बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोराना महामारीमा के गर्दैछ नेपाली सेना ?

अक्सिजन उत्पादनदेखि शव व्यवस्थापनसम्म
बिहीबार, ०६ जेठ २०७८, १३ : ४९
बिहीबार, ०६ जेठ २०७८

कोभिड–१९ संक्रमणको पहिलो चरणमा नेपाली सेना स्वास्थ्य सामग्री खरिदको विवादमा अनावश्यकरूपमा तानिएको थियो । सरकारले पीपीई लगायतका स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिन निर्णय गरेको थियो । तर, समयमा ती सामग्री ल्याउन नसक्दा सेना विवादमा मुछिएको थियो ।

तर, यसपालि नेपाली सेना विगतको गल्तीबाट पाठ सिक्दै त्यस्तो झमेलामा परेको छैन । यसपालि नेपाली सेना संक्रमितहरुलाई बचाउन अमृत समान मानिएको अक्सिजनको व्यवस्थापन लगायतका सेवा मूलक कार्यमा जुटेको छ ।

एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौंबाट ४० वटा खाली सिलिन्डर बाराको अक्सिजन प्लान्टमा भरेर सेनाले काठमाडौं ल्यायो । भैरहवामा अक्सिजनको हाहाकार भएपछि सेनाले सिमरा र चितवनबाट स्काई ट्रक प्रयोग गरेर भैरहवामा ४० सिलिन्डर अक्सिजन पु¥यायो । 

सुनसरी, पोखरा र विराटनगरबाट सैन्य विमान ‘कासा’ र सडकमार्गबाट ८३० सिलिन्डर अक्सिजन सेनाले काठमाडौंमा ल्याएको छ । 

५ अक्सिजन प्लान्टलाई सेनाको प्राविधिक सहयोग 

बन्द रहेका पाँचवटा अक्सिजन प्लान्ट सैनिक सहयोगमा सञ्चालन शुरु भएको छ । काठमाडौं, काभ्रे र रुपन्देहीमा रोकिएका अक्सिजन प्लान्ट सञ्चालन गरिएको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए । 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णय अनुसार ती प्लान्ट सेनाले सञ्चालन गरेको हो । थानकोटमा रहेको अक्सिटेक अक्सिजन प्लान्टमा पदिकको कमाण्डमा ७ जना सैनिक खटिएका छन् । काभ्रेको पनौतीस्थित नवज्योति अक्सिजन प्लान्टको सञ्चालनका लागि बिल्लादारको कमाण्डमा ८ जना सैनिक खटिएका छन् । 

बन्द रहेका अक्सिजन प्लान्टको मर्मतपछि सेनाको प्राविधिक सहयोगमा ती प्लान्ट सञ्चालनमा आएका हुन् । ‘पाँचवटा प्लान्ट मर्मत गरेर अपरेटर र प्राविधिक पठाएर हामीले रन गराएका छौं’ सैनिक प्रवक्ता पौडेलले भने, ‘त्यहाँबाट उत्पादन हुने अक्सिजनको वितरण स्वास्थ मन्त्रालयले तोकेअनुसार हुन्छ ।’ 

सेनाले रुपन्देहीको छिपागढस्थित शंकर अक्सिजन प्रालि, ठुटेपीपलस्थित लुम्बिनी अक्सिजन उद्योग र बागदुराको लुम्बिनी अक्सिजन आफ्नो प्राविधिक सहयोगमा सञ्चालन गरिरहेको छ । रुपन्देहीका ३ अक्सिजन प्लान्टमा अधिकृतको कमाण्डमा ३५ जना सैनिकलाई परिचालन गरिएको छ । 

सीसीएमसी, स्वास्थ्य मन्त्रालय र गृहमन्त्रालयसँगको समन्वयमा अक्सिजन प्लान्टको सञ्चालन र सिलिन्डर ढुवानीमा सहयोग गरिएको सैनिक प्रवक्ता पौडेलले रातोपाटीलाई बताए । 

सीमानामा होल्डिङ सेन्टर बनाइँदै

नेपाली सेनाले भारतबाट फर्किएका नेपालीको व्यवस्थापनका लागि सीमानामा होल्डिङ सेन्टर बनाउने तयारी गरिरहेको छ । मन्त्रिपरिषद्ले नेपाल–भारत सिमानाका ८ ठाउँमा १ हजार मान्छे राख्न सकिने होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । 

मन्त्रिपरिषद्को निर्णय अनुसार गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेलहिया, वीरगञ्ज, रानी र काँकडभिट्टामा होल्डिङ सेन्टर बनाउन लागिएको सैनिक प्रवक्ता पौडेलले बताए । 

‘सीमा नाकामा होल्डिङ सेन्टर बनाउनका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिएको छ’ सैन्य प्रवक्ता पौडेलले भने, ‘फिल्डमा स्थान पहिचान गरेका छौं ।’ 

नेपाली सेनाले संक्रमणको पहिलो चरणबाट शुरु गरेको शव व्यवस्थापनको काम निरन्तर गरिरहेको छ ।

काठमाडौंको राधास्वामी सत्संग व्यासको भवनमा सेनाले २ सय क्षमताको आइसोलेशन सेन्टर बनाइरहेको छ । काठमाडौं महानगरपालिकासँगको समन्वयमा त्यहाँ ८८ बेडको अक्सिजनसहितको संरचना तयार हुँदैछ । होल्डिङ सेन्टर र आइसोलेसनको सुरक्षा र व्यवस्थापनमा पनि सेनाले काम गरिरहेको सैन्य प्रवक्ता पौडेलले बताए । 

२७० सेनामा कोरोना संक्रमण

महामारीको जोखिम कम गर्न फ्रन्टलाइनमा खटिँदा दोस्रो चरणमा २७० जना सैनिकमा संक्रमण देखिएको छ । ‘हाम्रा कर्मचारीमा पहिलेभन्दा संक्रमण केही बढेको छ’ सैनिक प्रवक्ता पौडेल भन्छन्, ‘अहिले २७० जना सैनिक कर्मचारीमा संक्रमण देखिएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप