कोरोना सङ्क्रमितको उपचारमा ‘प्लाज्मा थेरापी’ : के यसले काम नगरेकै हो ?
कोरोना भाइरस (कोभिड–१९)बाट सङ्क्रमित बिरामीका लागि कोन्भालासेन्ट प्लाज्मा थेरापी एउटा उपचार विधिका रूपमा आए पनि यतिबेला यसको उपयोगिताबारे अन्योल देखिएको छ । प्लाज्मा थेरापी उपचार विधिमा कोरोनाबाट सङ्क्रमित भई निको भइसकेका व्यक्तिको रगतबाट एन्टिबडी (रोगसँग लड्ने तत्त्व) सहितको प्लाज्मा निकालेर अर्को सङ्क्रमित व्यक्तिलाई दिइन्छ । यो विधिको प्रयोगले बिरामी निको भएका खबरहरू आइरहे पनि यसले नै काम गरेको हो वा होइन यकिन भन्न नसकिने चिकित्सकहरूले बताएका छन् ।
गत वर्ष कोरोना भाइरसको पहिलो महामारीको समयमा अमेरिका लगायतका देशहरूले प्लाज्मा थेरापीबाट सङ्क्रमितको उपचार गर्न स्वीकृति दिएको थियो । गत वर्षको अगस्टमा अमेरिकाको खाद्य तथा औषधि प्रशासनसम्बन्धी नियामक निकाय एफडीएले कोरोना भाइरसबाट निको भएकाहरूको रगतको प्लाज्मा अन्य कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोग गर्न आकस्मिक अनुमति दिएसँगै यो पद्धति अपनाइएको थियो ।
निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टीबडीलाई अरू बिरामीमा प्रयोग गरिने यो विधि अमेरिकामा लाखौँ मानिसमा प्रयोग गरिएको थियो । त्यसो त तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एफडीएलाई विश्वास गर्दै यो विधिको प्रयोगमार्फत कोरोना भाइरसबाट हुने मृत्यु ३५ प्रतिशत कम हुने दाबीसमेत गरेका थिए ।
तर गत सोमबार मात्रै भारतको केन्द्र सरकारले प्लाज्मा थेरापी बन्द गर्न निर्देशन दियो । दोस्रो लहरको कोरोना भाइरसको महामारीले आक्रान्त भारतले विगतदेखि नै प्लाज्मा थेरापीमार्फत सङ्क्रमितको उपचार गर्दै आए पनि अहिले गम्भीर अवस्थाका बिरामीका लागि यो विधि सफल नभएको भन्दै हटाउन सरकारले आग्रह गरेको बताइएको छ ।
कोरोनाको दोस्रो लहरको महामारी फैलिएसँगै सङ्क्रमित भएकी पूर्वरानी कोमल शाहको नर्भिक अस्पतालमा प्लाज्मा थेरापी विधिबाटै उपचार गरिएको अस्पतालले जनाएको छ । आईसीयूमा राखेर उपचाररत पूर्वरानी शाह निको भएर डिस्चार्ज भइसकेकी छन् । नर्भिकले अन्य बिरामीमा पनि प्लाज्मा थेरापी विधिबाट उपचार गरिरहेको छ ।
यता नेपालमा भने प्लाज्मा थेरापीबाट सङ्क्रमितको उपचार गरेर निको भएका थुप्रै उदाहरण छन् । नेपालमा गत वर्षदेखि नै गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितलाई प्लाज्मा थेरापीबाट उपचार गरिँदै आइएको छ ।
गत साउनमा नेपालमा पहिलो पटक टिचिङ अस्पतालमा कोरोना सङ्क्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो । त्यसयता थुप्रै बिरामीमा यो विधि अवलम्बन गरिएको थियो ।
कोरोनाको दोस्रो लहरको महामारी फैलिएसँगै सङ्क्रमित भएकी पूर्वरानी कोमल शाहको नर्भिक अस्पतालमा प्लाज्मा थेरापी विधिबाटै उपचार गरिएको अस्पतालले जनाएको छ । आईसीयूमा राखेर उपचाररत पूर्वरानी शाह निको भएर डिस्चार्ज भइसकेकी छन् । नर्भिकले अन्य बिरामीमा पनि प्लाज्मा थेरापी विधिबाट उपचार गरिरहेको छ ।
गत वर्ष महामारी फैलिएसँगै विश्व स्वास्थ्य सङ्गठनले पनि यसअघिका महामारीका बेला बिरामीको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको जनाएको थियो । सङ्गठनले सङ्क्रमणबाट निको भएका बिरामीको प्लाज्मा कसरी प्रयोग गर्ने भन्नेबारे एक गाइडलाइन नै जारी गरेको थियो । जुन गाइडलाइन विश्वका थुप्रै देशले अवलम्बन गर्दै आएका छन् । सन् २००३ मा फैलिएको सार्सको महामारीको समयमा पनि प्लाज्मा थेरापी विधिको प्रयोग भएको थियो । त्यसैगरी अफ्रिकी मुलुकमा सन् २०१३ देखि २०१६ सम्म फैलिएको इबोला भाइरसको प्रकोपको समयमा पनि प्लाज्मा थेरापी विधिको प्रयोग भएको विश्व स्वास्थ्य सङ्गठनले बताएको थियो ।
दोस्रो लहरको कोरोना महामारी फैलिएसँगै यो विधिबारे नेपालमा पनि चिकित्सकअनुसार फरक मत पाइएको छ । कतिले यसलाई उपयोगी भनिरहँदा कतिले भने यो विधि काम नलाग्ने बताएका छन् ।
अझ भारतमा देखिएको नयाँ भेरियन्ट र नेपालमा देखिएको तेस्रो भेरियन्टबाट सङ्क्रमितको उपचारमा समस्या हुने देखिएको छ । गतहप्ता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सङ्क्रमितको ३५ वटा नमुनालाई जिन सिक्वेन्सिङ गर्दा ९७ प्रतिशतमा (३४ वटा) बि. १.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा (१ वटा) बि.१.६१७. १ पुष्टि भएसँगै नेपालमा कोभिड–१९ को तेस्रो भेरियन्ट रहेको पुष्टि भएको जनाएको हो ।
यस सन्दर्भमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तेस्रो भेरियन्ट यसअघि देखा परेको भेरियन्टभन्दा ५० प्रतिशत बढी सङ्क्रामक रहको बताएको छ । यसमा अब प्लाज्माले कतिको काम गर्छ भन्ने यकिन गर्न नसकिने पनि चिकित्सकहरूको भनाइ छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोला पहिलाको जसरी अहिले प्लाज्मालाई पहिलो प्राथमिकतामा नराखेको बताउँछन् । डा. बास्तोला बिरामीका आफन्त तथा बिरामीले अन्य विकल्प नहुँदा प्लाज्माबाट पो हुन्छ कि भनी गरेको अनुरोधका आधारमा मात्रै प्लाज्मा थेरापीबाट उपचार गर्ने गरेको बताउँछन् ।
प्राथमिकतामा छैन प्लाज्मा थेरापी
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोला पहिलाको जसरी अहिले प्लाज्मालाई पहिलो प्राथमिकतामा नराखेको बताउँछन् । डा. बास्तोला बिरामीका आफन्त तथा बिरामीले अन्य विकल्प नहुँदा प्लाज्माबाट पो हुन्छ कि भनी गरेको अनुरोधका आधारमा मात्रै प्लाज्मा थेरापीबाट उपचार गर्ने गरेको बताउँछन् ।
पहिले प्लाज्मा दानका लागि अभियान नै सञ्चालन गरे पनि अहिले डोनरको अभाव देखिएको छ । साथै यसले नै काम गरेको हो भन्ने प्रमाणित नभएकाले यो विधि ठीक भन्ने अवस्था नरहेको डा.बाँस्तोलाले बताए । साथै अहिले प्लाज्माका लागि बिरामीका अफन्त आफै सक्रिय भएर मात्रै सङ्कलन गर्न सक्ने अवस्था रहेको पनि उनले बताए ।
गत हप्ता नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले एक गाइडलाइन जारी गर्दै कोन्भालासेन्ट प्लाज्मा थेरापीको उपयोगिता नदेखिएको भन्दै कोभिडका बिरामीको उपचार गरिरहेका अस्पतालहरूलाई यसको प्रयोगमा रोक लगाउन आग्रह गर्यो । यसपश्चात केही अस्पतालले एनएमसीको गाइडलाइनको आधारमा यो विधिमा रोक लगाए भने केही अस्पताल तथा चिकित्सकहरूले भने अनुभवको आधारमै यसलाई निरन्तरता दिइरहेका छन् । तर समस्या अहिले प्लाज्मा दान गर्नेहरू नै भेटिन छाडेका छन् ।
रेम्डेसिभिर जस्तै प्लाज्मा थेरापी पनि अहिले अध्ययनकै चरणमा रहेकाले यसको उपयोगिता भएन भन्नु ठीक नभएको डा. नेपालको तर्क छ । यी सबै उपचार विधि महामारीको समयमा आपत्कालीन समयमा गरिने विधि हुन् । त्यसैले रेम्डेसिभिरलाई महँगो मूल्यमा खरिद गरेर प्रयोग गर्न दिनु तर निःशुल्क अथवा रिसोर्स पर्सनबाट लिएर गरिने थोरै मात्र खर्चमा हुने यो विधिलाई चाहिँ रोक्नुपर्ने कारण के ? डा. नेपाल प्रश्न गर्छन् ।
गत वर्ष एनएमसी तथा नेपाल सरकारले प्लाज्मा दान गर्न सार्वजनिक रूपमै आह्वान गरेपछि दान गर्नेहरू बढेका थिए भने अहिले यो क्रम रोकिएको छ । कतिपय अस्पतालले प्लाज्मा थेरापीबाट सङ्क्रमित बिरामीको उपचारमा प्रयोग गर्ने प्लाज्माका लागि सङ्क्रमण भएर निको भएका मानिस खोजी खोजी ल्याउनुपर्ने अवस्था आएको रक्तरोग विशेषज्ञ डा. विपिन नेपाल बताउँछन् । डा. नेपालका अनुसार प्लाज्मा थेरापीबाट उपचार गरेका धेरै सङ्क्रमित निको भएकाले यसलाई निरन्तरता दिनुपर्छ । एनएमसीले नै यसमा रोक लगाएपछि दाता पाउन नै मुस्किल भएको छ । हाल बिरामीका आफन्त वा साथीभाइबाट नै प्लाज्मा लिनुपरिरहेको छ ।
कोरोना सङ्क्रमितको उपचार गर्दै आइरहेको थापाथलीस्थित परोपकार प्रसूतिगृहका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदी पनि गत प्लाज्माबाट उपचार नगरेको बताउँछन् । प्रसूतिगृहमा अन्य अस्पतालले प्रयोग गर्दै आएको र एनएमसीकै गाइडलाइनअनुसार उपचार गरिरहेको छ ।
त्यसैगरी पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले भने गत वर्ष प्लाज्माबाटै उपचार गरिए पनि अहिले यसलाई प्राथमिकतामा नराखेको बताए । डा. शाक्य गत वर्ष थुप्रै बिरामीको प्लाज्मा थेरापीबाट उपचार गरेको बताउँछन् । तर प्रभावकारिताबारे अध्ययन भइराखेकाले यकिन भन्न नसकिने उनी बताउँछन् । कोरोना भाइरसको उपचार र औषधि पत्ता लागि नसकेकाले यही नै ठीक हो भन्न सकिने अवस्था नभएको उनको तर्क छ ।
रेम्डेसिभिर जस्तै प्लाज्मा थेरापी पनि अहिले अध्ययनकै चरणमा रहेकाले यसको उपयोगिता भएन भन्नु ठीक नभएको डा. नेपालको तर्क छ । यी सबै उपचार विधि महामारीको समयमा आपत्कालीन समयमा गरिने विधि हुन् । त्यसैले रेम्डेसिभिरलाई महँगो मूल्यमा खरिद गरेर प्रयोग गर्न दिनु तर निःशुल्क अथवा रिसोर्स पर्सनबाट लिएर गरिने थोरै मात्र खर्चमा हुने यो विधिलाई चाहिँ रोक्नुपर्ने कारण के ? डा. नेपाल प्रश्न गर्छन् ।
बाहिरको अध्ययनको भरमा नेपालमा पनि रोकिहाल्नुपर्ने थिएन । अहिले पनि धेरै देशले यसलाई प्रयोगमा ल्याइराखेका छन् । डब्लूएचओले रेम्डेसिभिरलाई पनि उपयोगी मानेको छैन तर त्यसको प्रयोग यति धेरै भइरहँदा प्लाज्मालाई छायाँमा पार्ने काम भयो । यहाँ नेपाल मेडिकल काउन्सिलको कुरा मानियो तर नेपाल हेल्थ रिसर्च काउन्सिलको कुरा भने मानिएन ।
डा. नेपाल भन्छन्, ‘पहिले आईसीयूमा पुगेका बिरामी अझ भेन्टिलेटरमा पुगेका बिरामीमा प्लाज्मा थेरापीबाट उपचार गर्दा सफल भएका उदाहरण छन् । तर प्लाज्मा सिकिस्त बिरामीलाई भन्दा पनि सङ्क्रमणको सुरुवाती अवस्थामा पनि दिन सकेमा यसले एन्टिबडी विकासमा मद्दत गर्छ । एनएमसीले प्लाज्मा प्रयोगलाई प्रोत्साहित गर्नुपर्नेमा उपयोगिता छैन भनिहाल्नु आवश्यक थिएन ।’
यता सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी प्लाज्मा थेरापी उपयोगी नभएको बताउँछन् । उनी यो अध्ययनकै चरणमा रहेको र ठूला ठूला अध्ययनले यस विधि फलदायी नभएका देखाइसकेको बताउँछन् । उनी प्लाज्माबाटै निको भएको भन्ने पुष्टि नभएकाले यसलाई प्रयोग गर्नु उचित नभएको बताउँछन् ।
तर रक्तरोग विशेषज्ञ डा. नेपाल भने जुनसुकै भेरियन्ट आए पनि त्यसलाई परास्त गर्न एन्टिबडी विकास गर्नुपर्ने भएकाले प्लाज्मा उपयुक्त हुने बताउँछन् । कोरोना महामारी फैलिएको १ वर्ष मात्र भएकाले यो पद्धति ठीक होइन भनिहाल्नुभन्दा पनि बिरामीअनुसार निरन्तरता दिएमा राम्रो हुने उनी बताउँछन् ।
माग नै हुन छोड्यो
विगतमा दिनमा ३० देखि ३५ वटासम्म माग हुने गरे पनि अहिले आएर १० देखि १५ वटासम्म मात्रै माग हुने गरेको डा. नेपाल बताउँछन् । उनी अगाडि भन्छन्, ‘त्यो पनि पुर्याउन मुस्किल छ । पहिला स्वयंसेवक समूहहरूले प्लाज्मा डोनरहरू खोजी खोजी ल्याउँथ्यो अहिले एनएमसीको गाइडलाइन आएसँगै त्यो समूह पनि निस्क्रिय छ । बिरामीका आफन्त साथीभाइलाई बोलाउँदै सङ्कलन गर्नुपर्ने अवस्था छ ।’
हुन त अहिले चिकित्सकहरूले गाइडलाइन भन्दा अनुभवको आधारमा उपचार गरिरहेका छन् । स्टेरोइडबाहेक सबै औषधि तथा उपचार विधि ट्रायलको क्रममै रहेकाले प्लाज्मा ठीक वा बेठीक भन्न नसकिने चिकित्सकहरू बताउँछन् ।
नेपालमा सङ्क्रमण दर बढ्दै जाँदा र नयाँ भेरियन्टका बिरामी बढ्दा उपचारमा थप समस्या देखिएको छ । दोस्रो लहरको महामारी बढ्सँगै बिरामीमा अक्सिजन लेभल घट्ने र तत्काल अक्सिजन दिनुपर्ने देखिको छ । अहिलेको मुख्य समस्याका रूपमा अक्सिजन देखिएकाले प्लाज्मा छायाँमा परेको त होइन ? यदि यो विधिबाट उपचार सम्भव छ भने यसलाई प्राथमिकतामा राख्दा अहिले महँगो उपचारको मारमा परेका जनताले रात पाउने थिए कि ?