बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा कोराना संक्रमण र मृत्युदर बढ्दै, सबैभन्दा बढी युवापुस्ता संक्रमित

पछिल्लो ५४ दिनमा २४९ को मृत्यु
बिहीबार, ०६ जेठ २०७८, १८ : २९
बिहीबार, ०६ जेठ २०७८

कोरोना महामारीको दोस्रो लहरसँगै प्रदेश १ मा यसबाट संक्रमित हुने र मृत्युदर समेत दिनानुदिन बढिरहेको तथ्यांकले देखाएको छ । प्रदेशमा संक्रमितको हुनेको संख्या एकै १ हजार २९८ सम्म पुगेको छ भने संक्रमित दर बढेसँगै मृत्यु हुनेको संख्या समेत १२ घण्टाको अवधिमा २१ जनासम्म पुगेका छ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो एक सातादेखि प्रदेशमा दिनहुँ संक्रमण हुनेक्रम उच्च भएको छ । 
सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको ‘कोभिड–१९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समिति’को सचिवालय संयोजक डा रविन्द्र निरौलाका अनुसार प्रदेशमा दैनिक २७ सयमाथि पीसीआर परीक्षण हुँदै आएको छ । जसमा कुल परीक्षणको ५० दशमलव २२ प्रतिशतमा कोराना संक्रमण देखिने गरेको छ । 

‘मुलुकभर नै कोरोना संक्रमणको दर र  मृत्युदर दिनहुँ उच्च गतिमा बढिरहेको छ’, संयोजक निरौलाले भने, ‘प्रदेश १ पनि अछुतो छैन ।’ यो प्रदेशमा पनि पछिल्लो दिनमा तीब्र रुपमा संक्रमण बढ्ने क्रमसँगै कोरोनाका कारण मृत्यु हुनेको दरपनि उच्च बन्दै गएको उनले बताए ।

मन्त्रालयका अनुसार प्रदेशमा पछिल्लो सातादेखि दैनिक १२ सयमाथि संक्रमित हुने हुने गरेका छन् । त्यसमा दिनहुँ १२ जना भन्दामाथिको संख्यामा मानिसको मृत्यु हुने गरेको छ ।
प्रदेशमा बिहीबार अहिलेसम्मकै उच्च २१ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। त्यसको दुई दिन अघि  सोमबार १८ जनाको कोरोना संक्रमण कारण मृत्यु भएको थियो । गएको वैशाख २९ गते ८ महिला र ९ पुरुष गरी १७ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार प्रदेशमा अहिले सक्रिय संकमितको संख्या १६ हजार २९५ रहेको छ। जसमा प्रदेशका १० वटा कोभिड अस्पतालको भेन्टिलेटरमा ४० जना आइसियुमा १ सय ४५ जना उपचाररत छन् । 
अन्य संक्रमित १ हजार ५९० मध्ये १४ हजार ८३४ होमआइसोलेसन र ८४ जना संस्थागत आइसोलेसनमा रहेका छन्। दोश्रो कोरोना कालको लहरमा निको भएर घर फर्कनेको संख्या अति न्यून ५३ जना मात्र रहेका छन् ।

पछिल्लो ५४ दिनमा २ सय ४९ को मुत्यु 
प्रदेश १ मा कोरोनाको दोश्रो लहर शुरु भएयताका अवधिमा संक्रमणबाट  २ सय ४९ जनाको मृत्यु भएको छ ।
समितिको अभिलेख अनुसार पहिलो कोरोना लहरको ९ महिनाको अवधिमा प्रदेशमा जम्मा ४ सय ६६ जनाको मृत्यु भएको थियो । बाँकी ५४ दिनमा  थप २ सय ४९ जनाको संक्रमणबाट मृत्यु भएको हो । ९ महिनाको सो अवधि भन्दा करिब २ महिनाको नजिकमा आधा बढी मानिसको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ । यो अझ बढ्ने क्रममा रहेको छ।

मन्त्रालयका जनस्वास्थ्य अधिकृत ओम कुमारी राजवंशीले पछिल्लो ५४ दिनको अवधिमा दैनिक सरदर कम्तिमा पाँच जनाको कोराना संक्रमणबाट मृत्यु भएको देखिएको बताइन् ।
उनले करिब ९ महिनाको अघिल्लो कोरानाकालको अवधिमा जति मानिसको मृत्यु भएको थियो त्यो भन्दा पछिल्लो कोरोनाकालको करिब दुई महिनाको अवधिमा मृत्यु हुनेको संख्या आधा रहेकाले पनि संक्रमणको दरसँगै त्यसबाट मृत्यु हुने  क्रमपनि उच्च रहेको बताइन् । 

यो क्रम अझै बढिरहेको पनि उनको भनाइ छ। प्रदेशमा ३० देखि ६० वर्षको उमेर समूहका व्यक्तिले कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या धेरै छ ।
प्रदेश १ मा कोरानाको दोश्रो लहर शुरु भएपछि १२ चैतमा झापा कन्काईकी एक महिलाको कोराना संक्रमणको कारण मृत्यु भएको थियो । कोरोनाको कारण मृत्यु भएको पहिलो नै सो केस रहेको थियो । कोरोनाका कारण प्रदेशमा अहिलेसम्म कुल ७०५ जनाको मृत्यु भइसकेको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ४७ हजार ८६८ पुगेको छ । संक्रमित भएका मध्ये ३१ हजार ५७३ संक्रमणमुक्त भएका छन् ।

युवा बढी संक्रमित
प्रदेश १ मा कोरोनाबाट सबै भन्दा बढी २० देखि ३० वर्षको उमेर समूहका व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको दर उच्च रहेको छ।
मन्त्रालयको अभिलेख अनुसार सबैभन्दा बढी सङ्क्रमण २० देखि ३० वर्षको उमेरका कुल संक्रमितको २५ दशमलव ७४ प्रतिशत रहेको छ । त्यसैगरी ३१ देखि ४० वर्ष उमेर समुहमा २३ दशमलव ६८ प्रतिशत रहेका छन् ।

अन्यमा ४१ देखि ५० वर्ष उमेर समूहका १६ दशमलव ६९ प्रतिशत, ५१ देखि ६० बर्ष उमेर समूहका १२ दशमलव ८१ प्रतिशत, ११ देखि २० बर्ष उमेरका ७ दशमलव ९३ प्रतिशत, ६१ देखि ७० वर्ष उमेर समूहका ६ दशमलव ४२ प्रतिशत, ७१ मथि उमेर समुहका ४ दशमलव २२ प्रतिशत र नवजात शिशुदेखि १० वर्ष उमेर समूहका २ दशमलव ५५ प्रतिशत संक्रमित रहेका छन् । 

कोशी कोभिड–१८ उपचार केन्द्रका डा डेन आर्चायले  अस्पतालमा भर्ना भएका सबै भन्दा बढी युवा उमेर समूहका मानिसमा संक्रमण देखिएको र उनीहरुमा नै थप गम्भीर स्वास्थ्य समस्या देखिने गरेका बताए ।
उनले अस्पतालमा भर्ना गरिएका बिरामी मध्ये धेरैलाई भेन्टिलेटरमा राखेर उपचार गर्नु परिरहेको पनि बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप