शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

बिहे भोजपछि फैलिएको कोरोनाले २ जनाको मृत्यु

बिहीबार, ०६ जेठ २०७८, १२ : ४९
बिहीबार, ०६ जेठ २०७८

गुल्मी । गुल्मीको कालीगण्डकीमा बिहे भोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा सङ्क्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका–५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए । स्थानीय जीवनदार माध्यमिक विद्यालयको शिक्षकसमेत रहेका ५० वर्षीय पुरुषले १७ गते छोराको विवाह गराएका थिए ।

दुलही लिन स्याङ्जाको गल्याङ नगरपालिकाको कपर्दीमा वडासदस्य बमबहादुर पहराईसहित ३० जनाको समूह जन्ती बनेर गयो । सरकारले वैशाख १४ गते नै विद्यालय बन्द गरेर २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह गर्यो । प्रशासन कार्यालयले पनि त्यसभन्दा पहिले नै पटक–पटक सूचना जारी गर्दै २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह गर्यो । कालीगण्डकी–५ का जनप्रतिनिधि र स्वयं परिवारले उक्त आग्रह मानेनन् । 

वैशाख १८ गते कालीगण्डकीको वडा नं ३, ४ र ५ का गरी ५०० जति सामूहिक भोजमा सहभागी भए । भोजमा कालीगण्डकीका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलाई पनि निमन्त्रणा थियो । अध्यक्ष, उपाध्यक्ष गएनन् । वडाध्यक्ष आफू गएनन्, परिवारलाई भोजमा पठाए । बिहेको चार÷पाँच दिन अगाडि सामग्री किन्नका लागि दुलाहाका बुबा सुनौली गएको वडासदस्य पहराई बताउँछन् ।

वैशाख २१ गतेपछि शिक्षकलाई ज्वरो आउने, रुघा लाग्नेलगायतका समस्या देखिन थाल्यो । थप उपचारका लागि परिवार र छिमेकीले बुटबल जान भने पनि उनले मानेनन् । वैशाख २८ गते पुर्तिघाट स्वास्थ्यचौकीमा जाँच गराए । एन्टिजेन्ट जाँच गराउँदा पोजेटिभ आएपछि पिसिआरका लागि स्वाब सङ्कलन गरेर तम्घास पठाइयो । यही जेठ १ गते १०ः०० बजेपछि  श्वासप्रश्वासमा समस्या देखियो भने होस गुमेजस्तो भयो । 

पुर्तिघाट स्वास्थ्यचौकीमा अक्सिजन नपाएपछि मिर्मिस्थित एक निजी अस्पतालमा लगियो । सोही दिन राति अस्पतालले मृत्युको घोषणा गरिदियो भने पिसिआर रिपोर्ट पोजेटिभ भएको जानकारी आयो । केही दिनदेखि कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि स्थानीय ५६ वर्षीया महिलाको पिसिआरका लागि स्वाब लिई परीक्षणका लागि तम्घास पठाइएको थियो । उनी १८ गतेको बिहे भोजमा सहभागी रहेका थिए । जेठ १ गते नै साँझपख बिहे भोजमै सहभागी भएकी उनलाई श्वासप्रश्वासमा समस्या देखियो । थप उपचारका लागि पुर्तिघाट ल्याए पनि ज्यान गएको वडासदस्य बोमबहादुरले बताए ।

८१ प्रतिशत गाउँलेमा कोरोना 

कोरोना महामारीमा गरिएको बिहे भोजपछि स्थानीयवासीमा लक्षण देखिन शुरु गरेका वडासदस्य बोमबहादुर बताउँछन् । स्थानीयलाई रुघा तथा पखाला लाग्ने हुँदाहुँदै पनि खानेपानी आयोजनाको पाइपका लागि लाइन खन्ने काम जारी थियो । एकातर्फ ठूलो सङ्ख्यामा बिहे भोजमा उपस्थित हुनु र अर्कोतर्फ खानेपानीको लाइन खन्ने काम नै फोक्सिङमा कोरोना फैलिनुको मुख्य कारण रहेको बोमबहादुरले बताए ।

स्थानीयवासीमा कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन शुरु गरेपछि यही जेठ २ गते ९४ जनाको स्वाब सङ्कलन गरियो । जेठ ४ गते साँझ प्राप्त रिपोर्टमा ७४ अर्थात् ८१ प्रतिशत नागरिक कोरोना सङ्क्रमित भएको गाउँपालिकाका स्वास्थ्य अधिकृत चन्द्रबहादुर थापाले जानकारी दिए । सङ्क्रमितमध्ये ३१ पुरुष र ४३ महिला छन् । दुई वर्षको बच्चादेखि ७१ वर्षका नागरिकसम्मलाई कोरोना सङ्क्रमण भएको थापाले बताए । गाउँलेलाई अहिले रुघाखोकी र ज्वरो आउने समस्या देखिएको छ । वडासदस्य पहराईले नागरिक बढी आत्तिए पनि गाउँपालिकाबाट समस्या समाधानका लागि कुनै पहल नभएको गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप