शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव लगाउनुपर्ने काँग्रेसको निष्कर्ष, चार दलका चार नेताबीच ‘निर्णायक’ छलफल हुने

शुक्रबार, ०७ जेठ २०७८, ११ : २४
शुक्रबार, ०७ जेठ २०७८

नेपाली काँग्रेसले राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । 

राष्ट्रपति र प्रधानमन्त्रीबाट एकपछि अर्को गैरसंवैधानिक कार्य भएको भन्दै काँग्रेसले यस्तो निष्कर्ष निकालेको छ । 

शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले सो निष्कर्ष निकालेको सहायक महामन्त्री सुनील थापाले रातोपाटीलाई बताए ।
 
बैठकमा सभापति शेरबहादुर देउवाले सरकारको असंवैधानिक कदमविरुद्ध एकजुट भएर लाग्नुपर्ने भन्दै यसबारे अन्य दलसँग पनि छलफल गरिने बैठकमा ब्रिफिङ गरेका थिए । 

देउवाले आजै मध्यान्ह १२ बजे चार दलका चार नेताबीच छलफल हुन लागेको जानकारी गराएको थापाले बताए । उनका अनुसार काँग्रेससहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका नेता माधव कुमार नेपाल र जसपाका उपेन्द्र यादवसहितको बैठक बस्दैछ । सो बैठकले निकाल्ने निष्कर्षका आधारमा अघि बढिने उनको भनाइ । 

काँग्रेस भने तत्काल सबै दल मिलेर राष्ट्रपतिलाई महाभियोग लगाइनुपर्ने र सँगसँगै संसद सचिवालयमा ओलीमाथि अविश्वास प्रस्ताव ल्याइनुपर्ने पक्षमा रहेको छ । 

काँग्रेसले सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको ठहर समेत गरेको छ । पार्टी पदाधिकारी लगायतको बैठकले सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको ठहर गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । 

बैठकले राष्ट्रपतिले नयाँ सरकार गठनका लागि गरेको आह्‍वानलाई असंवैधानिक भएको ठहर गर्दै यसमा कसरी अघि बढ्ने भन्नेमा अरु दलसँग छलफल गरेर थप निर्णय लिइने उनले बताए ।

‘ओली सरकारबाट संविधानको मर्म र भावनामाथि प्रहार गर्ने कोशिस भएको छ।  त्यसलाई हामी सफल हुन दिँदैनौँ’, उनले भने, ‘अब कुन बाटो तय गर्दा  ठीक हुन्छ अरु दलसँग पनि छलफल गरेर अघि बढ्छौँ । 
अहिले आवश्यकता ओली प्रवृत्तिलाई रोक्ने भएकाले महाभियोगसहितका सबै विकल्पमा छलफल गरेर निष्कर्षमा पुगिने उनको भनाइ छ ।

७६ (३) अनुसार चयन भएका प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने अवस्था नभए राजीनामा दिनुपर्ने काँग्रेसको भनाइ छ । त्यसपछि मात्रै अर्को सरकार बनाउने प्रक्रिया अघि बढाइनु पर्ने काँग्रेसको भनाइ छ ।

राष्ट्रपतिले ओलीले राजीनामा वा विश्वासको मत नलिइ नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेपछि काँग्रेसलगायतका विपक्षी दलले यो कदमलाई असंवैधानिक भएको दावी गर्दै चर्को विरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप