बौद्ध सभ्यताको घाँटी– सिन्धु
सिन्धुघाँटी सभ्यताको व्यवस्थित खोजी तथा अनुसन्धानको काम हुँदा भारतीय पुरातत्त्व विभागका महानिर्देशक थिए– जोन मार्सल । मोहनजोदडोको एल एरियामा अवस्थित सभा भवनको बनावटलाई लिएर उनले बौद्ध चैत्यजस्तो बताएका थिए । जुन चैत्य जहाँ बौद्ध भिक्षुहरू लामो पङ्क्ति बनाएर ध्यान गर्दछन् ।
सिन्धुघाँटी सभ्यताका हडप्पा तथा मोहनजोदडो नगरलाई हेर्दा त्यहाँ बसोवासको क्षेत्र तथा धार्मिक क्षेत्र छुट्टाछुट्टै अवस्थित रहेको पाउँछौँ । कपिलवस्तुको बनावटलाई हेर्ने हो भने पनि हामी यस्तै पाउन सक्छौँ । बुद्धको घर गनवरिया क्षेत्रमा थियो भने पिपरहवामा धार्मिक क्षेत्र । जसलाई पुरातत्वविद्हरूले स्तूपक्षेत्र बताएका थिए ।
सिन्धुघाँटी सभ्यताबाट प्राप्त पीपलको पातको चिन्ह र गौतम बुद्धले पीपलको बोटमुनि बुद्धत्त्व प्राप्त गर्नु संयोग मात्र हुन सक्दैन । धम्मचक्रको स्वरूप, स्वस्तिक चिन्ह, मूर्तिको पहिरन तथा प्राप्त लिपिसमेत बौद्ध सभ्यतासँग मिल्दो देख्न सकिन्छ । यसकारण सिन्धुघाँटी सभ्यता बौद्ध सभ्यता थियो भन्न सकिन्छ । अब प्रश्न खडा हुन सक्छ कि गौतम बुद्धको काल २६०० वर्षयता मात्र मानिन्छ । तर सिन्धु सभ्यता ५००० वर्षअघिको मानिन्छ । गौतम बुद्धभन्दा अघिको काल कसरी बौद्ध सभ्यता भयो ? यो लेख यसैमा केन्द्रित रहेको छ ।
२८ बुद्ध को थिए ?
गौतम बुद्ध बुद्धधम्मका संस्थापक थिएनन्, एक प्रवर्तक मात्र थिए भन्ने आधार नै २८ बुद्ध परम्परा हो । श्रमण परम्पराअन्तर्गत बौद्ध तथा जैन मतलाई प्रमुख मानिन्छ । जसरी जैन मतमा २४ तीर्थकारों को मान्यता छ । त्यसरी नै बौद्ध मतमा २८ बुद्धको मान्यता छ । आठौँ शताब्दीको अन्त्यतिरबाट बाह्रौँ शताब्दीसम्म लगभग बौद्ध सभ्यता क्षतविक्षत पारिएको अवस्था भेटिन्छ भारतवर्षमा । बाह्रौँ शताब्दीमा नालन्दा विश्वविद्यालय जलाइसके पछि त बौद्ध ग्रन्थहरू पनि नामेट गराइए । त्यसपछि अतिक्रमणको सिलसिला झण्डै १९औँ शताब्दीसम्म रफ्तारमा भएको देखिन्छ । अङ्ग्रेजहरूको उपनिवेशपछि मात्र फेरि खोज तथा अनुसन्धान शृङ्खला अघि बढेको देखिन्छ । यसबीचमा जति पनि इतिहासकार देखा परेका थिए– ती प्रायः सबैले बौद्ध सभ्यताको नजरअन्दाज गरेको देखिन्छ । यसको सिकार २८ बुद्ध परम्परामाथि पनि परेको देखिन्छ । यो वास्तविकभन्दा बढी मान्यताका रूपमा बढाइयो र पढाइयो । तर पछिल्ला खोज तथा अनुसन्धानले २८ बुद्धको पुष्ट्याइँ हुदै गइरहेको छ । ती नामावली यसप्रकार छन् ः
तणहंकर, मेधंकर, शरणंकर, दिपंकर, कोदन्ना, मम्गल, सुमन, रेवत, सोभित, अनोमादस्सी, पदुमा, नारद, पदुमुत्तारा, सुमेधा, सुजाता, पियदशी, अत्थादशी, धम्मदशी, सिद्धात्थ, तिस्सा, फुस्सा, विपश्वी, सिखी, बेस्सभु, ककुसन्ध, कोणागमन, कस्यप, गौतम ।
तथ्यप्रमाण
विश्वप्रसिद्ध भाषा वैज्ञानिक प्राडा राजेन्द्रप्रसाद सिंहको दुई पुस्तक ‘खोए हुई बुद्धकी खोज’ र ‘प्राचीन भारतके बौद्ध इतिहास’ प्रकाशित छन् । उहाँको अनुसार यदि एक बुद्धको काल औसत ५० वर्ष मात्र मान्ने हो भने पनि २८ बुद्धको १४०० वर्षकाल हुन्छ । यदि गौतम बुद्धको २६०० वर्षअघिको कालबाट १४०० वर्ष जोड्ने हो भने हामी सिन्धुघाँटीको सभ्यताको कालसम्म सजिलै पुग्न सक्छौँ । यो तथ्य सामान्य लागे पनि निकै वैज्ञानिक देखिन्छ ।
विपश्वी बुद्ध (जसको नामबाट बौद्ध सभ्यतामा विपश्वनाको प्रचलन चलेको थियो । विपश्वी बुद्धको पहिलो लिखित प्रमाण भरहुतको स्तूपमा भेटिएको थियो । जहाँ ‘भगवतो विपश्वनो बोधि’ लेखिएको छ । विपश्वी बुद्धको दोस्रो प्रमाण साँची स्तूपमा भेटिन्छ । साँची स्तूपमा सप्तबुद्धको प्रतीकात्मक चिन्ह अङ्कित छ । सबैभन्दा दायाँ गौतम बुद्ध र सबैभन्दा बायाँ विपश्वी बुद्ध । चिनियाँ यात्री फाहियानको यात्रावृत्तान्तमा पनि अन्य बुद्धहरूको चर्चा पाइन्छ । उनी भारत आउँदा विपश्वी बुद्ध बितेको १३०० वर्ष भइसकेको थियो । त्यसैले विपश्वी बुद्धको स्मारक उनले देख्न पाएनन् । तर गौतम बुद्धअघिका तीन बुद्ध (ककुसन्ध, कोणागमन र कस्यप)का स्मारक भने देखेका थिए । फाहियानको यात्रवृत्तान्तमा कस्यप बुद्धको स्मृतिस्थल श्रावस्तीको पश्चिमतिर र ककुसन्ध बुद्धको स्मृतिस्थल श्रावस्तीको दक्षिण ( पश्चिमतिर देखेको उल्लेख गरेका छन् । सप्त बुद्धको अर्काे प्रमाण एलोराको गुफा सङ्ख्या (१२ मा पाइन्छ । सम्राट अशोकको निग्लिहवा अभिलेखमा आफ्नो राज्याभिषेकको १४औँ वर्षको अवसरमा निगाली गाउँ गएर कोणागमन (कनकमुनि) बुद्धको स्तूपको मर्मतसम्भार गरेको उल्लेख छ । कोणागमन बुद्ध गौतम बुद्धभन्दा अलग र पहिलेका थिए । यसबाट के बुझिन्छ भने सम्राट अशोकभन्दा अघि पनि स्तूप परम्परा थियो । भरहूत स्तूपमा ककुसन्ध र कस्यप बुद्धको नाम पनि अङ्कित छ । जहाँ ‘भगवतो ककुसन्ध बोधि’ र ‘भगवतो कस्यप बोध’ लेखिएको छ । नेपालको गोटिहवामा ककुसन्ध बुद्धको स्मारक रहनु अर्काे प्रमाण हो । इतिहासकारहरू सम्राट अशोक ककुसन्ध बुद्धको स्मारकस्थलमा आएको र उनको स्मृतिमा स्तम्भ खडा गरेको बताउँछन् ।
बौद्ध मत
बोधिसत्व प्राप्त व्यक्तिलाई बौद्ध मतअनुसार बुद्ध मान्ने गरिन्छ । गौतम बुद्धअघिका बोधिवृक्षको विवरणमा दिपंकरदेखि सुरु भएर कस्यप बुद्धमा आएर टुङ्गिन्छ । दिपंकर बुद्धभन्दा अघिका तणहंकर , मेधंकर र शरणंकरलाई बोधिसत्व प्राप्त भएको थिएन भन्ने गरिन्छ । त्यसकारण बोधिवृक्षमा गणना गरिँदैन । भविष्यमा जन्मने बुद्धको समेत बौद्ध मतमा नामकरण गरिएको छ– मैत्रेयका रूपमा ।
उपसंहार
संस्थापक र प्रवर्तकमा फरक छ भन्ने कुरा इतिहासकारहरूले नबुझ्नु प्राडा. राजेन्द्रप्रसाद सिंह आश्चर्यको विषय मान्नुहुन्छ । गौतम बुद्ध बुद्ध धम्मका एकजना प्रवर्तक मात्र थिए न कि संस्थापक । गौतम बुद्धभन्दा अघि पनि बुद्ध थिए । सिन्धुघाँटी सभ्यता पूर्णरूपमा बौद्ध सभ्यता थियो र त्यसपछिका सभ्यता पनि बौद्ध सभ्यता नै थिए । जुन सभ्यताभित्र तक्षशीलादेखि नालन्दा जस्ता विश्वविद्यालय खडा भएका थिए । जहाँबाट विश्वभरका नागरिकहरू शिक्षा आर्जन गरेर फर्किन्थे । गौतम बुद्धको बुवा तथा ससुरा पनि बौद्ध अर्थात् श्रमण परम्पराकै थिए । गौतम बुद्धको ससुराको नाम सुप्पबुद्ध थियो । सुप्पबुद्ध बौद्ध नाम हा े। इतिहासकार सिंहवद्र्धन सिंहका अनुसार ककुसन्ध बुद्धको समय इपू ३१०१ अर्थात् सिन्धुघाँटी सभ्यताको वरिपरि रहेको थियो । इतिहासकार एसके विश्वासले सिन्धु घाँटीबाट प्राप्त एक मूर्तिको वस्त्रविन्यास गौतम बुद्धको जस्तै भएको उल्लेख गर्दै सिन्धुघाँटीबाट प्राप्त मूर्ति पशुपतिको नभई ककुसन्ध बुद्धको भएको बताएका छन् । यी तमाम तथ्य र प्रमाणले भन्छ बौद्ध सभ्यता हाम्रो सनातन सभ्यता हो । सिन्धुघाँटी सभ्यता बौद्ध सभ्यता हो । सत्यलाई स्वीकारौँ र बौद्ध सम्भ्यताप्रति गर्व गरौँ । नमो बुद्धाय ।
लेखक नेपाली जनता दलका वरिष्ठ उपाध्यक्ष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई