कोरोना प्रभाव: बुद्ध जयन्तीमा सुनसान हुँदै लुम्बिनी
निरा गौतम
हरेक वर्ष बुद्ध जयन्ती नजिकिँदै जाँदा लुम्बिनीमा विशेष चहलपहल हुन्थ्यो । लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थलमा विशेष कार्यक्रम गर्न दुई महिना अगाडी देखि नै उपसमिति बनाएर तयारी शुरु गथ्र्यो । बौद्ध उपासक उपासिका, भिक्षु भिक्षुणी पनि उत्साहित हुन्थे ।
बुद्ध जयन्ती मनाउन कोष क्षेत्रभित्रका बौद्ध गुम्बा तथा बिहार सजाएर आकर्षक बनाइन्थ्यो । आन्तरिक तथा बाह्य पर्यटकले यो पवित्र दिनमा लुम्बिनी घुम्न जाने योजना बनाउँथे । विभिन्न देशका प्रमुख तथा प्रतिनिधिहरू बुद्ध जयन्ती समारोहमा सरिक हुन लुम्बिनी आउँथे ।
लुम्बिनीका व्यवसायीमा छुट्टै खालको उत्साह हुन्थ्यो । बुद्ध जयन्तीमा लुम्बिनी आउने पाहुनालाई स्वागत गर्न आ–आफ्ना व्यवसाय सजाएर चिटिक्क पार्थे र श्रद्धालुलाई स्वागतका लागि तम्तयार भएर बस्थे । स्थानीय युवाहरु पनि आफ्नो संस्कृति झल्कने प्रस्तुतिका लागि पूर्व तयारी गर्थे तर, अहिले त्यस्तो छैन । कोरोना भाइरस महामारीका कारण लुम्बिनी सुनसान छ ।
गत वर्ष पहिलो चरणको कोरोना भाइरस महामारी कम भएपछि केही दिन खुलेको बुद्ध जन्मस्थल दोस्रो चरणको महामारी शुरु भएपछि फेरी बन्द छ । मायादेवी मन्दिरसहित विकास कोष भित्रका बिहारहरु पनि बन्द छन् । कोष बाहिरका होटल तथा व्यवसाय पनि बन्द छन् ।
कोरोना सङ्क्रमणले गर्दा बुद्ध जयन्ती नजिकिए पनि विकास कोषका पदाधिकारी र कर्मचारीमा कुनै उत्साह छैन । पर्यटन व्यवसायी तथा स्थानीय पनि खुसी छैनन् । कोरोनाकै कारण गत वर्ष पनि बुद्ध जयन्ती मनाइएको थिएन । कोरोनाले गर्दा यस पटक पनि बुद्ध जयन्ती खल्लो हुने भएको छ ।
यसपटक बुद्ध जयन्तीमा लुम्बिनीस्थित विहार, र गुम्बाका भिक्षु भिक्षुणी, लामा गुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा सामान्य पूजाआजा र दीप प्रज्वलन गर्ने योजना विकास कोषले बनाएको छ । कोरोनाका कारण अन्तरराष्ट्रिय जगत नै शोकमा भएका कारण बुद्ध जयन्तीमा विशेष कार्यक्रम गर्ने अवस्था नभएकाले दीप प्रज्वलन र वृक्षरोपण गर्ने योजना बनाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयको भनाइ छ ।
“बाहिरबाट भिडभाड हुँदैन, मायादेवी मन्दिरमा शान्ति प्रार्थना हुन्छ । कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाहरुको चिर शान्तिको कामना गर्दै प्रार्थना गर्छौ र त्यसलाई टेलिभिजनबाट प्रत्यक्ष प्रसारण र भर्चुअल माध्यमबाट जोड्ने काम हुनेछ ।” उपाध्यक्ष मेत्तेयले भने । सोही क्रममा विभिन्न देशका प्रमुख तथा प्रतिनिधिले पठाएका सन्देश वाचन गरिने उनले बताए ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरी पूजा र प्रार्थना गरिने विकास कोषका सदस्य सचिव सानुराजा शाक्य बताउँछन् । “जताततै कोरोना महामारीको त्रास छ । यस्तो अवस्थामा कार्यक्रम गर्ने कुरा भएन, कोष भित्रका भिक्षु भिक्षुणी, गुरु आमाको सहभागितामा सामान्य पूजाआजाको योजना बनाएका हौैँ”, सदस्य सचिव शाक्यले भने, “अर्को वर्ष परिस्थिति सामान्य भए विशेष कार्यक्रम हुने छ ।” शान्तिका अनुयायी बुद्धको जन्मदिनमा जन्मस्थलमै पूजाआजा नगर्दा नराम्रो सन्देश जाने भएकाले कोषले यस्तो योजना बनाएको जनाएको छ । बुद्ध जयन्तीमा साँझ मायादेवी मन्दिर परिसरमा रहेको पुष्करणी पोखरी परिसरमा २५६५ औँ दीप प्रज्वलन गरिने छ ।
विश्व जगतमा शान्तिका अग्रदूत र एशियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ ।
बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिनुभयो जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छन् । सम्राट अशोकले ईपू २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको एक शताब्दी पूरा भइसकेको छ ।
‘संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ’ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धको जन्मजयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमाका दिन विश्वभर मनाइन्छ । यसपटक यही जेठ १२ गते २५६५ औँ बुद्ध जयन्ती मनाइँदै छ ।
विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गरेको भिक्षु सागर धम्म बताउँछन् ।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा जन्मिभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार त्याागेर ज्ञानको खोजीमा लागेका थिए । ६ वर्ष ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्तिपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलो पटक पाँच शिष्यलाई प्रवचन दिएका थिए, जसलाई ‘धर्मचक्र प्रवर्तन’ भनिन्छ ।
बुद्धले चार आर्य सत्य, आर्य अष्टाङ्गिक मार्ग, प्रतीत्यसमुत्पाद र पञ्चशीलको उपदेश दिएका छन् । चार आर्य सत्यमा, संसार दुःखमय छ, दुःखको कारण छ, दुखःको नाश सम्भव छ र दुःख नाशका उपायबारे बुद्ध दर्शनमा व्याख्या गरिएको छ । “बुद्ध शिक्षाको प्रमुख आधार दुःख र दुःख मुक्ति हो, यही चार आर्य सत्य नै बुद्धका मूल उपदेशहरु हुन्,” भिक्षु धम्मले भने ।
आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्छन् । बौद्ध दर्शनको आधारशीला प्रतीत्यसमुत्पाद हो । हेतुफलवादका अनुसार कुनै पनि कार्य हुनका लागि कारण चाहिन्छ । यस सिद्धान्त अनुरुप नै मानिसको जन्म मरणको चक्र चलिरहन्छ जसलाई प्रतीत्यसमुत्पाद चक्र भनिन्छ ।
यस चक्रमा अविद्या (अज्ञानता), संस्कार, विज्ञान (चेतना), नामरुप (मन र शरिर), षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान, भव (अस्तित्व), जाती (जन्म) र जरामरण पर्दछन् । यी कडीहरु मिलेर बनेको चक्र चलिरहँदासम्म मानव जीवनले दुःखबाट मुक्ति पाउन सक्दैन । दुःख मुक्तिका लागि यस चक्रलाई नै रोक्नु जरुरी हुन्छ ।
यस्तै बौद्ध दर्शन अनिश्वरवाद, अनात्मवाद र क्षणिकवाद गरी मुख्य तीन सिद्धान्तमा आधारित रहेको मानिन्छ । बुद्धले दिएका उपदेशहरूलाई सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक गरी तीन ग्रन्थमा विभाजन गरिएको छ ।
सुत्तपिटक बौद्ध भिक्षुको पहिलो संगिती (सम्मेलन) बाट बुद्धको निर्वाणकालमा नै बुद्धका शिष्य भिक्षु आनन्दद्वारा तयार गरिएको यस पिटकमा बुद्धका उपदेशहरु रहेका छन् । विनयपिटकमा भिक्षुभिक्षुणरुका लागि बनाइएका नियम छन् भने अभिधम्मपिटकमा दार्शनिक विचारहरुको संग्रह गरिएको छ ।
विसं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्ध जयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना