बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको कहर : फ्रन्टलाइनर अधिकृत नै गुम्न थाले

शनिबार, ०८ जेठ २०७८, १२ : ०७
शनिबार, ०८ जेठ २०७८

कोभिड–१९ सङ्क्रमणको जोखिम नियन्त्रण गर्न नेपाल प्रहरीका जवान–अधिकृत फ्रन्ट लाइनमा खटिएका छन् । निषेधाज्ञा कार्यान्वयन गराउन, नेपाल–भारत सीमा नाकाबाट भित्रिनेहरूको व्यवस्थापन र कन्ट्याक्ट ट्रेसिङमा प्रहरीले महत्त्वपूर्ण भूमिका खेलेको छ ।

सरकारको निर्णय फिल्डमा कार्यान्वयन गर्न दिनरात खटिएका प्रहरीका अधिकृत सङ्क्रमणका कारण गुम्न थालेका छन् । बुधबार राति महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीको मृत्यु भयो । वैशाख २२ मा केसीलाई कोरोना भाइरस सङ्क्रमण भएको थियो ।

सङ्क्रमणपछि केही दिन होम आइसोलेसनमा बसेर उनी महाराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकले बताएअनुसार फोक्सोले ८० प्रतिशत काम गर्न छाडेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । तर उपचारको क्रममा उनले ज्यान गुमाए । उनी काठमाडौँस्थित मूलपानीका स्थानीयवासी हुन् । कोरोनाबाट ज्यान गुमाउने उनी प्रहरीका उच्च अधिकृत हुन् ।

४३ वर्षीय केसीलाई गुमाउँदा प्रहरीलाई अपूरणीय क्षति पुगेको बताउँछन् प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवर । ‘राजकुमार इन्टिग्रिटी भएका अफिसर थिए’ एसएसपी कुँवर भन्छन्– ‘उनको निधनले सङ्गठनलाई ठूलो क्षति पुग्यो ।’

वैशाख ३० मा महानगरीय अपराध महाशाखामा कार्यरत प्रसनी (असई) देवीबहादुर पुरीले सङ्क्रमणका कारण ज्यान गुमाए । सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थायी घर भएका पुरी महानगरीय अपराध महाशाखा अन्तर्गत पीसीसीबी ठिमीमा कार्यरत थिए । वैशाख १८ गतेदेखि उनी महाराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना भएका थिए ।

दोस्रो चरणको सङ्क्रमण सुरु भएपछि प्रहरीले आफ्ना ३ जना सुरक्षाकर्मी गुमाएको छ । दोस्रो सङ्क्रमणमा ज्यान गुमाउने एकजना गुल्मी घर भएका प्रहरी छन् ।

जोखिममा प्रहरी

कोभिड–१९ को पहिलो र दोस्रो सङ्क्रमणबाट नेपाल प्रहरीमा सेवा गरिरहेका ९ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीको मनोबल घट्ने भन्दै प्रहरी प्रधान कार्यालयले सङ्क्रमित र ज्यान गुमाउनेको तथ्याङ्क गोप्य राख्न थालेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार ज्यान गुमाउने प्रहरीमध्ये अधिकांश ४० देखि ४५ वर्ष उमेर समूहका छन् ।

निषेधाज्ञा कार्यान्वयन गराउनका लागि सवारी चेकजाँचमा खटिएका र अपराध न्यूनीकरणको सिलसिलामा पक्राउ गर्न जाने र म्याद थप्न जाने प्रहरी बढी जोखिममा छन् । निषेधाज्ञा उल्लङ्घन गर्नेहरूलाई होल्ड गरेर कक्षा लिने तथा सडकमा निस्कनेहरूलाई घरभित्र पठाउन खटिएका प्रहरी पनि जोखिममा छन् ।

नेपाल–भारत सिमानामा खटिएका प्रहरी सबैभन्दा धेरै जोखिममा छन् । किनभने भारतबाट फर्कने क्रम रोकिएको छैन, रोकिँदैन । भारतमा सङ्क्रमणको दर उच्च भएको हुनाले त्यहाँबाट आउनेहरू सङ्क्रमित भएर आउने सम्भावना उच्च हुन्छ ।

फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीलाई भत्ता दिने निर्णय भए पनि अहिलेसम्म भत्ता नपाएको प्रहरी अधिकारीहरूको गुनासो छ । स्वास्थ्य सामग्रीको अभावका बीच सडकमा खटिएका प्रहरीलाई जोखिमबाट जोगाउने दायित्व प्रहरीको नेतृत्वको काँधमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप