मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरे : देउवा (विज्ञप्तिसहित)

‘नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या’
शनिबार, ०८ जेठ २०७८, २० : ००
शनिबार, ०८ जेठ २०७८

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेको गम्भीर आरोप लगाएका छन् ।  शनिबार देउवाले एक विज्ञप्ति जारी गर्दै नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या गर्ने काम भएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् । 

‘यो सरकार गठनपछि निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन, विधि र पद्धतिको वेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको छ’, देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेका छन् ।’ 

प्रधानमन्त्रीले आफूले विश्वासको मत लिन नसक्ने भनी सिफारिश गरे पश्चात  राष्ट्रपतिले छोटो समय दिई अर्को सरकार गठनको प्रक्रिया प्रारम्भ गरेपनि त्यसमा जालझेल भएको देउवाले बताएका छन् । ‘राष्ट्रपतिले गरेको आह्वानको आधारमा मैले प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमत सहित १४९ जना माननीय सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीका लागि दावी प्रस्तुत गरेँ । नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गर्नु भयो’, देउवाले विज्ञप्तिमा भनेका छन्, ‘बरु एक पटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका माननीय ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिने काम गरिन् ।’

देउवाले कांग्रेसले यी सबै कार्यको घोर भर्त्सना र निन्दा गर्ने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट भई कार्य गर्न आह्वान गरेका छन् । 

यस्तै संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायिक लडाई लड्ने दृढ प्रतिवद्धता पनि उनले गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप