मलाई जान्न मन छ
-नारायण पनेरू ‘क्षितिज’
यस घडीको करिब दुई दशकपछि
तिमी र म
तिम्रो घरको पिँढीमा अतीतका पानाहरू पल्टाउँदै गर्दा
जब तिम्रो नाति इतिहासको किताब लिएर
एक धुमिल तस्बिर देखाउँदै सोध्नेछ
हजुरबा ! यो तस्बिरमा देखिने
दुरुस्त हास्यकलाकार जस्तो मान्छे को ?
तिमी टक्क रोकिएर किताबको पानामा नियाल्दै
आफ्नो पावरदार चस्माबाट गहिरिएर हेर्छाै
तब याद हुनेछ तिमीलाई तिम्रो विगतको,
तिम्रो आस्थाको धरोहरको
र घोत्लिएर बस्नेछौ एक छिन
अँ साँच्ची साइँला, त्यतिबेला तिमी के भन्छौ ?
मलाई जान्न मन लागेको छ ।
इतिहासको किताब बोकेर तिम्रो नाति
अर्काे दिन आउनेछ र सोध्नेछ
हजुरबा ! महाकालीको पानीमा ल्याप्चे ठोकेर
देशलाई अर्बौंको फाइदा हुन्छ भनेर ढाँट्ने को ?
उज्ज्वल भविष्य निर्माणका खातिर
आफ्ना लागि आहुति दिन पछि नपर्नेहरूलाई
खिसीटिउरी गरी हुर्मत लिने को हो ?
लाखौँ जनताले गणतन्त्रको समवेत स्वरमा उद्घोष गर्दा
कौसीमा काजु खाँदै ‘बयलगाढा चढेर अमेरिका पुगिन्न’ भन्ने को ?
साँच्चै भन न साइँला, त्यतिखेर तिमी के भन्छौ ?
मलाई जान्न मन लागेको छ ।
त्यत्तिकैमा रोकिनेछैन तिम्रो नाति
त्यसै गरी अर्काेपटक आउनेछ तिम्रो नाति र सोध्नेछ,
अनागरिकलाई नागरिक बनाएको
बहिष्कृतलाई समाहित गराएको
आवाज नभएकालाई आवाज दिएको
गुमनामलाई पहिचान दिलाएको
मनै नपराउने र त्यसलाई उल्ट्याउन खोज्ने को ?
रोकिनेछैन ऊ र फेरि सोध्नेछ
देशको चुच्चे नक्सा छाप्न आनाकानी गर्ने को ?
विदेशी खुफिया संस्थासँग मध्यरातमा भेट्ने को ?
समृद्धिको हल्ला गरेर षड्यन्त्र मात्र गरी बस्ने को ?
विपद्मा नागरिक छटपटिएर बेसहारा हुँदा
औषधि नपाएर मृत्युको मुखमा पुग्दा
अहङ्कार र अल्पज्ञानको किस्साले मजाक गर्ने को ?
झुट, जालसाजी र तिकडम गरी
सत्ताको तर चाट्ने को ?
मध्यरातमा विधि र विधानलाई कुल्चने
यो वृद्ध शासक को ?
वास्ता गर्नेछैन तिम्रो नातिले तिम्रो उत्तरको
झिक्नेछ ती पानाहरू किताबबाट र भन्नेछ
इतिहास भनेको जोक, गफ र ठट्टाको सँगालो हो ?
साँच्चै साइँला, यस विषम परिस्थितिमा
तिमी मेरो प्रिय नेता भन्छौ कि अरू कोही ?
मलाई जान्न मन लागेको छ ।