कविता : शरीर मर्दैन
- साकारबाबु सुवेदी
तिमीलाई खरानीसँगै बगाएर
म फर्किएको रात,
थाहा भयो न आत्मा मर्छ,
न त शरीर नै ।
एउटा लामो निन्द्रामा मस्त
तिम्रो लम्पसार देह,
चिन्ताभन्दा पर बसेर,
ममा जिम्मेवारी सुम्पँदै थियो ।
म त्यही तिमीले छाडेका
कर्महरूले आफू रूपान्तरित भएँ,
मेरा करहरूले अन्तिम स्पर्श गरेका
तिम्रो आत्माभन्दा माथि गएँ ।
कसरी सकिन्छ होला विधाता ?
आगोको तापले डढाउन त्यो रुख,
जसले आजीवन मेरा हितमा,
शीतल छहारी छाडेको थियो ।
एकाएक आफ्नो शरीर भिन्न देखेँ,
तिम्रो अनुपस्थिति साह्रै खड्कियो,
तिमी त आफ्ना कर्महरूका तापले,
मेरा शरीरभित्रका ऊर्जामा देखियौ ।
मेरा बा, शरीर पनि नमर्ने रहेछ,
म तिमी भएर बाँचिरहेको छु,
खरानी त एक जुक्ति मात्र रहेछ,
तर म तिम्रा सम्झना बगाउने छैन ।
थाहा छ, घाम झुल्किन्छ, रापिन्छ
र अन्त्यमा अस्ताउँछ ।
घामका हरेक बिम्बहरूले हरेक दिन,
मलाई तिमीजस्तै उज्यालो बनाएको छ ।