शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी सेवा बन्द

सोमबार, १० जेठ २०७८, २१ : २७
सोमबार, १० जेठ २०७८

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी सेवा बन्द हुने भएको छ । कोरोना संक्रमितको उपचारका लागि गण्डकी प्रदेशको एकमात्र ‘कोरोना डेडिकेटेड अस्पताल’ का रुपमा रहेको प्रतिष्ठानमा संक्रमण तीव्र बृद्धि भएपछि संक्रमितको मात्र उपचार गर्नका लागि अन्य रोगको ओपिडी सेवा बन्द गरिएको हो ।

प्रतिष्ठानमा अब कोरोना संक्रमितको मात्रै उपचार गर्ने भएकाले अन्य रोगको ओपिडी सेवा बन्द गरेको अस्पताल प्रशासनले जनाएको छ ।  संक्रमितको उपचारका लागि आवश्यक प्रक्रिया मिलाउन अस्पतालले मंगलबारदेखि नियमित सञ्चालन गर्दै आएको ओपिडी सेवा बन्द गर्न लागेको हो । 
दुई साताभित्र कोरोनाका थप संक्रमित राख्नेगरी तयारी अगाडि बढाइएको अस्पतालका सूचना अधिकारी नारायण आचार्यले बताए ।  हाल अस्पतालमा कोरोना संक्रमणका ५० जनासम्म बिरामी भर्ना गरिँदै आएको थियो । अब भने  अस्पतालले ओपिडी सहितका सेवा बन्द गरेर ३८० वटै बेडमा कोरोना संक्रमितको उपचार गर्ने तयारी  गरेको हो । 

कोभिड संक्रमण भएर अस्पताल पुग्ने सबैजसो संक्रमितलाई अक्सिजन आवश्यक पर्ने भएकाले त्यसको आवश्यक तयारीका लागि धेरै समय लाग्ने अस्पतालले जनाएको छ । नेपाल सरकार सचिवस्तरको बैठकले क्षेत्रीय अस्पताललाई कोरोना संक्रमितको लागि मात्रै उपचार गर्ने अस्पताल बनाउने निर्णय गरेको थियो ।

गत वैशाख ५ मा बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानलाई कोरोना संक्रमितको मात्रै उपचार गर्ने अस्पताल बनाउन केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।  बढ्दो कोरोना संक्रमण र प्रदेश सरकारको सिफारिसलाई मध्यनजर गर्दै सचिवस्तरीय निर्णय गरिएको पत्र अस्पताललाई पठाएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.भरत खत्रीले सूचना जारी गर्दै ओपिडी सेवा बन्द गरिएको जनाएका छन् । गम्भीर बिरामीको उपचारका लागि अस्पतालको इमर्जेन्सी सेवा भने यथावत रहने जारी सूचनामा उल्लेख गरिएको छ । मृगौलाका बिरामीका लागि डायलासिस सेवा पनि निरन्तर रहने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप