चीनको छन्तुमा ‘नेपाल राष्ट्रिय मण्डप’
नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, लगानीलगायतबारे जानकारी दिने उद्देश्यले निर्मित “नेपाल राष्ट्रिय मण्डप” चीनको सिछुवान प्रान्तको छन्तुमा सञ्चालनमा आएको छ । छन्तुमा नेपाली महावाणिज्यदूतावास स्थापना भएलगत्तै चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र छन्तु अन्तर्राष्ट्रिय चिनियाँ मैत्री सङ्घका उपाध्यक्ष लि लीले मण्डपको उद्घाटन गरेका हुन् ।
एशियाको सबैभन्दा ठूलो रेलमार्ग बन्दरगाह परिसरमा परम्परागत नेपाली शैलीमा सजाइएको मण्डपमा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको हाम्रो पछिल्लो नयाँ नक्सासहित नेपालबारे चिनियाँ भाषामा परिचय दिइएको छ ।
नेपालको पर्यटन, कला, संस्कृति, जनजीवन तथा चीनसँगको राजनीतिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा भएका आदानप्रदानसम्बन्धी फोटोले मण्डपका भित्ता सजाइएको जानकारी दिइएको छ ।
तेलचित्र, थाङ्का, काठ र धातुका मूर्ति, पश्मिना, नेपाली कागजका डायरी, गरगहनालगायतका हस्तकलाका सामग्री मण्डपको प्रदर्शनीस्थलमा रहेको छन्तुका लागि नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरे बताए ।
काठ र ईँटाको मौलिक सजावट रहेको मण्डपमा चिया, खुकुरी रम, रुद्राक्ष, बोधिचित्तका मालालगायतका नेपाली उत्पादनको नमूनासमेत प्रस्तुत गरिएको छ । विशेषगरी नेपाली चियालाई चीनमै पनि बजारीकरण र खपतका लागि यस्ता प्रचारप्रसारबाट ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।
बैठक, सभा र सम्मेलनका लागि पनि मण्डपमा स्थान छुट्याइएको नेपाल कल्चर एण्ड टुरिजम इन्भेस्टमेन्ट कम्पनीले जनाएको छ ।
सिछुवान प्रान्तको एक मात्र छन्तु अन्तर्राष्ट्रिय बन्दरगाह क्षेत्रमा एशिया–युरोप राष्ट्रिय पेभिलियन परियोजनाअन्तर्गत् नेपाली मण्डपको निर्माण गरिएको हो । बेइजिङस्थित नेपाली राजदूतावास र छन्तुस्थित महावाणिज्य दूतावाससँगको समन्वयमा नेपाली कम्पनीले नै मण्डप निर्माण गरेको हो ।
कम्पनीका अध्यक्ष ध्रुव पौडेलका अनुसार बेल्ट एण्ड रोड परियोजनाले समेटिएका एशिया तथा युरोपेली मुलुकसँग चीनलाई स्थल एवं समुद्रबाट जोड्ने रेलमार्ग बन्दरगाह क्षेत्रमा ३२ देशका पेभिलियन रहेका छन् । नेपाललाई चीन हुँदै एशिया तथा युरोपेली मुलुकसम्म प्रवद्र्धन गर्न नेपाल मण्डपले सम्बन्ध सेतुको काम गर्नेछ । हालसम्म नेपालसहित १८ मुलुकका पेभिलियन सञ्चालनमा आइसकेका छन् ।
नेपाली मण्डपको उद्घाटन समारोहमा छन्तुका लागि नेपाली महावाणिज्यदूत घिमिरे, सिछुवान प्रान्तको वैदेशिक मामिला कार्यालयका उपप्रमुख चाङ थाओलगायतका चिनियाँ अधिकारी र नेपाली समुदायको सहभागीता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तब्बुको हातबाट फुत्कियो पवन कल्याणको ओजी
-
बुढानीलकण्ठबाट सिक्री लुटेर भागेका युवक पक्राउ
-
राष्ट्रपतिको मृत्युपछि इरानमा अब के होला ?
-
कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक
-
चीनमा चक्कु प्रहारको घटना बढ्दो, प्राथमिक विद्यालयका पाँच जना घाइते
-
गतिरोध लम्बिनुमा सरकार जबाफदेही छ : अध्यक्ष केसी