शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विपक्षी गठबन्धन आज गएन सर्वोच्च अदालत

आइतबार, ०९ जेठ २०७८, १५ : ३३
आइतबार, ०९ जेठ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा विघटन गरेपछि विरोधमा रहेका विपक्षी गठबन्धन आज सर्वोच्च अदालत नजाने भएको छ । 

हस्ताक्षर जुटाउने कार्य अझै जुटिनसकेकाले आजका लागि सर्वोच्च नजाने तय भएको एमाले नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । उनले गर्न बाँकी आवश्यक प्रक्रिया पूरा गरेर भोलि १० बजे सर्वोच्च जाने तय भएको जानकारी दिए । 

नेताहरुका अनुसार आज विपक्षी गठबन्धनका काँग्रेस, माओवादीका साथै जसपाको उपेन्द्र यादव र एमालेको माधव कुमार नेपाल समूहका जम्मा १४३ सांसदको हस्ताक्षर जुटिसकेको छ । यस्तै एमालेको नेपाल समूहका ६ सांसदले भने हस्ताक्षर नगरेको र उनीहरुलाई मनाउन प्रयास जारी रहेको बताइएको छ । 

काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर जेठ ७ गते विपक्षी गठबन्धनले राष्ट्रपतिसमक्ष १४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेको थियो । तर सो हस्ताक्षरलाई राष्ट्रपतिले वैधता दिएकी थिइनन् । 
यस्तै एमाले अध्यक्ष केपी ओलीले पनि आफ्नो पक्षमा १५३ सांसद रहेको दावी पेश गरेका थिए । तर दुबै पक्षले बुझाएको हस्ताक्षरका कैफियत देखाउँदै राष्ट्रपतिले आफ्नो आह्वान अनुसार संविधानको धारा ७६(५) अनुसार सरकार बन्न नसकेको उल्लेख गरेकी थिइन् । 

लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक राखेर संसद विघटनको सिफारिस गरेका थिए भने राष्ट्रपतिले पनि तुरुन्तै स्वीकृत गरेकी थिइन् । 
राष्ट्रपतिको कदमपछि शनिबार विपक्षी गठबन्धनको बैठक बसेर राष्ट्रपति र प्रधानमन्त्रीको निर्णयप्रति राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय भएको थियो । 

विपक्षी गठबन्धन अहिले विघटनविरुद्ध भन्दा पनि देउवाले राष्ट्रपतिसमक्ष पेश गरेको दावीलाई वैधता दिन माग गर्दै अदालत जान लागेको बताइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप