शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा चार दलद्वारा ‘प्रतिगामी कदम’ को निन्दा

सोमबार, १० जेठ २०७८, २१ : ०४
सोमबार, १० जेठ २०७८

धनुषामा चार दलले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर देशलाई प्रतिगमनतिर लगेको भन्दै त्यसका विरुद्ध संघर्षमा उत्रन आह्वान गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिगामी कदमविरुद्ध एकजुट भई सर्वोपरि राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अघि बढ्न उनीहरुले आह्वान गरेका हुन् ।

सोमबार जनकपुरस्थित नेकपा माओवादी केन्द्र धनुषाको कार्यालयमा नेपाली काँग्रेस धनुषाका सभापति महेश शंकर गिरी, माओवादी केन्द्र धनुषाका सचिव दिपक यादव, जनता समाजवादी पार्टी धनुषाका अध्यक्ष पशुपति यादव र नेकपा एमाले धनुषाका अध्यक्ष रामचन्द्र पण्डित सहितको बैठकले यस्तो निर्णय गरेको हो । अवैधानिक ढंगबाट संसद विघटन गरेको भन्दै बैठकले राष्ट्रपति र प्रधानमन्त्रीको कदमको निन्दा गरेको छ । बैठक पश्चात जारी प्रेस विज्ञप्तिमा राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन गर्ने प्रतिगमनकारी कार्यका विरुद्धमा एकजुट हुन सबैलाई आह्वान गरिएको छ ।

नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित नेपालको संविधानमा अन्तर्निहित संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र एवं नेपालको सर्वोपरि राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्न सम्पूर्ण राजनीतिक दल तथा जनसमुदायमा उनीहरुले आव्हानसमेत गरेका छन् ।

कोरोना महामारीको भयावह अवस्था सामना गरिरहेका जनताको जीवनलाई आम निर्वाचनको नाममा झनै गम्भीर संकटमा धकेलिदिएको भन्दै चार दलले यस्तो महामारीमा राजनीतिक जगत र सिंगो राष्ट्रलाई एकतावद्ध रुपमा अगाडि बढाउनु पर्नेमा जनप्रतिनिधि संस्थालाई विघटन गरी राष्ट्रपति र प्रधानमन्त्रीबाट अत्यन्त गैरजिम्मेवार कार्य भएको जनाएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको यस्तो कदमले देश र जनताले झनै बढी दुःख कष्टको सामना गनुपर्ने स्थिति सिर्जना भएको उनीहरुको ठहर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप