काँग्रेस नेता लेखकको प्रश्न : अवैधानिक प्रधानमन्त्रीले गरेको संसद विघटन कसरी हुन्छ वैधानिक ?
आइतबार, ०९ जेठ २०७८, १३ : ५०

काँग्रेस नेता रमेश लेखकले अवैधानिक प्रधानमन्त्रीले गरेको संसद विघटनले वैधानिकता नपाउने दावी गरेका छन् ।
सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता लेखकले विश्वासको मत नपाएको अवस्थामा प्रधानमन्त्री ओली अवैधानिक भएकाले उहाँले गरेको संसद विघटन पनि वैधानिक नभएको बताए ।
‘उहाँ आफै अवैधानिक प्रधानमन्त्री भइसक्नुभएको छ । अनि अवैधानिक प्रधानमन्त्रीले गरेको संविधान विघटन वैधानिक हुनै सक्दैन’, लेखकको भनाइ छ ।
त्यस्तै काँग्रेसका अर्का नेता डा. मिनेन्द्र रिजालले १४९ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न निवेदन दिएपछि राष्ट्रपतिले प्रधानमन्त्रीसँगको मिलेमतोमा संसद विघटन गरिएको भन्दै त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गर्न लागेको बताए । उनले प्रक्रिया जारी रहेकाले आजै रिट दर्ता हुने वा नहुने भन्ने निश्चित नभएको बताए ।