बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

आपत्तिजनक अवस्थामा भेटिएको भन्दै स्थानीयवासीले जब प्रहरीलाई नै थुनेर र बाँधेर राखे

सोमबार, १० जेठ २०७८, १६ : १५
सोमबार, १० जेठ २०७८

जिल्लाको इस्मा गाउँपालिका–१, मल्दी गाउँमा जेठ ७ गते राति हस्तीचौर प्रहरी चौकीका प्रमुख एवं सहायक निरीक्षक विष्णु गाह र प्रहरी जवान विरेन्द्र केसीलाई आपत्तिजनक अवस्थामा फेला पारेको भन्दै स्थानीयवासीले छानविन एवं कारवाहीको माग गरेका छन् ।

उक्त दिन उनीहरु दुवै एकै घरमा एक महिला र उनकी छोरीसँग आपत्तिजनक अवस्थामा फेला परेको स्थानीयवासीको भनाइ छ ।

महिला हसनु नेपालीका अनुसार त्यस रात प्रहरी सहायक निरीक्षक गाह र प्रहरी जवान केसी ती महिलाको घरमा बसेका थिए । ती महिला र सहायक निरीक्षक गाह गोठमा र ती महिलाको छोरीसँग प्रहरी जवान केसी घरभित्र विस्तरामा फेला परेको उनको भनाइ छ ।

अर्की स्थानीय महिला निरु राउतले पनि आमाचाहिँसँग प्रहरी सहायक निरीक्षक गाह राति आपत्तिजनक अवस्थामा फेला परेपछि आफूहरुले गोठको ढोका थुनेर राखेको बताइन् । उनका अनुसार सोहीबेला छोरीचाहिँसँग सिपाही केसी मुल घरको ओछ्यानमै फेला परेका थिए ।

‘दुईतीन पटक हामीले बाहिर निस्कनुस् सर भन्यौं,’ उनले भनिन्, ‘नमानेपछि हामीहरुले प्रहरी सहायक निरीक्षकलाई भित्रै थुनेको र सिपाहीलाई बाँधेर राखेका हौं ।’

इस्मा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक विमला खत्रीले स्थानीयवासीमार्फत घटनाबारे जानकारी पाएपछि आफू ८ गते बिहान त्यस घरमा पुगेर थुनिएका प्रहरी सहायक निरीक्षकलाई बाहिर निकालेको र बाँधेर राखिएका प्रहरी जवानको डोरी फुकाएर पठाइदिएको बताइन् ।

ती प्रहरी सहायक निरीक्षक र प्रहरी जवान त्यसरी उक्त घरमा धेरै पटक आउने र बस्ने गरेको स्थानीयले बताएको उपाध्यक्ष खत्रीले जानकारी दिइन् । उनले भनिन्, ‘ठुलो गल्ती प्रहरीको छ तर प्रहरी जवानलाई कुट्न र बाँध्नुमाचाहिँ स्थानीयको पनि गल्ती छ ।’

जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले घटनाको अघिल्लो दिन उक्त घरकी महिलाले आफ्नी बुहारीले अर्कै केटासँग अवैध सम्वन्ध राखेको भन्दै हस्तीचौर प्रहरी चौकीका प्रमुख गाहलाई बोलाएको र सोही क्रममा प्रहरीहरु उक्त घरमा पुगेको बताए ।

त्यसदिन उनीहरु छलफलमा सहभागी भइ चौकीमा फर्केको र फेरि तिनै महिलाले छलफल बोलाएपछि अर्को दिन पनि उनीहरु त्यहाँ पुगेको उनको भनाइ छ । स्थानीयवासीहरुले आरोप लगाएजस्तो ती दुई प्रहरीले अवैध सम्बन्ध भने नराखेको उनले बताए ।

उनका अनुसार प्रहरी जवान केसीलाई कुटपिट गर्नेहरुमध्ये ३ जनालाई पक्राउ गरिएको छ ।

स्थानीयवासी भने ती आमाछोरीको चालचलनबारे बुहारीले सबै कुरा थाहा पाएको र पोल खुल्ने डरले उनीहरुले बुहारीकै चरित्रमा दाग लगाउन विभिन्न आरोप लगाउने गरेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप