ना मागका बारेमा मुख्यमन्त्री डोरमणि पौडेलको जवाफ माग गर्दै संसद् अवरुद्ध पारेको थियो ।

त्यसपछि वैशाख २ गतेका लागि बैठक आह्वान भयो । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले नव वर्षको शुभकामनासहित आफ्नो धारण राखे ।

सबै दलको धारण राख्ने समय सकियो र सरकारका तर्फबाट बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले शुभकामना मन्तव्य दिए ।

मुख्यमन्त्री पौडेलको तर्फबाट उनैले संसद्मा प्रतिपक्षले उठाएका विषयमा जवाफ दिए । करिव १ घण्टा लामो जवाफ पेश गरेका मन्त्री फुयाल रोष्टमबाट बेन्चमा नपुग्दै माओवादी केन्द्रका सांसदहरुले सरकारको जवाफ चित्त बुझ्दो नभएको भन्दै आफ्नो ठाउँबाट उठेर बैठक चल्न नदिने भन्दै अवरोध गरे ।

माओवादीको अवरोधपछि सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभए सम्मका लागि बैठक स्थगित भएको संसद्मा जानकारी गराए ।

त्यस यता हालसम्म पनि प्रदेशसभा बैठक संचालन हुन सकेको छैन ।

वैशाख ९ गते बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको ७ औं अधिवेशन बैठक अन्त्य भएको सूचना प्रकाशित गरे ।

प्रदेशसभा नचल्दा २ विधेयक र ३ वटा प्रतिवेदन अलपत्र

बागमती प्रदेशको प्रदेशसभा बैठक लगातार स्थगित र अवरुद्ध बन्दा २ वटा विधेयक र ३ वटा प्रतिवेदन प्रदेशसभा सचिवालयमा थन्किएका छन् ।

प्रदेशसभा बैठक संचालन हुन नसक्दा प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन विधेयक २०७७ माथि छलफल हुन सकेको छैन ।

प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिबाट समेत पास भइसकेको छ ।

प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेश लोक सेवा आयोगको प्रतिवेदन, महान्यायाधिवक्ताको प्रतिवेदन र महालेखा परीक्षकको प्रतिवेदन प्रदेशसभामा पेश हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप