शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिडविरुद्ध लड्न सभामुखको पहल

आइतबार, ०९ जेठ २०७८, ०६ : ००
आइतबार, ०९ जेठ २०७८

सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिन्धुपाल्चोकमा कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएका छन् । अक्सिजन प्लान्ट स्थापनाको काम अघि पनि बढेको छ । यही हप्ता सभामुख सापकोटाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत योजनामा संशोधन गरी रु पन्ध्र लाख रकम अक्सिजन प्लान्ट स्थापनाका लागि छुट्याउनु भएको सचिवालयले जनाएको छ ।
  
सभामुखको पहलमा स्वास्थ्य सेवा विभागबाट प्राप्त अत्यावश्यक स्वास्थ्य सामग्री उनको सचिवालयमार्फत जिल्ला समन्वय समितिलाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिए । कार्यक्रममा सचिवालयमार्फत हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरूमा २१ लिटरको एक थान अक्सिजन कन्सन्ट्रेटर, एन–९५ मास्क १०० थान, सर्जिकल मास्क एक हजार थान, पिपिई सेट ३० थान, स्यानिटाइजरलगायत छन् । तत्काल १०० थान भरिएको अक्सिजन सिलिन्डर, २० थान अक्सिजन कन्सन्टेटर र दुई हजार थान एन्टिजेन किट जिल्लामा आइपुग्ने पाठकले जानकारी दिए । बाँकी सामग्री क्रमशः जिल्लामा पुग्ने व्यवस्था मिलाइएको उनले बताए ।
 
यस्तै जिल्लाबाट सङ्कलित ५३ थान अक्सिजन सिलिन्डर भर्ने क्रममा रहेको र यसै हप्ता जिल्लामा पुग्ने व्यवस्था मिलाइएको स्वकीय सचिव पाठकले बताए । कोभिड–१९ का कारण समस्यामा परेका परिवारका ५० बढी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन पहल गरिएको छ । उपचार अभावमा नागरिकको जीवन थप जोखिममा पर्न नदिन सभामुख सापकोटाले अघिल्लो हप्ता मात्रै जिल्लामा चौतारा अस्पतालको मागपत्रका आधारमा अक्सिजन प्लान्ट स्थापनाका लागि विशेष पहल गरेका थिए । केही हप्तामै जिल्लामा अक्सिजन प्लान्ट स्थापनाको कामले मूर्तरूप पाउने पाठकले जानकारी दिए । यसैबीच सभामुखले कोभिड–१९ का कारण समस्यामा परेका सिन्धुबासीलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने व्यवसायी एवं समाजसेवीलाई धन्यवाद ज्ञापन गरे । उनले कोरोना महामारी अझ बढी रहेकोले सतर्क रहन र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई अपिल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप