बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको कुन दाबी सही ? राति अल्पमत, दिउँसो बहुमत !

बाबुराम भट्टराईलाई पनि ओलीले आफ्नै पक्षमा देखाए
शुक्रबार, ०७ जेठ २०७८, १९ : ४१
शुक्रबार, ०७ जेठ २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राति एउटा, दिउँसो अर्कै कुरा गर्न थालेका छन् । उनीमाथि प्रश्न उठेको छ– जनताले प्रधानमन्त्रीको कुनचाहिँ कुरो पत्याउने ? रातिको कि दिउँसोको ?

प्रधानमन्त्री ओलीले कतिसम्म झेली कुरो गरेका छन् भने शुक्रबार शीतलनिवासमा १५३ सांसदसहितको दाबी पेश गरिएको भनिएकोमा त्यसभित्र आफ्ना घोर आलोचक डा. बाबुरामलाई पनि समावेश गरिएको छ । अर्थात् डा. बाबुराम भट्टराई र उपेन्द्र यादवकोे समेत समर्थन आफूलाई रहेको ओलीको दाबी छ ।  

बहुमत पाउन सकिएन भन्दै ह्याण्डस अप !

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बिहीबार साँझ ‘आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाउने दह्रो आधार नदेखिएको’ र ‘बैशाख २७ कै अवस्था विद्यमान रहेको’ भन्दै नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष ‘सिफारिस’ गरे  ।

आफूले बहुमत प्राप्त गर्न नसकेकाले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको ओलीको तर्क छ ।

शुक्रबार बिहानसम्म पनि ओली आफ्नो हैसियत बैशाख २७ को भन्दा फरक नभएकाले विश्वासको मत नलिई सीधै संविधानको धारा ५ जान बाध्य भएको बताइरहेका थिए । दिउँसो बालुवाटारमा सम्पादकहरूसँग प्रस्तुत भएका ओलीले त्यहाँ पनि आफूसँग बहुमत नरहेकाले ‘ह्याण्ड्स अप’ गरेको बताए ।

  प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने भन्दै हात उठाएपछि राष्ट्रपतिले त्यही आधारमा टेकेर विहीबार राति संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री बन्ने आधार पेश गर्न आह्वान गरिन् । ओलीसँग बहुमत भएको भए उनी विश्वासको मत लिनतिर लाग्ने थिए, यसरी हात उठाएर ‘ह्याण्ड्स अप’ भन्ने नै थिएनन् ।

ओलीले विहीबार बहुमत जुटाउन सकिएन भनेकै आधारमा उनको विकल्पमा विपक्षी गठबन्धनले काँग्रेस सभापति शेरबहादुर देउवालाई अघि सार्दै शुक्रबार राष्ट्रपतिसमक्ष १४९ जना सांसदको हस्ताक्षरसहित आधार पेश गरेको हो ।

कुदेर फेरि शीतलनिवास !

अचम्म त के छ भने, अघिल्लो दिन बहुमत छैन भनेका प्रधानमन्त्री ओली शुक्रबार शेरबहादुर देउवा बहुमत सांसदको हस्ताक्षर लिएर शीतलनिवास पुग्नुभन्दा अघि नै आफूसित १५३ सांसदको बहुमत छ भन्दै आफैं शीतलनिवास पुगिसकेका थिए ।

अघिल्लो साँझमात्रै आफूसँग बहुमत पुर्याउन सक्ने अवस्था नरहेको बताएका ओलीले भोलिपल्टै पुनः बहुमत सांसद आफूसँगै छन् भनेका छन् ।

आखिर ओलीको कुन चाहिँ कुरो पत्याउने ? विहीबार रातिको या शुक्रबार दिउँसोको ?


हस्ताक्षरबिनै बहुमतको दाबी

प्रधानमन्त्री ओलीले आफूसँग १५३ सांसद रहेको भन्दै शीतलनिवासमा दाबी पेश गरेको बताइए पनि त्यो दाबी नै हावादारी रहेको पाइएको छ । ओलीले १५३ जना सांसदहरुको हस्ताक्षर शीतल निवासमा बुझाएका छैनन् । उनले जसपाका बाबुराम भट्टराई र उपेन्द्र यादवसमेत आफ्नो पक्षमा रहेको तर्क गर्दै पत्र बुझाएका छन् ।

बहुमतको भरपर्दो आधारै पेश नगरी पार्टीको तर्फबाट पत्रमात्रै दर्ता गरेर ओलीले दाबी गरेको शीतलनिवासका एक कर्मचारीले रातोपाटीलाई बताए ।

स्वयं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि ट्विटमा यो कुरा स्वीकार गरेका छन् । रिमालले पत्रका आधारमा दाबी गरिएको उल्लेख गर्दै भनेका छन्, ‘नेकपा (एमाले) का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदको लागि दाबी गर्नुभएको छ ।’

सबैलाई थाहा भएकै कुरा हो, जसपाका ३२ सांसद भनेका बाबुराम भट्टराई र उपेन्द्र यादवसमेत हुन् । विष्णु रिमालको भनाइलाई आधार मान्ने हो भने ओलीले डा. भट्टराई र यादवलाई पनि आफ्नै पक्षका सांसदका रुपमा प्रस्तुत गरेका छन्, जुन जालसाजीपूर्ण र हास्यास्पद देखिन्छ ।

शीतलनिवासमा दर्ता भएको भनिएको प्रधानमन्त्री ओलीको पत्रमा पत्रमा १५३ सांसदको हस्ताक्षर छैन । प्रधानमन्त्रीका सल्लाहकार रिमाल लेख्छन्, ‘दाबी पत्रमा जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको छ ।’

एमालेका माधव पक्षका २७ र जसपाका १६ सांसदले संसदमा ओलीलाई मत नदिएको सबैलाई थाहा भएको कुरो हो । अहिले उनीहरुले देउवाको पक्षमा हस्ताक्षर गरिसकेको देख्दादेख्दै ओेलीले तिनै विपक्षी सांसदहरुलाई समेत देखाएर प्रधानमन्त्रीमा दाबी गर्नुले उनको नैतिकतामाथि पनि प्रश्न उठेको छ ।

बहुमतको आँकडामा पुग्न चमत्कारिक सफलता कसरी मिल्यो ?

प्रधानमन्त्री ओलीले शुक्रबार सञ्चारकर्मीमाझ प्रतिनिधिसभामा आफूले बहुमत जुटाउन नसक्ने निश्चित रहेका कारण संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत सरकार गठनका लागि मार्गप्रशस्त गरिदिएको बताए । तर, त्यसको एक घण्टा पनि नबित्दै राष्ट्रपतिसमक्ष उनले १५३ समर्थन रहेको दावीसहित नयाँ सरकार गठनका लागि प्रस्ताव पेश गरे ।

प्रधानमन्त्री ओलीले पत्रकारहरुसँग जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता रहेको र आफूले विश्वासको मत पाउने अवस्था नरहेको पनि प्रस्ट्याएका थिए । यही आधारमा नयाँ सरकारलाई नीति तथा कार्यक्रम ल्याउन सहज होस्, बजेट समयमै आओस् भनेर मार्गप्रशस्त गरिदिएको उनको भनाइ थियो ।

आफ्नो छवि उदार रहेको प्रष्टीकरणस्वरुप उनले यतिमात्र भनेनन्, दलहरुलाई बहुमत जुटाएर सरकार गठनका लागि आग्रह नै गरे । आफूहरु शान्त रहेर सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको उनले बताए ।

तर, लगत्तै उनी अर्कै भूमिकामा देखिए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको समर्थन जुटाएर सम्बन्धित दलका नेताहरुसमेत साथ लिएर शीतल निवास पुग्दानपुग्दै ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार बनाउन दावी गरिसकेका थिए ।

यतिमात्र होइन, पत्रकार सम्मेलनमा उनले आफ्नै पार्टीका खनाल–माधव पक्षले विश्वासको मत लिने क्रममा सहयोग नगरेर अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको आरोप पनि लगाएका थिए । उनीहरुले संसदीय मूल्य र मान्यतालाई कुल्चिएर, पार्टी अनुशासनलाई उल्लंघन गरेर आफ्नै दलको सरकार ढाल्न भूमिका निर्वाह गरेको ओलीको भनाइ थियो । तर केहीबेरपछि शीतल निवासमा पुगेका ओलीले उनै सांसदहरुको समेत समर्थन गणना गर्दै आफ्नो पक्षमा १५३ सांसदको सूची पेश गरेका थिए ।

ओलीले मात्र होइन, काँग्रेस नेता देउवाले समेत शुक्रबार बहुमतको आँकडा चमत्कारिक ढंगबाट पार गरेका छन् । केही दिनअघि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्दा बहुमत जुटाउन नसकेका देउवाले शुक्रबार आफ्नो पक्षमा १४९ सांसदको समर्थन देखाए । जबकि, ओलीको विपक्षमा प्रतिनिधिसभाको यो अंकगणित निकै अघिदेखि प्रस्ट देखिन्थ्यो ।

एमालेभित्रको खनाल–नेपाल पक्ष र जसपाको उपेन्द्र–बाबुराम पक्षले खुलेरै ओलीको विरोध गर्दै आएको थियो । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अन्तर्गतको सरकार गठनका लागि आह्वान गर्दा यो गठबन्धनले यसरी नै सरकार बनाउने दावी पेश गर्न किन सकेन ? प्रश्न अनुत्तरित नै छ । तर ओली इतर गठबन्धनको यही कमजोरीको फाइदा उठाएर राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम पुनः ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गरिन् । जबकि, तीन दिनअघि मात्र ओली प्रतिनिधिसभामा विश्वासको मत लिन असफल भएका थिए । उपधारा ३ बमोजिम उनलाई प्रधानमन्त्री नियुक्त गर्दा ३० दिनभित्र कसरी विश्वासको मत हासिल गर्न सक्लान् भन्ने प्रश्न उतिबेलै उठिसकेको थियो ।

संविधानको धारा ७६ को ५ बमोजिम सरकार गठनका लागि दुवै पक्षबाट पेश भएका दावीमा केही सांसदको हस्ताक्षर दुवै पक्षले संलग्न गरेको प्रस्ट छ । तर, संविधानको धारा ७६ को उपधारा २ अन्तर्गतको प्रधानमन्त्रीका रुपमा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसकेको, उपधारा ३ अन्तर्गत नियुक्त भएको अवस्थामा समेत विश्वासको मत लिन नसक्ने स्वीकार गर्दै उपधारा ५ का लागि ‘मार्गप्रशस्त’ गरेको अवस्थामा फेरि पनि उनैलाई प्रधानमन्त्री बन्ने सुविधा प्रदान गर्नु कति न्यायोचित र विवेकपूर्ण निर्णय हुन्छ भन्नेबारे मनन् गर्न वाञ्छनीय देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप