बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

उपेन्द्रले राजेन्द्रलाई सोधेको ६ बुँदे स्पष्टीकरण पत्रमा के छ ?

बुधबार, १२ जेठ २०७८, १० : ४६
बुधबार, १२ जेठ २०७८

जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई ६ बुँदे स्पष्टीकरण सोधेका छन् । पार्टीका कार्यालय सचिव प्रकाश अधिकारीको हस्ताक्षरबाट सोधिएको पत्रमा भनिएको छ, ‘केही दिनदेखि तपाईंको काम कारवाही र क्रियाकलापहरू जसपाको नीति एवं विधि विधान विपरित भइरहेको हुँदा कार्यकारिणी समितिको जेठ ८ गते सम्पन्न बैठकले तपाईंलाई स्पष्टीकरण सोध्ने निर्णय भएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ४९ मा भएको अनुशासनको कारबाहीसम्बन्धी व्यवस्थाअनुसार यो स्पष्टीकरण सोध्ने कार्य भएको छ । तीनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन हुन अनुरोध छ ।’

राजेन्द्र महतोलाई सोधिएको ६ बुँदा स्पष्टीकरण यस्तो छ

१. प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत किन साथ दिएको ?

२. पार्टीको केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा हुँदा हुँदै छुट्टै कार्यालय सञ्चालन गर्ने कार्य किन गरेको ?

३. पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नबनिसकेको अवस्थामा तपाईं किन र के आधारमा संसदीय दलको नेता स्वयम् घोषित हुन पुग्नुभयो ?

४. पार्टीको आधिकारिक निर्णयबिना सरकारसँग वार्ता गर्ने भनि लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई कार्यदल भएको कुरालाई किन र के आधारमा समर्थन गरी पार्टी नीति निर्णय विपरितको कामलाई प्रश्रय किन दिनुभयो ?

५. पार्टी विधानको व्यवस्था विपरित पार्टीभित्र स्वेच्छाचारिता लाद्ने र पार्टीलाई पकेट बनाउने काममा निरन्तर सहयोग तथा सघाउने कार्य किन गर्नुभएको ?

६. उपरोक्त विषयहरूका आधारमा तपाईंबाट पार्टीमा गुटबन्दी गर्ने र अनुशासन भंग गर्ने गराउने कार्य भइरहेको तपाईंमाथि पार्टी विधानको धारा ४९ बमोजिम अनुशासन सम्बन्धी कारवाही किन नगर्ने ? यस सन्दर्भमा यो पत्र प्राप्त भएको ३ दिनभित्र स्पष्ट र चित्त बुझ्दो जवाफ प्राप्त नभएका तपाईलाई पार्टी विधानबमोजिम अनुशासनको कारवाही हुनेछ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप