शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रेरक प्रसंग : शुनःसेपको पितृभक्ति

बुधबार, १२ जेठ २०७८, १३ : ३९
बुधबार, १२ जेठ २०७८

श्रीमद् देवी भागवतमा एउटा कथा आएको छ, जसलाई कमवेशीरूपमा श्रीमद्भागवतमा पनि उल्लेख गरेका छन् व्यासजीले । प्राचीनकालमा हरिश्चन्द्र नामका सूर्यवंशी राजा थिए । सत्यधर्मका निम्ति स्वर्गलोकसम्म ख्याति फैलिएको थियो उनको । अहिले पनि सत्य र निष्टाको उदाहरण दिनुपर्दा उनकै नाम लिने गरिएको छ ।

राजा हरिश्चन्द्र हरेक कुराले सम्पन्न थिए । भूमण्डलमा एकछत्र साम्राज्य कायम थियो तर सन्तान सुख भने पाउन सकेका थिएनन् । त्यसैले एक दिन वरुणदेवता समक्ष गएर दुःखेसो पोखे । उनको गुनासो सुनेर वरुणले भने–

‘तिमीलाई सन्तान प्राप्ति हुने वरदान त दिन्छु तर नवजात शिशुलाई मेरा निम्ति बलि दिनुपर्छ ।’

सर्त सुनेर हरिश्चन्द्र झस्के तर सन्तानका निम्ति अर्को उपाय पनि थिएन । उनलाई सन्तान नहुनुको पीडाभन्दा मुखसम्म हेर्न पाउनु नै उत्तम लाग्यो र वरुणको सर्त स्वीकार गरी दरबारतिर फर्के ।

नभन्दै वरुणदेवको कृपाले एक वर्षपछि एक स्वस्थ र सुन्दर पुत्र पैदा भयो । जन्मनासाथ पूर्व सर्तअनुसार वरुण देवता माग्न आए । उनले न्वारन गरेपछि दिन्छु भनेर त्यस पटकको खड्गो टारे । बच्चाको न्वारन गरे, नाम रोहित जु¥यो । न्वारनपछि वरुण पुनः माग्न आए । त्यस पटक पनि पास्नी गरेपछि दिन्छु भनेर फिर्ता गरे । त्यसपछि पनि दाँत आएपछि दिन्छु, चूडाकर्म गरेपछि दिन्छु, व्रतबन्ध गरेपछि दिन्छु भन्दै तीन पटकसम्म वरुणलाई पर्काउन सफल भए ।

तर भइदियो के भने व्रतबन्धपछि रोहितले आफैँले वरुण देवताका नाममा बलि दिइँदै छ भन्ने थाहा पाएछन् र भागेर बेपत्ता भए । आफूलाई बलि दिन ठीक पारिएको बालक भागेको चाल पाएपछि वरुण देवता रिसाएर राजालाई जलोदर (पेटमा पानी जम्ने) रोग लाग्ने श्राप दिए । तत्कालै उनलाई वरुणको श्राप लाग्यो र पेट फुलेर छटपटिन लागे ।

यजमानको दुःख देख्न नसकेर गुरुपुरोहितले वरुणदेवसित त्यसको उपचार सोधे । वरुणले राजालाई स्वस्थ पार्ने भए बलि त दिनै पर्छ । बरु सट्टामा कसैको बच्चा किनेर काम चलाउन सक्नुहुन्छ भने । त्यसपछि भारदारहरू त्यस्तो बच्चाको खोजीमा लागे । यो कुरा पर गाउँका अजिगर्त नामक एउटा गरिब ब्राह्मणले थाहा पाएछन् र आफू एउटा छोरा बेच्न तयार भएको खबर पठाए ।

निश्चित शुल्क दिएर बच्चा किनियो । जसको नाम शुनःसेप थियो । राजाको दरबारमा नरबलि यज्ञ आयोजना गरियो । शुनःसेपलाई यज्ञवेदी (मौलो) मा बाँधियो । वरुणदेवतालाई निम्तो गरियो । उनी आएर उच्च आसनमा बसे । बलिदानको बेला भयो तर कोही पनि काट्न तयार भएनन् । अन्त्यमा उनकै बाबु आएर भने–

‘अघिकोभन्दा डबल मूल्य दिने भए आफैँ काटिदिने छु ।’

मृत्यु निश्चित देखेपछि बालक शुनःसेपले रुँदै भने–

‘सानै छु बाबुआमाको सेवा गर्र्नै पाएको छैन । उहाँहरूका निम्ति मैले धेरै गर्न बाँकी छ । त्यसैले बिन्ती छ मलाई नमार्नुहोस् । उहाँहरूको सेवा गर्ने छोरा भने पनि छोरी भने पनि म एउटै हुँ । मैले नै छाडेर गएपछि उहाँहरूको सेवा कसले गर्ला, बुढेसकालमा कसले हेरचाहा गर्ला ? सन्तान भएर बुढेसकालमा बाबुआमाका सहारा बन्दैनन् भने, बन्न सक्दैनन् भने त्यस्ता सन्तानको के काम ? उनीहरूले जन्मेका के सार ?’ 

उनको पितृभक्ति देखेर सारा देवीदेवता तथा ऋषिमुनि र सभासद् खुसी भए । सबैले उनको प्रशंसा पनि गरे तर बचाउन भने कोही पनि अघि सर्न सकेनन् । त्यति नै बेला महर्षि विश्वामित्रले आसनबाट उठ्दै भने–

‘देवीदेवताले सशरीर बलि खाँदैनन् । यदि सशरीर बलि खान्छन् वा खान्छु भन्छन् भने ती देवीदेवता नै होइनन्, हुनै सक्दैनन् । त्यसैले देवीदेवताका नाममा बलिदान गर्नु भनेको मार्नु, काट्नु होइन संस्कार गरेर छाड्नु हो ।’

महर्षि विश्वामित्रका कुरा कसैले पनि काट्न सकेनन् । एकछिन यज्ञमण्डवमा सन्नाटा छायो । स्वयं बलि खान आएका वरुण देवतासमेत एक शब्द नबोली घोसेमुन्टो लगाएर बसे । त्यसपछि विश्वामित्रले आफैँ गएर शुनःसेपलाई पूजा (बलिको संस्कार) गरी मौलोबाट फुकाइदिए । यज्ञ समाप्त भयो । विश्वामित्रको एउटै वाक्यले शुनःसेप र राजा हरिश्चन्द्र दुवैलाई मुक्ति दियो । शुनःसेपले बलिवेदीबाट मुक्ति पाए, हरिश्चन्द्रले रोगबाट । 

मौलोबाट छुटेपछि बालक शुनःसेपले भने–

‘मेरा बाबुआमा को हुन् र बस्ने र खाने स्थान कता हो त्यो पनि बताइदिन सभासमक्ष आग्रह गर्छु ।’

यसबारे व्यापक छलफल भयो । अन्त्यमा ऋषिमण्डलीले जन्मदिनेभन्दा जीवन बचाउने ठूलो हुन्छ भन्दै विश्वामित्र नै असली बाबु हुन् भन्ने निर्णय गरेकाले विश्वामित्र उनलाई लिएर आफ्नै आश्रम कोसी किनारतिर लागे । 

विश्वामित्रको आश्रममा गएपछि शुनःसेप कठोर साधनामा लागे । सानैदेखि ज्ञानी, गुणी, विवेकी र परोपकारी थिए । सङ्गत पनि त्यस्तै पाएकाले चाँडै नै विद्या र बुद्धिमा पारङ्गत भए । अध्ययनको अध्याय समाप्त भएपछि उनी वेदमन्त्र रचनातर्फ लागे । उनले रचना गरेका वैदिक सूक्त र मन्त्र चारै वेदमा छरिएर रहेका छन् ।

ऋग्वेद मण्डल एकको २४ देखि ३० तकका सूक्तहरू र नवौँ मण्डलका तेस्रो सूक्त उनैले गाएका सूक्तहरू हुन्, जहाँ सयौँ मन्त्र गुम्फन भएका छन् । यसबाहेक यजुर्वेद, सामवेद र अथर्ववेदमा पनि उनले गाएका थुप्रै सूक्त र मन्त्रहरू छन् । यीमध्ये कतिपय मन्त्र यस्ता छन्, जुन ज्ञानका दृष्टिले मात्र नभई आधुनिक विज्ञान र प्रविधिका दृष्टिले समेत निकै महत्त्वपूर्ण ठहरिएका छन् ।

बाबुआमाले पैसाको लोभमा बेचिदिएका भए पनि शुनःसेपले आफ्नो पितृभक्ति र मातृभक्तिमा कत्ति कमी आउन दिएनन् । यज्ञको मौलोमा बाँधिएर काटिनै लाग्दा पनि उनलाई आफ्नोभन्दा बाबुआमाको चिन्ता थियो । आफ्नो अनुपस्थितिमा तिनको सेवा कसले गर्ला भन्दै रोएका थिए, कराएका थिए । यही पितृ तथा मातृभक्तिका कारण उनले जीवनदान मात्र पाएनन् वैदिक मन्त्रद्रष्टा ऋषिको पङ्क्तिमा उभिनसमेत समर्थ भए । उनी हाल छैनन् तर उनको नाम भने इतिहासका पानामा कहिल्यै नमेटिने गरी सुरक्षित रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप