आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

महाकालीको बाढीमा फसेका १० मजदुरको उद्धार

शुक्रबार, ०७ जेठ २०७८, १९ : ५६
शुक्रबार, ०७ जेठ २०७८

कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलमा कार्यरत १० मजदुरको शुक्रबार दिउँसो उद्धार गरिएको छ । पुलसँगै महाकाली नदीमा बनिरहेको टापुमा मजदुरका रूपमा काम गरिरहेका ती मजदुर बिहीबार रातिदेखि आएको बाढीका कारण फसेका थिए ।
 
यहाँको श्री दल गुल्म भगतपुर ब्यारेक, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले टापुमा बसेका तिनीहरूको सकुशल उद्धार गरेको हो । त्यसैगरी महाकाली नदीमा आएको बाढीले पुलसँगै निर्माणाधीन पहुँच मार्ग (६ लेनको सडक) निर्माणका लागि स्थापना गरिएको कालोपत्रे प्लान्टलगायतका सवारीसाधनलाई क्षति पुर्याएको छ ।

भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष लालबहादुर शाहीले पुलका कामदारको बिहीबार मध्यरातमा समेत उद्धार गरिएको बताए । “अझै कति मेसिन नदीले बगायो यकिन भएको छैन”, उनले भने, “नदीमा पानीको बहाव घट्ने क्रममा छ ।”

उनले वडा नं  १३ मा सेनाले कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्दै आएको स्थलमा समेत बाढी पसेकाले दाहसंस्कारमा समस्या भएको बताए । स्थानीय प्रशासनले शव व्यवस्थापनका लागि वैकल्पिक व्यवस्था गर्न त्यहाँ स्थलगत निरीक्षण गरेको छ ।

करेन्ट लागेर मृत्यु

भीमदत्त–१८ सालघारीका २४ वर्षीया सरस्वती धामीको शुक्रबार कपडा सुकाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । तीन दिनअघि माइत भीमदत्त–१९ खयर भट्टी गएका बेला कपडा सुकाउने क्रममा करेन्ट लागेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

“करेन्ट लागेर घाइते भएकी धामीको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भयो”, प्रवक्ता थापाले भने, “त्यही बेला करेन्ट लागेर घाइते भएका ५० वर्षीय गङ्गादेवी धामीको महाकाली अस्पतालमा उपचार हुँदैछ ।” प्रहरीका अनुसार गङ्गादेवी मृतक सरस्वतीकी आमा हुन् । प्रवक्ता थापाले घटनाको गहन अनुसन्धान भइरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप