शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गाजा पट्टीमा युद्धविराम, खुसियालीमा प्यालेस्टिनीहरु सडकमा

शुक्रबार, ०७ जेठ २०७८, १४ : ४७
शुक्रबार, ०७ जेठ २०७८

गाजा सिटी । प्यालेस्टाइनीको बसोबास रहेको गाजा पट्टीमा ११ दिनदेखि जारी आक्रामक कारबाही रोक्न इजरायल सरकार र गाँजाको विद्रोही संगठन हमासबीच बिहीबार युद्धविराम भएको छ ।  दुई पक्ष बीचको युद्धविराम बिहीबार राति २ बजेदेखि लागू भएको थियो । युद्धबिरामको घोषणासँगै प्यालेस्टाइनी नागरिक खुशीले मध्यरातमै गाजाका सडकमा निस्किएका थिए । 

गाजा पट्टीमा सक्रिय हमास समूहका लडाकू विरुद्ध आक्रामक कारबाही गरेको इजरायलले संयुक्तराज्य अमेरिका समेत अन्तर्राष्ट्रिय समुदायको बारम्बारको अनुरोधलाई स्वीकार्दै युद्धविराम गरेको हो ।  हमास समूहको शक्तिलाई निस्तेज नपर्दासम्म जारी आक्रमण नरोक्ने भन्दै इजरायली सेनालाई प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले निर्देशन दिइरहेका थिए ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट कम्तीमा २३० जनाको मृत्यु भएको छ जसमा ६५ जना बालबालिका र ३९ जना महिला छन् । आक्रमणबाट एक हजार ७१० जनाभन्दा बढी घाइते भएका छन् । हमास र इस्लामिक जिहादले आफ्ना कम्तीमा २० जना लडाकू मारिएको जनाएका छन् तर इजरायलले १३० जना हमास लडाकू मारिएको दाबी गरेको छ । 

इजरायली आक्रमणको त्रासका कारण झण्डै ५८ हजार प्यालेस्टाइनी विस्थापित भएका छन् ।  इजरायलतर्फ पाँच वर्षका एक बालक सहित १२ जनाको मृत्यु भएको छ ।  इजरायली आक्रमणबाट कम्तमिा १८ वटा अस्पताल र क्लिनिकमा क्षति पुगेको छ भने एउटा स्वास्थ्य संस्था क्षतिग्रस्त भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

पछिल्लो युद्ध शुरु भएयता गाजामा सरकार चलाइरहेको हमासका लडाकूले इजरायलमाथि हजारौं क्षेप्यास्त्र प्रहार गरेका थिए । 

अमेरिकी राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नेतन्याहूलाई एक हप्ताको अन्तरालमा चार पटक फोन गरी युद्धविराम गर्ने गरी आफ्ना आक्रामक कारबाही स्थगन गर्न आग्रह गरेका थिए । आर्थिक रुपमा जर्जर एवं इजरायली नाकाबन्दीका कारण जनजीवन कष्टप्रद रहेको गाजा पट्टीमा पछिल्लो युद्धका कारण मानवीय र भौतिक क्षति बढ्दै गएपछि बाइडेन प्रशासनमाथि युद्धविराम गराउन चौतर्फी दबाब बढेको थियो । 

इजरायल र हमासबीचको पछिल्लो युद्ध गत मे १० तारिखदेखि शुरु भएको हो । पूर्वी जेरुसेलमस्थित अल अक्सा मस्जिद परिसरमा प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच निकै दिनदेखि जारी भिडन्त पश्चात हमास लडाकूले जेरुसेलमलाई लक्षित गरी लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले हमास विरुद्ध कारबाही थालेको थियो । 

अल अक्सा मस्जिद परिसरमा प्रहरीको दमनका साथै यहूदीहरुले दर्जनौं प्यालेस्टाइनी परिवारलाई विस्थापित गर्न खोजेपछि परिस्थिति अझ जटिल बनेको थियो । 

त्यसयता, इजरायलले सयौं हवाई हमला गरिसकेको छ । इजरायलको भनाईमा यी आक्रमणहरु हमासका सबै किसिमका पूर्वाधार ध्वस्त बनाउन केन्द्रित रहेको छ । हमासले पनि चार हजारभन्दा बढी क्षेप्यास्त्रहरु इजरायलतर्फ प्रहार गरेको जनाएको छ ।  

सन् २०१४ यताको सबैभन्दा डरलाग्दो हमला मानिएको यस पटकको युद्धलाई लिएर विश्वका विभिन्न स्थानमा इजरायल विरुद्ध प्रदर्शनहरु भएका थिए । यद्यपी पछिल्लो युद्धबिराम चाँडै गरेको भन्दै इजरायली दक्षिणपन्थीहरुले प्रधानमन्त्री नेतन्याहुको आलोचना गर्न थालेका छन् ।

गाजामा हमासका प्रवक्ता अब्देलतिफ अल–कानोले इजरायलले गरेको युद्धबिरामको घोषणालाई “पराजयको घोषणा” भनेका छन् । तैपनि उनले सम्झौतालाई आफूहरुले सम्मान गर्ने बताएका छन् । प्यालेस्टाइनी जनताले भोग्नु परेको समस्यामा संयुक्तराज्य अमेरिकाको बाइडेन प्रशासनले आर्थिक सहायता गर्ने घोषणा पनि गरेको छ । –एपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप