बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

होम आईसोलेसनमा बसेका बिरामीलाई घरघरमै पुगेर औषधि वितरण

आइतबार, ०९ जेठ २०७८, १८ : ०९
आइतबार, ०९ जेठ २०७८

वीरेन्द्रनगर नगरपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई घरघरमै पुगेर औषधि वितरण गर्न थालेको छ । अस्पतालमा शय्या तथा अक्सिजन अभावको समस्या देखिएको समयमा अधिकांश संक्रमित यतिबेला घरमै आइसोलेसनमा छन् । त्यस्ता संक्रमितको स्वास्थ्यमा थप समस्या नआओस् भनेर नगरपालिकाले औषधि वितरण थालेको हो ।

नगर उपप्रमुख मोहनमाया ढकालका अनुसार नगरपालिकाले संक्रमितको नियमित स्वास्थ्य चेकजाँच र घरघरमै गएर औषधि तथा आवश्यक सामग्री वितरण गर्दै आएको छ । रातोपाटीसँग उनले भनिन्, ‘अक्सिजनको मात्रा कमी भएको खण्डमा त्यस्ता बिरामीलाई अस्पताल पु¥याउने काम पनि नगरपालिकाले गर्दै आएको छ ।’

नगरपालिकाको १६ वटै वडामा सम्बन्धित वडाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, मेयर, उपमेयर र वडाका अन्य जनप्रतिनिधिहरु गएर संक्रमितलाई औषधि वितरण गर्ने गरेका छन् । उपप्रमुख ढकालका अनुसार  पारासिटामोल, जीवनजल, जिङ्क चक्की, एजिथ्रोमाईसिन, भिटामिन बी लगायतका औषधि, साबुन, टुथपेस्ट तथा ब्रस लगायतका सामग्रीसमेत वितरण गर्ने गरिएको छ ।

संक्रमितहरुको मनोबल उच्च राख्न उनीहरुलाई परामर्शसमेत दिने र स्वास्थ्यको बारेमा जानकारी लिने काम भएको उनले बताइन् । उनी भन्छिन्, ‘हाम्रो यो अभियानले अस्पतालमा पनि चाप कम भएको छ ।’

वीरेन्द्रनगर नगरपालिकाले कोरोना रोकथाम र प्रतिकार्यका लागि २५ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याउनुका साथै हप्ताको तीन दिन कोरोना परीक्षणसमेत गर्ने गरेको छ । संक्रमितलाई अस्पतालसम्म लैजान सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले तीनवटा एम्बुलेन्स समेत सञ्चालनमा ल्याएको छ ।

नगर क्षेत्रमा गत वैशाख १४ गतेदेखि निषेधाज्ञा जारी छ । नगरपालिकाले निषेधाज्ञाको पालना भए–नभएको समेत अनुगमन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप