बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

कीर्तिपुर र चन्द्रागिरीमा बर्डफ्लु फेला

बुधबार, १२ जेठ २०७८, २२ : १४
बुधबार, १२ जेठ २०७८

काठमाडौँको कीर्तिपुरमा बर्डफ्लु फेला परेको छ । कीर्तिपुर नगरपालिकाको वार्ड नम्बर ४ र ९ तथा चन्द्रागिरी नगरपालिकाको वार्ड नम्बर २ का कृषकले पालेका टर्कीका नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा वर्डफ्लु प्रमाणित भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

वर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिइ तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।
५३५ टर्की, ४९२ स्थानीय कुखुरा, ७६ बट्टाई, २० हाँस, १७८ अण्डा र ९०० केजी दाना नष्ट गरिएको जनाइएको छ ।

पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न गराउन, फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न गराउन, पन्छीपालक कृषकहरुले फार्म परिसरमा नियमित रुपमा निसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप