शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ का तीन अस्पताललाई स्वास्थ्य उपकरण खरिद गर्न साढे ३४ करोडभन्दा बढी निकासा

अस्पतालहरू निकासा भएको बजेट फ्रिज हुने चिन्तामा
सोमबार, १० जेठ २०७८, १४ : ५६
सोमबार, १० जेठ २०७८

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ का तीन ठुला सरकारी अस्पतालमा आईसीयु, भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा ट्याङ्क निर्माणका लागि ३४ करोड ६० लाख रुपैयाँ निकासा गरेको छ ।

सम्बन्धित अस्पतालका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि १८ करोड ८० लाख, कोशी अस्पताल विराटनगरका लागि ६ करोड ८० लाख र मेची अस्पतालका लागि ९ करोड रुपैयाँ निकासा भएको हो । तर सरकारले आर्थिक वर्ष सकिन लाग्दा बजेट निकास गरेकाले समयसीमाभित्रै आवश्यक उपकरण खरिद गर्न नसकेको खण्डमा बजेट फ्रिज हुने सम्भावना बढाएको छ ।

केही अस्पतालले त महामारीको समयमा मुलुकबाहिरबाट आवश्यक स्वास्थ्य सामग्री खरिद गर्नुपर्ने भएकाले प्रक्रिया लम्बिने भन्दै सरकारले नै स्वास्थ्य सामग्री उपलब्ध गराइदिनुपर्ने माग गरेका छन् ।

उनीहरुले महामारीको समयमा मुलुक बाहिरबाट स्वास्थ्य सामग्री खरिद गर्न निकै समस्या हुने भएकाले सरकारलाई नै ‘जीटुजी’मार्फत सामग्री खरिद गरेर उपलब्ध गराइदिन आग्रह गरेका हुन् ।

सरकारले कोशी अस्पताल, मेची प्रादेशिक अस्पताल र स्वास्थ्य विश्वविद्यालय रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री खरिदका लागि रकम निकासा गरेको हो । यी तीनवटै अस्पतालले विशेष कोरोना अस्पताल सञ्चालन गरी संक्रमितको उपचार गर्दै आएका छन् ।

कोशी र मेची अस्पतालमा छैन अक्सिजन प्लान्ट

कोशी अस्पताल र प्रादेशिक अस्पताल मेचीमा आफ्नै अक्सिजन प्लान्ट नहुँदा अस्पताललाई चाहिने अक्सिजनका लागि निजी क्षेत्रसँग भर पर्दै आएका छन् ।

कोशीमा अक्सिजन प्लान्टका लागि काम थाले पनि अगाडि बढ्न सकेको छैन । अक्सिजन प्लान्ट राख्नका लागि भवन निर्माणको काम भए पनि त्यसपछिको काम अगाडि बढ्न नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए ।

उनले प्लान्ट अमेरिका–नेपाल मेडिकल फाउण्डेशनले निर्माण गरिदिने भने पनि ढिलाइ हुँदा समस्या भएको बताए ।

‘अक्सिजन प्लान्ट स्थापनाका लागि फाउण्डेशनलाई ताकेता गरिरहेका छौं,’ मेसु दासले भने, ‘काम गर्ने क्रममा केही ढिलासुस्ती भएको छ ।’ उनले फाउण्डेशनले राखिदिने अक्सिजन प्लान्टमा दैनिक डेढ सय सिलिण्डर अक्सिजन उत्पादन क्षमता रहने पनि बताए ।

उनले सरकारबाट निकासा भएको रकमबाट १० वटा आइसियु र ५ वटा भेन्टिलेटरसहितको बेड निर्माण प्रकृया अघि बढाइसकिएको जानकारी दिए । सोही अनुसार बायो मेडिकल इन्जिनियरलाई ६ करोड ८० लाख रुपैयाँको सीमाभित्र रहेर थप इष्टिमेट तयार गर्ने कामको जिम्मा दिएको उनले बताए ।

प्रादेशिक मेची अस्पतालले पनि बजेट निकासा भएसँगै पहिलो प्राथमिकतामा अक्सिजन प्लान्ट राख्ने तयारीका साथ काम अगाडि बढाउन थालेको छ । तर सो अस्पताल पनि निकासा भएको बजेट खर्च गर्न सक्ने या नसक्ने भन्ने भन्ने द्विविधा देखिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले मन्त्रालयबाट निकासा भएको बजेट अक्सिजन प्लान्टका लागि जुटेको भए पनि आर्थिक वर्ष सकिन लागेकाले यही आर्थिक वर्षभित्र आवश्यक उपकरणको व्यवस्था गर्न निकै चुनौती रहेको बताए ।

‘महामारीको संकटमा अक्सिजनका लागि आवश्यक उपकरण ल्याउन निकै अप्ठ्यारो छ,’ मेसु ठाकुरले भने, ‘थोरै समयभित्र धेरै कुराको व्यवस्थापन गर्नुपर्ने दायित्व हामीमा थपिएको छ । यो समयसीमा भित्र सम्पूर्ण व्यवस्थापन गर्न नसकेको खण्डमा बजेट फ्रिज भएर जाने सम्भाना पनि उत्तिकै छ ।’

उनले महामारीको समयमा सबै आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि भारतसँग भर पर्नुपर्ने अवस्था रहेकाले अस्पतालको तहबाट त्यो अहिले सम्भव नरहेको बताए । सरकारले नै जीटुजी मार्फत खरिद गरेर सामान उपलब्ध गराउँदा आफुहरुलाई सजिलो हुने उनको भनाइ छ । अस्पतालस्तरबाट भारतमा स्वास्थ्य सामग्री खरिदमा कडाई गरिएकाले पनि सहजै अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक ट्याङ्की, आइसियु र भेन्टिलेटरजस्ता स्वास्थ्य उपकरण खरिद गर्न कठिनाइ हुने उनले बताए ।

‘अक्सिजन प्लान्टसहित अन्य स्वास्थ्य सामग्री खरिदका लागि ठुलै बजेट आएको छ,’ मेसु ठाकुरले भने, ‘तर बजेट निकास भएरमात्र हुन्न, अहिलेसम्म दररेट लगायतका कुनै निर्देशिका नआएकाले काम गर्न निकै कठिन र चुनौतीपूर्ण छ ।’

यता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने सरकारबाट निकासा भएको बजेटबाट प्रतिष्ठानमा थप अर्को अक्सिजन प्लान्ट राख्ने योजना अघि सारेको छ । तर यसले पनि सार्वजनिक खरिद ऐन प्रक्रिया अनुसार जानुपर्ने भएकाले कम्तीमा पनि तीन महिनामा मात्र यी सबै प्रक्रिया पूरा हुने भन्दै बजेट फ्रिज हुने सम्भावना औंल्याएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा डा मोहनचन्द्र रेग्मीले सरकारबाट निकासा भएको बजेटको सीमानाभित्र रहेर अस्पताललाई आवश्यक नयाँ अक्सिजन प्लान्ट निर्माणको काम अगाडि बढ्ने बताए ।

‘हामीसँग अहिले भएको अक्सिजन प्लान्टमा प्राविधिक समस्या दोहोरिने गरेको छ,’ उनले भने, ‘जसका कारण अहिले सिलिण्डरमार्फत बिरामीलाई अक्सिजन सप्लाई गर्दै आएका छौं, अबको बजेटमार्फत नयाँ प्लान्ट थप्ने काम भएपछि भविष्यका लागि अक्सिजनको समस्या अन्त्य हुन्छ ।’

प्रतिष्ठनले अहिले थप ४ सय बेड विस्तारको काम गरिरहेकाले निकासा भएको बजेटले त्यसका लागि पनि सहज हुने बताए । तर अस्पताल तहबाट हुने कामले प्रकृया लम्बिने र समयभित्र सम्पन्न गर्न कानुनी तथा व्यवहारिक कठिनाइ हुने भएकाले सरकारले नै आवश्यक सामग्री खरिद गरी अस्पताललाई उपलब्ध गराएको खण्डमा धेरै सहज हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप