बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एमालेका १४ जना प्रदेश सांसदले बुझाए स्पष्टीकरण

आइतबार, ०९ जेठ २०७८, २१ : २७
आइतबार, ०९ जेठ २०७८

नेकपा एमालेका १४ जना प्रदेशसभा सदस्यहरुले नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डलाई स्पष्टीकरण बुझाएका छन् । नेकपा एमाले माधव नेपाल समूहका १४ जना सदस्यहरुले आज स्पष्टीकरण बुझाएको प्रदेशसभा सदस्य तथा माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डको शनिवार बसेको बैठकले बागमती प्रदेशका माधव नेपाल पक्षका नेतृ शाक्यसहित १४ जना सांसदहरुलाई पार्टी हित विपरित काम गरेको भन्दै स्पष्टिकरण माग गरेको थियो ।

बोर्डले गत पुष १० गते बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुको कारण, गत चैत ५ र ६ गते काठमाडौंमा भएको माधव नेपाल समूहको भेलामा सहभागी हुनुको कारण र जेठ ६ गते भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई सूर्य चिन्हमा मतदान नगर्नुको कारण माग गर्दै उनीहरुसँग स्पष्टीकरण सोधेको थियो ।

उक्त विषयमा माधव नेपाल समूहका १४ जना सांसदले छलफल गरी बोर्डलाई जवाफ पठाएको नेतृ शाक्यले बताइन् । उनले नेकपा हुँदा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध संसद् सचिवालयमा दर्ता गरिएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिएको र हाल सो पार्टी नै खारेज भएकोले यस विषय स्वतः समाप्त हुनुपर्ने जवाफमा उल्लेख गरिएको बताइन् ।

सरकारले गरेका गलत कामका बारेमा खबरदारी गर्दागर्दै पनि सरकारले अटेर गरेकाले आफूहरु सो कदम उठाउन बाध्य भएको उनले बताइन् ।

‘हामीले मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले गरेका गलत कार्यको बारम्बार संसदीय दलको बैठकमा खबरदारी गरेका छौँ । कार्यशैली नै परिवर्तन नभएकाले उहाँकै विरुद्धमा हस्ताक्षर गर्न बाध्य भएका थियौँ,’ उनले भनिन् ।

त्यस्तै चालु आर्थिक वर्षमा मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले सन्तुलित बजेट ल्याउन नसकेको, बजेट मन्त्रीमुखी भएको र कार्यान्वयनमा पनि पक्षपात भए पछि मुख्यमन्त्री पौडेलको विरुद्धमा लाग्नुपरेको जवाफमा भनिएको उनले बताइन् ।

‘सरकारले असन्तुलित बजेट ल्यायो, बजेट मन्त्रीमुखी भयो । कार्यान्वयनमा पक्षपात भयो भनेर आवाज उठायौँ । बजेट अधिवेशनका क्रममा ५ दिनसम्म छलफल भएको र  प्रदेशसभाका ६८ जना सांसदले असहमति राखेपछि तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलको नेतृत्वमा बजेटमा सन्तुलन कायम गर्न समिति बनाइयो तर, उक्त समितिले अध्ययन गरेर दिएको प्रतिवेदन नै सार्वजनिक नगरी मुख्यमन्त्री पौडेलले एकलौटी ढंगबाट बजेट पास गरेपछि उहाँ विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको स्पष्टीकरणमा उल्लेख गरेका छौँ,’ उनले भनिन् ।

त्यस्तै माधव नेपाल समूहले गत चैत ५ र ६ गते काठमाडौंमा गरेको भेलामा पार्टी एकताका विषयमा योजना बनाउन भेलामा सहभागी भएको जवाफ पठाएको नेतृ शाक्यले बताइन् । ‘हामी सँधै पार्टी एकताको पक्षमा छौँ । पार्टी एकताका लागि उक्त भेला आयोजना भएको थियो त्यसैले भेलामा सहभागि भएका हौं भन्ने जवाफ पठाएका छौँ,’ उनले थपिन् ।

त्यस्तै राष्ट्रियसभाको रिक्त सदस्य पदको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई माधव पक्षका सांसदहरुले मत नदिएको भन्ने विषयमा बोर्डले प्रश्न सोध्न र जवाफ पठाउन नमिल्ने जवाफमा उल्लेख गरिएकाे उनले बताइन् ।

गोप्य मतदानका बारेमा मत दिएको वा नदिएको बारेमा सोध्नु गलत भएको उनले बताइन् । ‘मतदान गोप्य हुन्छ । भोट कसलाई हाल्यो सोध्ने र भन्ने कुरा हुँदैन । हामीले पार्टीको निर्णय विपरित काम गरेको छैन,’ उनले भनिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप