शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निषेधाज्ञाको २६ औँ दिन : ५० वटा जिल्लामा संक्रमण ब्यापक बन्दै

कडाइ नगरे संक्रमण अझै एक महिना फैलने चेतावनी
सोमबार, १० जेठ २०७८, १३ : २८
सोमबार, १० जेठ २०७८

निषेधाज्ञा जारी गरेको २६ दिन पुगिसक्दा पनि ५० वटा जिल्लामा व्यापक रुपमा संक्रमण दर बढिरहेको पाइएको छ ।  गत हप्ताको तुलनामा केही जिल्लामा यस हप्ता कोरोना भाइरस संक्रमणदर घटेपनि ५० जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको महामारी रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले बताइन् । संक्रमण फैलिएको ५० जिल्लामा संक्रमणदर प्रतिलाख जनसंख्यामा औसत २७.८ प्रतिशत रहेको छ । प्रतिलाख जनसंख्यामा संक्रमणदर १० प्रतिशतभन्दा बढी भएमा संक्रमणको अवस्थालाई व्यापक मान्ने गरिन्छ ।

पहिलो लहरको तुलनामा अहिले संक्रमण ३ गुणाले बढेको डा. श्रेष्ठको भनाइ छ । पहिलो लहरमा संक्रमण उत्कर्षमा पुग्दा प्रतिलाख जनसंख्यामा संक्रमण दर १३१.७ प्रतिशत थियो भने दोस्रो लहरमा ३०७ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य पीसीआर गरेका मध्ये कति प्रतिशतमा संक्रमण फैलिएको थाहा पाएपनि समूदायमा कुन तहमा कसरी फैलिएको छ भन्ने बारेमा ख्याल गर्न अत्यन्त जरुरी भएको बताउँछन् । ‘संक्रमणको दर यही भनेर भन्न सकिदैन,’ उनी भन्छन्, ‘यहाँ कन्ट्याक्ट ट्रेसिङ पनि भएको छैन, पोजेटिभ भएका जति सबै परीक्षण आएका छैनन् ।’

पछिल्ला केही दिनमा उपत्यकामा संक्रमितको संख्या केही कमी देखिएको छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा संक्रमितको संख्यामा केही घटेपनि अन्य प्रदेशहरूमा बढेको छ । देशभर कोरोना संक्रमितको संख्या ५ लाख नाघिसकेको छ । स्वास्थ्य मन्त्रालयले लक्षण देखिएर स्वास्थ्य अवस्था जटिल भएपछि परीक्षण गर्न पुगेका व्यक्तिको आधारमा संक्रमितको संख्या भनिरहेपनि यर्थाथमा त्योभन्दा धेरै संक्रमित भइरहेको चिकित्सकहरु बताउँछन् ।

त्यस्तै, पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य पीसीआर गरेका मध्ये कति प्रतिशतमा संक्रमण फैलिएको थाहा पाएपनि समूदायमा कुन तहमा कसरी फैलिएको छ भन्ने बारेमा ख्याल गर्न अत्यन्त जरुरी भएको बताउँछन् । ‘संक्रमणको दर यही भनेर भन्न सकिदैन,’ उनी भन्छन्, ‘यहाँ कन्ट्याक्ट ट्रेसिङ पनि भएको छैन, पोजेटिभ भएका जति सबै परीक्षण आएका छैनन् ।’

अस्पतालमा जटिल खालको लक्षण देखिएर कोरोना परीक्षण गराउन आउनको संख्यामात्रै सरकारले गन्ती गरिएको उनी बताउँछन् । ‘जटिलका खालको लक्षण नदेखिकन हत्तपत्त कोहीपनि कोरोना परीक्षण गराउँदैनन,’ उनी भन्छन्, ‘जुन हिसाबले संक्रमण दर गणना भइरहेको छ, त्यो न्यून संख्या मात्रै हो ।’

निषेधाज्ञालाई कडाइ गरौँ, कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाऔँ

काठमाडौँको मुख्य सडकहरुमा निषेधाज्ञा जारी गरे जस्तो देखिएपनि भित्री शहरका चहलपहल पुरानै अवस्थामा झैँ रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रक महाशाखाका पूर्व निर्देशक डा. वासुदेव पाण्डे बताउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. पाण्डे सरकारले कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि निषेधाज्ञा जारी राखेपनि कार्यान्वयनको पाटोलाई अब्बल बनाउन नसकेको महामारी तीव्ररूपमा फैलिदै गएको तर्क राख्छन्

निषेधाज्ञा भनेपनि रातिराति बस चढेर बाहिर जाने आउने क्रम जारी छ । अघिल्लो पटकको जस्तो निषेधाज्ञाको कार्यान्वयनको पाटो फितलो हुँदा संक्रमण घट्नुको साटो बढिरहेको उनको भनाइ छ । भारतीय नाका हुँदै नेपाल प्रवेश गर्नेहरुमा चेकजाँच फितलो हुँदापनि संक्रमण बढाउन सहयोग गरेको उनी बताउँछन् । निषेधाज्ञा राम्रोसँग कार्यान्वय नभएकाले कोरोना संक्रमण अझैँ एक महिना बिस्तार हुन सक्ने डा. पाण्डे बताउँछन् ।

यता, स्वास्थ्य मन्त्रालयका पूर्वसचिव विमल चालिसेका अनुसार   निषेधाज्ञा र जनस्वास्थ्यमा मापदण्ड पालना गर्ने र गराउने कुरामा तालमेल नहुँदा संक्रमण दिनप्रतिदिन बढ्दै गएको हो । निषेधाज्ञाको २४/२५ दिन पुग्दासमेत जनस्वास्थ्यका मापदण्ड पालना नगरेकाले भित्रभित्र संक्रमण विस्तार भइरहेको उनको आँकलन छ । जनघनत्व बढी भएको ठाउँमा दिनभरि सुनसान देखिएपनि राति सवारीसाधनको आवतजावत बढि हुने गरेको पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य सुनाउँछन् । ‘रिङ रोड बाहिरका पसलहरु मज्जाले खुलिरहेका छन्, उनी भन्छन्, ‘कतिजनाले मास्क नै नलगाइकन घुमफिर गरेको देख्न पाइन्छ ।’ जिल्ला तहमा पनि निषेधाज्ञा पालना नभएकाले विभिन्न जिल्ला संक्रमण उच्च हुँदै गएको उनी बताउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. पाण्डे सरकारले कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि निषेधाज्ञा जारी राखेपनि कार्यान्वयनको पाटोलाई अब्बल बनाउन नसकेको महामारी तीव्ररूपमा फैलिदै गएको तर्क राख्छन् । 

स्वास्थ्य मन्त्रालयले कति ठाउँमा कति मानिसको मृत्यु भयो भनेर तथ्यांक संकलन गर्ने काम मात्र गरिरहेको डा. पाण्डेको आरोप छ । ‘कन्ट्याक्ट ट्रेसिङ शुन्य छ, जहाँ मुख्य संक्रमणको हटस्पट छ त्यहाँ सिल गरी कडाइ गर्ने काम भएन,’ उनी भन्छन्, ‘मुख्य कुरा जहाँ संक्रमणको दर बढी त्यहाँ शंका लागेकालाई कन्ट्याक्ट ट्रेसिङ गरेर आइसोलेट गर्नुपर्छ तर, यहाँ अहिले त्यस्तो नहुँदा संक्रमण बढ्यो ।’

सरकारले संक्रमण दर चेन ब्रेक गर्न निषेधाज्ञा मात्रै जारी राखे संक्रमण तत्काल घट्नुको साटो बढ्ने डा. पाण्डे बताउँछन्  । कोरोना संक्रमण नियन्त्रण, उपचार र पहिचानमा सरकारी संयन्त्र सुस्ताएको जस्तो देखिएको उनले सुनाए ।

राजनीतिक घटनाक्रमले झन् खतरा निम्तिन सक्छ

वर्तमान अवस्थाको राजनीतिक घटनाक्रमले जनतालाई निरास बनाएको डा. पाण्डे बताउँछन् । कोरोना रोकथामको मूलमन्त्र बन्दाबन्दीलाई बनाउने तर, कार्यान्वयनको पाटोमा सरकार अनि प्रतिपक्ष दलहरु चुकेमा महामारीले ठूलो दुर्घटना निम्त्याउने पूर्व प्रमुख डा.पाण्डे बताउँछन् ।

‘सत्ता र शक्तिमा केन्द्रित बन्न सबै राजनीतिक दलले जति रस्साकस्सी गर्नुभएको छ,’ उनी भन्छन्, ‘यो महामारीमा संक्रमितको पहिचान, उपचार र नियन्त्रणमा एकजुट भएको भए अक्सिजन नपाएर, बेड नपाएर बिरामी बिचल्लीमा पर्थेनन् होला ।’

वर्तमान अवस्थाको राजनीतिक घटनाक्रम जस्तो भएपनि नारा, जुलुस र आन्दोलनका तथा भीडभाडका कार्यक्रम कुनैपनि हालतमा गर्न नहुने पूर्व स्वास्थ्य सचिव डा.चालिसे बताउँछन् ।

वर्तमान अवस्थामा भीडभाड गर्ने कुनैपनि खालका कार्यक्रम सरकार प्रतिपक्ष दलबाट भए भने झन् भयावह स्थिति सिर्जना हुने उनले चेतावनी दिए ।

कोरोना महामारी यो अवस्था अझै एक महिनासम्म कायम रहन सक्ने भएकाले राजनीतिक दल तथा सर्वसाधारणले ख्याल गर्न   अत्यन्त जरुरी भएको निर्देशक डा. पाण्डेको भनाइ छ । 

यता सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन तत्काल फिर्ता लिन जनस्वास्थ्यकर्मीहरुले अपील गरेका छन । अस्पतालमा बेड, अक्सिजन नपाएर संक्रमितहरु छट्पटाएर ज्यान गुमाइरहेका बेला जनताको जीवन रक्षामा केन्द्रित हुनुको सट्टा मध्यावधि निर्वाचनको घोषणा गर्नु नागरिकको जीवनप्रति सरकारको गैर जिम्मेवारपन भएको आरोप जनस्वास्थ्यविद्हरुले लगाएका छन् ।

निर्वाचनले महामारीको भयावह रुप लिन सक्ने जनस्वास्थ्यविद्हरुले चेतावनी दिएका छन् । जनताको जीवन रक्षाको लागि मध्यावधि निर्वाचनको घोषणा अविलम्ब फिर्ता लिन समेत जनस्वास्थ्यविद्हरुले आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप