बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भाग्ने कोसिस गर्दा बन्धकमा परेकी दुबईकी राजकुमारी लतिफाको तस्बिर सार्वजनिक

आइतबार, ०९ जेठ २०७८, १० : ५०
आइतबार, ०९ जेठ २०७८

यस हप्ता दुई इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरिएका तस्बिरमा दुबईकी शासककी छोरी राजकुमारी लतिफा देखिएकी छिन् । राजकुमारी लतिफालाई पछिल्लो थुप्रै महिनादेखि न त देखिएको छ न नै उनीबारे केही जानकारी पाइएको छ ।

यसै वर्ष बीबीसी प्यानारोमाले राजकुमारी लतिफाको एउटा भिडियो प्रसारण गरेको थियो जसमा उनले आफूलाई बन्धक बनाएर राखिएको र उनको ज्यानलाई खतरा भएको बताएकी छिन् । यो भिडियो उनले लुकेर बनाएकी थिइन् ।

यस हप्ता सोसल मिडियामा पोस्ट गरिएका तस्बिरको सत्यता बीबीसीले पुष्टि नगर्ने बताएको छ र यसबारे बीबीसीले थप केही जानकारी नपाएको बताएको छ ।

तर राजकुमारी लतिफाकी एक मित्रले तस्बिरमा देखिएकी महिला राजकुमारी लतिफा नै भएको पुष्टि गरेकी छिन् ।

बीबीसीले राजकुमारी लतिफाको यी तस्बिर सार्वजनिक हुनु आकस्मिक वा दुर्घटनावश नभएको बताउँदै यसको नाता अज्ञात घटनासँग भएको धारणा व्यक्त गरेको छ ।

फ्रि लतिफा अभियानका सह–संस्थापक डेविड हेगले एक बयान जारी गर्दै भने, ‘हामी पुष्टि गर्न सक्छौं कि यो अभियानमा थुप्रै सकारात्मक र महत्वपूर्ण प्रगति भएका छन् । हामी यो मुद्दामा अहिले नै टिप्पणी गर्न सक्दैनौं तर उचित समय आएपछि हामी बयान जारी गर्नेछौं ।’

बीबीसीले लण्डनमा अवस्थित साउदी अरब इमिरेट्सका दूतावाससँग सम्पर्क गर्ने कोसिस गरेको तर यसबारे कुनै जवाफ पाउन नसकेको बताएको छ ।

संयुक्त राष्ट्रले यो ताजा तस्बिरको विषयमा कुनै प्रकारको टिप्पणी गर्न अस्वीकार गरेको छ र आफूहरु राजकुमारी लतिफा जीवित छिन् भन्नेबारे ठोस् प्रमाणको प्रतीक्षामा भएको बताएको छ । संयक्त राष्ट्रका अनुसार साउदी अरब इमिरेट्सले यसबारे जानकारी दिन आफूहरुलाई बचन दिएको छ ।

तस्बिरमा के देखियो ?

यो तस्बिरमा राजकुमारी लतिफा दुबईको एक सपिङ मल (मल अफ इमिरेट्स, एमओई) मा अन्य दुई महिलासँगै बसिरहेको देख्न सकिन्छ ।

राजकुमारी लतिफाकी साथीले बीबीसीसँगको कुराकानीमा आफूले तस्बिरमा देखिएका दुई महिलालाई चिन्ने र राजकुमारी लतिफासँग पनि उनी परिचित भएको बताएकी छिन् ।

यो तस्बिर इन्स्टाग्राममा अपलोड गरिएको थियो जसकारण यसको मेटाडेटा निकाल्न सकिँदैन । मेटाडेटामार्फत् तस्बिर खिचिएको सही समय र मितिका साथै सही लोकेशनबारे पनि पत्ता लाग्न सक्छ ।

यो तस्बिरलाई रिभर्स गरिएको छ । तस्बिरको पछाडि डेमन स्लेयरः मुगेन ट्रेन’ नामको एउटा फिल्मको विज्ञापन छ । यो फिल्म दुबईमा यसवर्ष मे १३ मा रिलिज भएको थियो ।

तस्बिरमा राजकुमारी लतिफसँग बसेका दुई महिलाको इन्स्टाग्राम अकाउन्टमा पनि यसै हप्ता बिहिबार यो तस्बिर अपलोड गरिएको थियो । यीमध्ये एकले तस्बिरको क्याप्सनमा लेखेकी छिन्, ‘साथीहरुसँग मल एमओईमा एक सुन्दर साँझ ।’

राजकुमारी लतिफाको स्वास्थ्य र तस्बिरबारे थप जानकारी प्राप्त गर्नका लागि बीबीसीले दुबै महिलासँग सम्पर्क गर्ने कोसिस गरेको तर दुबैले बीबीसीलाई कुनै जवाफ नदिएको बताइएको छ ।

ह्यूमन राइट्स वाच एड्भोकेसी ग्रपका केनेथ रोसले बीबीसीलाई भने, ‘यदि हामीले यो तस्बिर सक्कली हो भनेर मान्यौं भने राजकुमारी  लतिफा जीवित छिन् भन्ने प्रमाण भेटिएको छ तर यसले उनी बन्धकमा पारिएको र रिहा गरिएको भन्ने विषयमा कुनै जानकारी दिँदैन ।’

शाही परिवारले पनि हालसम्म यो तस्बिरमा कुनै कमेन्ट गरेको छैन । यसवर्ष फेब्रुअरीमा बीबीसीलाई बताइएको थियो कि, ‘राजकुमारी लतिफा घरमा छिन् र उनको हेरविचार गरिँदैछ ।’

यूएईले एक बयान जारी गर्दै भनेको थियो, ‘उनको स्वास्थ्यमा पूरा ध्यान दिइँदैछ र आशा छ कि उनी चाँडै नै आफ्नो सार्वजनिक जीवनमा फिर्ता हुनेछिन् ।’

राजकुमार लतिफा दुबईका शासक शेख मोहम्मद बिन राशिद अल कमतूमकी २५ सन्तानमध्ये एक हुन् । फेब्रअरी सन् २०१९ मा लतिफाले देशबाट भाग्ने कोसिस गरेकी थिइन् तर उनलाई भारतको समुद्र सीमामा पक्राउ गरिएको थियो ।

 


भाग्नु अघि उनले एउटा भिडियो रेकर्ड गरेकी थिइन् जसमा उनले भनेकी थिइन्, ‘मलाई ड्राइभ गर्न अनुमति छैन । मलाई यात्रा गर्न र दुबई छोड्न अनुमति छैन ।’

उनले भनेकी थिइन्, ‘म सन् २००० देखि देश बाहिर गएकी छैन । म यात्रा गर्न, पढ्न वा केही सामान्य गर्नका लागि अनुमति माग्दै आएकी छु । तर यसलाई सधैं खारेज गरियो । म निस्कन चाहन्छु ।’

तर देश छोड्ने उनको कोसिस विफल भयो । उनलाई भारतको समुद्र सीमा नजिकै कमान्डोजले पक्राउ गरे र उनलाई दुबई पठाइदिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप