शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड नियन्त्रण र भौतिक विकास बजेटको प्राथमिकता : मन्त्री फुयाँल

मङ्गलबार, ११ जेठ २०७८, १४ : २४
मङ्गलबार, ११ जेठ २०७८

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले बागमती प्रदेशसभाको ८ औं अधिवेशन बैठक आगामी आर्थिक वर्षको बजेटमा केन्द्रीत रहने बताएका छन् । 
मन्त्री फुयाँलले रातोपाटीसँग कुराकानी गर्दै आगामी जेठ १६ गते दिउँसो ३ बजेका लागि आह्वान गरिएको उक्त बैठकमा आगामी आर्थिक वर्षको २०७८÷०७९ को बजेटको सैद्धान्तिक तथा प्राथमिकताका क्षेत्र र नीति कार्यक्रममा केन्द्रीत रहेर छलफल हुने बताएका हुन् । 

बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोग, स्थानीय निकायका पदाधिकारी र अर्थविद्हरुसंग गम्भिर रुपमा छलफल गरी प्राथमिकताको क्षेत्र निर्धारण गरि आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नतर्फ प्रदेश सरकार अग्रसर भइरहेको उनले बताए । 

प्रदेशका १ सय १९ वटा स्थानीय तह र प्रदेशसभा सदस्यहरुको सिफारिसमा राष्ट्रिय गौरवको आयोजना, भौतिक पूर्वाधार विकासका लागि बहुवर्षीय योजना र क्रमागत योजना छनौट तथा कार्यन्वयन गर्ने योजना रहेको बताए ।
मन्त्री फुयाँलले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट कोभिड रोग नियन्त्रण, कृषि उत्पादन र भौतिक पूर्वाधार विकासमा केन्द्रीत रहने र सोही अनुसार कार्यान्वयन हुने उल्लेख गरे । 

प्रदेशको १३ जिल्लामा सिंचाइका, सम्पदा निर्माण तथा संरक्षण र सडक पूर्वाधार निर्माणका एक÷एक सय वटा कार्यक्रमलाई बजेट विनियोजित योजनाका साथ प्रदेश सरकारले काम गरिरहेको उनको भनाइ छ । 

प्रदेश सरकारले आगामी वर्षको बजेटमा सुरुङ मार्ग निर्माणलाई प्राथमिकतामा राख्ने उनले बताए । 
हेटौंडा–वीरगञ्ज सडक खण्डको चुरियामाई नजिक रहेको पुरानो २ सय मिटर सुरुङ मार्गको संरक्षण र विस्तार लागि निर्माणका लागि निर्माण कम्पनीसमेत छनौट भइसकेको र भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटी सुरुङ मार्गको

निर्माणको लागि प्रदेश सरकारले बोलपत्र आह्वान गरिसकेको उनको भनाइ छ । 

त्यस्तै प्रदेश सरकारले प्रदेशमा विद्युतीय बस संचालकको योजनालाई विशेष कार्यक्रम अन्तर्गत राखेर काम गरिरहेको उनले बताए । 

मन्त्री फुयाँलले विद्युतीय बस संचालनका लागि काठमाडौं उपत्यकासहित ७ स्थानमा चार्जिङ्ग स्टेशन निर्माण गर्न बोलपत्र आह्वान गरिसकेको भए पनि कोरोना संक्रमणको जोखिमका कारण ३० वटा बस खरिद गर्ने कम्पनीको छनौट र सम्झौताको काममा केही ढिलाइ भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप