आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

नागार्जुनमा ३०० शैयाको आइसोलेशन केन्द्र

बुधबार, १२ जेठ २०७८, १४ : ४०
बुधबार, १२ जेठ २०७८

काठमाडौँको नागार्जुनमा ३०० शैयाको आइसोलेशन केन्द्र निर्माण गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको विशेष पहलमा नागार्जुन नगरपालिका र नेपाल चार्टर एकाउन्टेन्ट एशोसिएशनको सहकार्यमा ३०० श्ययाको आइसोलेशन सेन्टर निर्माण गरिएको हो । 

नागार्जुन नगरपालिका–१ रानीवन स्थित शहरी विकास मन्त्रालयले सुकुम्बासीको पुनर्वासका लागि बनाएका भवनमा निर्माण गरिएको उक्त आइसोलेशनमा चिकित्सकसहित सेवा उपलब्ध गराइएको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए । “वर्षौंदेखि प्रयोगविहीन भएका भवनलाई सदुपयोग गरेर कोरोना सङ्क्रमित व्यक्तिको उपचारका लागि नगरपालिकाले अन्य व्यक्ति र संस्थाको सहकार्यमा आइसोलेशन केन्द्र स्थापना गरेको हो”, नगरप्रमुख बस्नेतले भने ।

सो आइसोलेसनमा ललितपुरको सर्वाङ्ग अस्पतालका चिकित्सकले सेवा प्रदान गर्नेछन् । उक्त आइसोलेशनमा १०० वटा अक्सिजन सिलिन्डरसहित सेवा उपलब्ध गराइएको कांग्रेस केन्द्रीय सदस्य पौडेलले बताए । आइसोलेशन केन्द्रमा औषधि, खाना र स्वास्थ्य सुविधा निःशुल्क व्यवस्था गरिएको छ । नेता पौडेलले कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बस्न गाह्रो भएका बिरामीले उक्त आइसोलेशन सेन्टरबाट सेवा लिन सक्ने बताए ।

नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्षसमेत रहेका नेता पौडेलले देशभर यस्तै प्रयोगविहीन रहेका सरकारी भवनलाई तुरुन्तै आइसोलेशन र अस्पतालका रूपमा दिन सके सङ्क्रमितले उपचार नै नपाएर मर्नुपर्ने अवस्था नआउने बताए । “देशभर यस्ता भवन धेरै ठाउँमा छन्, त्यस्ता भवनको उपभोग गर्ने हो भने धेरै सङ्क्रमितको ज्यान बचाउन सकिन्छ, त्यसका लागि स्रोतसाधन भएको सरकारले इच्छाशक्ति देखाउनुपर्छ”, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप