शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

वैकल्पिक सरकार बन्ने अवस्थामा संसद् विघटन गर्नु दुःखद् : डा.कोइराला

शनिबार, ०८ जेठ २०७८, १६ : १६
शनिबार, ०८ जेठ २०७८

नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधिसभा विघटन गर्नु दुःखद् भएको बताएका छन् । महामन्त्री डा.कोइरालाले आज  विज्ञप्ति जारी गरी राष्ट्रपतिको आव्हानअनुसार नै वैकल्पिक सरकारको दावी गरिएका अवस्थामा संसद् विघटन गरेर नयाँ निर्वाचन मिति तोकिनु लोकतन्त्र र संविधान विपरीत भएको आरोप लगाए ।

निवर्तमान सांसद डा.कोइरालाले लोकतन्त्र र संविधान रक्षाका लागि एक जुट हुन सबैलाई आग्रहसमेत गरेका छन् । काँग्रेस नेत्री सुजाता कोइरालाले पनि मध्यरातमा संसद् विघटन हुनु संविधान र लोकतन्त्रमाथिको प्रहार भएको बताइन् । पूर्व उपप्रधानमन्त्री कोइरालाले आज विज्ञप्ति जारी गरी देश र जनता कोरोना महामारीको पीडाबाट छटपटाइरहेका अवस्थामा संसद् भङ्ग गरेर मध्यावधि चुनावको मिति तोक्नु दुर्भाग्यपूर्ण भएको बताएकी हुन् ।

निवर्तमान सांसद कोइरालाले कोरोना महामारीका समयमा निर्वाचन सम्भव नभएको जनाउँदै यसले देशलाई अस्थिरता र द्वन्द्वमा लैजाने बताइन् । कांग्रेसको  भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पनि मध्यरातमा प्रतिनिधिसभा विघटन गरिनु लोकतन्त्र र संविधानमाथि हमला भएको बताएको छ ।

 नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी  सिङ्गो मुलुक कोरोना कहरले आक्रान्त भएको र हजारौँ नागरिकले ज्यान गुमाइरहेका बेलामा जनताको आवाज उठाउने थलो संसद् विघटनबाट देशलाई अन्योल र अराजकतातर्फ धकेल्ने विचार व्यक्त गरेका छन् ।  नेविसङ्घका महामन्त्री दीपक भट्टराईले पनि कोरोना कहरको चपेटामा परेका नेपाली जनताको रक्षामा लाग्नुपर्ने सरकार संविधानको मर्म र भावनाविपरीत अगाडि बढेको आरोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप