शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

शव व्यवस्थापनमा युवा सक्रिय, स्थानीय प्रशासन मौन

आइतबार, ०९ जेठ २०७८, १४ : ३३
आइतबार, ०९ जेठ २०७८

 कोरोना महामारी घातक बन्दै गएको समयमा घरमै रहेका शंकास्पद संक्रमितको मृत्युपछि शव व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । अर्कोतिर अस्पताल भर्ना भएकाहरुको पनि पीसीआर रिपोर्ट नआउँदै मृत्यु भएमा शव व्यवस्थापनमा ढिलाइ हुने गरेको छ । त्यस्ता बिरामीको मृत्यु भएपछि वरपरका कसैले चासो नदेखाउने र स्थानीय प्रशासनसमेत मूकदर्शक बन्न थालेपछि जनकपुरधामका युवा शव व्यवस्थापनमा अग्रसर भएका छन् ।

उनीहरु गाउँघरमा मात्र होइन, अस्पतालमा मृत्यु भएका संक्रमितको शव व्यवस्थापनमा समेत अग्रसर देखिएका छन् ।

परिवर्तनका लागि युवा अभियानका संयोजक सुशिल कर्णको अगुवाईमा युवाको समूहले शव व्यवस्थापन गर्न थालेको हो । सरोकारवालाले शव व्यवस्थापनमा देखाएका उदासीनताका कारण आफूहरु शव व्यवस्थापनदेखि दाहसंस्कारसम्मका जिम्मेवारी वहन गर्न अग्रसर भएको उनले बताए ।

डेढ साताको अवधिमा तीनवटा शव व्यवस्थापन गरिएको उनको भनाइ छ । अस्पतालमा भर्ना भएका बिरामीको पीसीआर रिपोर्ट नआउँदै मृत्यु भएपछि अस्पतालमै शव अलपत्र रहेको अवस्थामा पीडित परिवारको आग्रहअनुसार आफुहरुले शव व्यवस्थापन गरेको उनले जानकारी दिए ।

अस्पतालमा बेडको अभावमा कतिपय शंकास्पद संक्रमितहरु घरमै रहने गरेको अवस्थामा त्यस्ता बिरामीको मृत्यु भएमा गाउँघरमै पनि मलामी जुट्न कठिन हुने गरेको छ । घरमै लामो समय शव अलपत्र रहेको अवस्थामा समेत आफूहरु गएर शव व्यवस्थापनमा मद्दत गर्ने गरेको कर्ण बताउँछन् ।

नेपाल तरुण दल धनुषाका उपसभापति समेत रहेका कोभिड–१९ क्विक रेस्पोन्स टीमका सदस्य राकेश विक्रम साहका अनुसार कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीय प्रशासनले ढिलासुस्ती गर्दा पीडित परिवारमा पर्ने मर्कालाई ध्यानमा राखेर शव व्यवस्थापनमा अग्रसर हुनु परेको हो ।

प्रमुख जिल्ला अधिकारीलाई पीडितले फोन गरी शव व्यवस्थापनका लागि हारगुहार गर्दा वास्ता नगर्ने र नेपाली सेना दिनहुँ दर्जन जति शव व्यवस्थापनमा व्यस्त रहेको भन्दै हारगुहारको सुनुवाई नभएपछि अस्पतालमा अलपत्र शवको समेत व्यवस्थापन गरेको उनले सुनाए ।

‘कोभिड १९ पोजेटिभ रिपोर्ट भएकाको पनि स्थानीय प्रशासनले शव व्यवस्थापनमा ध्यान दिएको छैन,’ उनले भने ।

उनका अनुसार प्रादेशिक अस्पतालको कोभिड वार्डमा धनुषा लक्ष्मिनिया गाउँपालिका–४, सपही बस्ने ६० वर्षीय रामप्रसाद ठाकुरको शनिबार मृत्यु भयो । त्यस्तै, सोमबार मध्यरातमा भर्ना गरिएका जनकपुरधाम–१० बस्ने ३४ वर्षीय अमोद कर्णको केही क्षणमै मृत्यु भएको थियो ।

मृत्यु पश्चात अस्पतालबाट शव लग्न भनेपछि शव व्यवस्थापनमा परिवारजनलाई समस्या परेको र जिल्ला प्रशासन कार्यालयसँग गुहार माग्दासमेत वास्ता नगरिएपछि ती शवलाई आफूहरुले व्यवस्थापन गरेको अभियानका संयोजक कर्णले बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला भने कोरोना लागे–नलागेको पुष्टि नभएकाले शव व्यवस्थापनमा ढिलो भएको बताउँछन् । कोरोना संक्रमितको शव व्यवस्थापनमा मात्र स्थानीय प्रशासनले सहयोग गर्ने उनको भनाइ छ । परीक्षण रिपोर्ट नै नआएको अवस्थामा आफूहरुले केही गर्न नसक्ने उनले बताए ।

शव व्यवस्थापनका लागि अस्पताल प्रशासन, जिल्ला प्रशासन कार्यालय र जनकपुरधाम उपमहानगरपालिकाले समेत बेवास्ता गरेपछि युवाहरु आफै अग्रसर भई चुनौती मोलेर शव व्यवस्थापन गरिरहेको परिवर्तनका लागि यूवा अभियानका सदस्य सुमित मिश्रले बताए ।

शव व्यवस्थापनमा युवा अभियन्ता सुशिल कर्ण, सुमित मिश्र, किसन मण्डल, मोहन रौनियार, मनिष सिंह लगायतका युवा सक्रिय छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप