यति धेरै भारतीयहरु काठमाडौं आउने अनुमान थिएन : परराष्ट्रमन्त्री
काठमाडौं । जतिबेला भारतमा कोरोनाको दोस्रो लहर भयावह बन्यो, साउदी अरबले भारतबाट उसको देशमा हुँदै आएको उडानमाथि रोक लगायो । साउदीले भारतको उडान रोकेपछि वैदेशिक रोजगारीमा जाने भारतीय नागरिकहरु धमाधम काठमाडौं आउन थाले । नेपाल सरकारले हौसिएर ती भारतीय नागरिकलाई काठमाडौंमा स्वागत ग¥यो र तेस्रो देशका लागि ट्रान्जिट उपलब्ध गराउने निर्णय गर्यो ।
‘जतिबेला हाम्रोमा संक्रमण कम पनि थियो, एक किसिमले भन्ने हो भने त्यतिबेला सबै हौसियौं भन्नुपर्छ’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रातोपाटीसँग भन्छन्, ‘अलिअलि पर्यटन व्यवसायलाई पनि, होटल व्यवसायीलाई पनि राहतै हुन्छ भन्ने हिसाबले खुकुलो गर्यौं ।’
एकातर्फ भारतमा कोरोना संक्रमण बढ्दै गइरहेको थियो, अर्कोतर्फ काठमाडौं भित्रिने भारतीयहरुको संख्या ह्वात्तै बढ्यो । ‘यो लेभलसम्म भारतीयहरु आउँछन् भन्नेचाहिँ अनुमान थिएन’ मन्त्री ज्ञवाली भन्छन्, ‘भारतमा संक्रमण एकदमै बढ्न थाल्यो र हामीले सडकमार्गबाट आउनेहरुलाई रोक्यौँ । त्यसपछाडि हवाई मार्गबाट आउनेहरुलाई पनि अब नयाँ ट्रान्जिट हुँदैन है भन्यौं । त्यतिबेलासम्म झण्डै १२/१३ हजारजति भारतीयहरु काठमाडौंमा आइसकेका रहेछन् ।’
काठमाडौं भित्रिएका १० औं हजार भारतीयहरुबाट नयाँखालको इण्डियन भेरियन्ट यहाँ प्रवेश गर्यो कि गरेन भन्ने अनुसन्धान वा विश्लेषण भएको छैन । तर, अन्तरराष्ट्रिय उडान बन्द भइसकेपछि भने काठमाडौंमा रहेका ती दशौं हजार भारतीयहरु नेपालका लागि ‘घाँडो’ बन्न पुगे ।
‘अप्ठ्यारो कस्तो भयो भने उनीहरुलाई यहीँ (काठमाडौंमै) राखिराख्न पनि सकिँदैन, दिल्ली पठाउँदा पनि उता (साउदी) को टिकट छ,’ मन्त्री ज्ञवाली भन्छन्,‘न उनीहरु होटल क्वारेन्टिनमा बस्छन्, भारतमा त्यत्रो संक्रमण बढ्या छ ।’ प्रस्तुत छ, काठमाडौं प्रवेश गरेका भारतीयहरुमाथि केन्द्रित रहेर रातोपाटीले मन्त्री ज्ञवालीसँग गरेको संक्षिप्त कुराकानी–
नेपालबाट अन्तरराष्ट्रिय हवाई उडान रोकिएपछि काठमाडौंमा अभर परेका भारतीय नागरिकलाई उद्धार गरेर दिल्ली लैजानु मानवीय नाताले सही नै हुन्थ्यो । तर, भारतीयहरु अहिले साउदी अबरतिर गइरहेका छन् । काठमाडौंका होटलमा अहिले पनि हजार बढी भारतीयहरु छन् । यसबाट कोरोनाको जोखिम बढ्ने खतरा छैन ?
यसबीचमा भएको के हो भने साउदी अरबले भारतका फ्लाइटहरु रोक्यो, मान्छेचाहिँ रोकेको थिएन । त्यसपछि उनीहरुले नेपाललाई ट्रान्जिट बनाए । त्यतिबेलाको परिस्थितिमा नेपालको बाटो भएर जान नपाउने भन्ने थिएन । नेपालबाट उडान चलिराखेकै थियो । यसबाट नेपाली एयरलाइन्सहरुलाई फाइदा पनि भयो होला । त्यसैले नर्मल अवस्था हुँदा उनीहरुलाई रोक्ने कुरा भएन ।
त्यसपछि भारतमा संक्रमण एकदमै बढ्न थाल्यो र हामीले सडकमार्गबाट आउनेहरुलाई रोक्यौँ । त्यसपछाडि हवाई मार्गबाट आउनेहरुलाई पनि अब नयाँ ट्रान्जिट हुँदैन है भन्यौं ।
त्यतिबेलासम्म झण्डै १२/१३ हजारजति भारतीयहरु काठमाडौंमा आइसकेका रहेछन् । त्यसपछि हामीले ४/५ दिनजति ग्याप राख्यौं । अब नयाँ ट्रान्जिटलाई पनि अनुमति नदिने, तर यहाँ आइसकेकालाई चाहिँ जान दिने भनेर हामीले त्यो ५/७ दिनको समयसम्म जाने अनुमति दियौँ । चार्टर्ड गरेर उनीहरु जाने भए । तर, त्यति गर्दा पनि पन्ध्र सय/दुईहजार जनाजति रोकिए । मतलव, उनीहरु यो अवधिमा जान भ्याएनछन् ।
अप्ठ्यारो कस्तो भयो भने उनीहरुलाई यहीँ (काठमाडौंमै) राखिराख्न पनि सकिँदैन । दिल्ली पठाउँदा पनि के भो भने उताको टिकट छ, उनीहरुको भिसा छ । पैसा उनीहरुले नै हाल्ने हुन् । यो अलि मानवीयजस्तो विषय पनि भयो । आखिरी कामदारै हुन् विचराहरु, दुःख पाएका हुन्छन् । फेरि कहिलेकाहिँ हामीले रेस्क्यु गरिदेऊ भन्नुपर्ने पनि हुन्छ । कहिलेकाहीँ भारतबाट रेस्क्युको सहायता लिएका पनि छौं । त्यसैले यहाँ आइसकेकालाई मानवीय नाताले खाली गर्नका लागि यो अनुमति दिइएको हो ।
अहिले काठमाडौंमा रहेका भारतीयहरु अब कहिलेसम्म तेस्रो देशमा गइसक्लान् ?
अब केही दिनमा सकिएलान् । पठाउन सुरु गरेको तीन÷चार दिन भयो होला । अब दुई हजारभन्दा कम होलान् । कसैले १४÷१५ सय छन् भन्छन् । त्यसो हुँदा बढीमा १० वटा फ्लाइट हुँदा त गइहाल्ने भए नि ।
तर, साउदीलगायत खाडी मुलुकबाट विदामा स्वदेश आएका नेपालीहरु काममा फर्कन पाएका छैनन् । उता खाडी मुलुकमा भिसा सकिएकाहरु नेपाल आउन पाएका छैनन् नि ?
त्यो हाम्रो छुट्टै प्रबन्ध हो ।
भारतीयलाई साउदी लिएर गएका विमानहरु रित्तै फर्किइरहेका छन् । त्यसैमा नेपालीलाई ल्याउन मिल्दैनथ्यो ?
हैन, त्यसो त नगर्ने । त्यसो गर्नेबित्तिकै के हुन्छ भने नि, पोहोर साल पनि हामीलाई ठाउँ–ठाउँमा प्रेसर परेको थियो । यहाँबाट अष्ट्रेलिया पठायौं । विभिन्न ठाउँमा पठायौं । हामीले अन्तरराष्ट्रिय फ्लाइटहरु रोकिइरहेको परिप्रेक्ष्यमा योचाहिँ एक किसिमले आपतकालीन उडानजस्तो भयो । रेगुलर उडान त हामीले गरिरहेका छैनौं । त्यसो गर्नेबित्तिकै हामीलाई समस्या के हुन्छ भन्दाखेरि खाली भएका ठाउँमा त ल मान्छे आउने भए रे, त्यसैमा मारामार होला । प्राथमिकतामा कसलाई राख्ने भनेर छुट्याउन पनि गाह्रो । उनीहरु आउन पाउने हो भने अरु भिसा सकिएका वा छुट्टीमा रहेकाहरु किन आउन नपाउने ? अथवा किन जान नपाउने भन्ने कुरा हुन्छ । यसका लागि त हामीले समग्र एप्रोचमै हेर्नुपर्ने हुन्छ । खाली छ, पठाइहालौं न त भन्दाखेरि चाहिँ त्यसले हाम्रो ओभरल समस्यालाई ह्याण्डलिङ गर्ने सिस्टमलाई प्रभावित गर्छ ।
कतिपयले चाहिँ भारतसँग गरिएको एयर बबल सम्झौताका कारणले उनीहरुलाई रोक्न नसकिएको भन्छन् नि ?
त्यस्तो त होइन । एयर बबलचाहिँ खासमा नेपालीहरु इण्डियामा जाने र इण्डियनहरू नेपालमा आउनका लागि मात्रै हो । थर्ड कन्ट्री ट्रान्जिटचाहिँ एयर बबलअन्तरगत गर्न नपाइने हो । तर, बीचमा हामीले अलिकति खुकुलो ग¥यौं भनौं न ।
जतिबेला हाम्रोमा संक्रमण कम पनि थियो, एक किसिमले भन्ने हो भने सबै हौसियौँ भन्नुपर्छ त्यतिबेला । अति बढी आत्मविश्वास पनि भयो । संक्रमण कम छ, ठीकै छ नि त स्थितिलाई नर्मलतिर लैजाऔं, अलिअलि पर्यटन व्यवसायलाई पनि, होटल व्यवसायीलाई पनि अलिकति राहतै हुन्छ भन्ने हिसाबले खुकुलो गर्यौं ।
यो लेभलसम्म भारतीयहरु आउँछन् भन्नेचाहिँ अनुमान थिएन । नियमित उडान थियो, नियमितभित्र उसको (भारतको) साउदी अरबसँग उडान रोकिइसकेपछि यता डाइभर्ट भयो ।
कति आए भन्ने सुरुमा थाहा पनि हुँदैन, १०÷१२ दिनपछि रिपोर्ट आइसकेपछि हामीले रोक्यौँ । तर, उनीहरु १२÷१५ हजार आइसकेका रहेछन् । न उनीहरु होटल क्वारेन्टिनमा बस्छन् । भारतमा त्यत्रो संक्रमण बढ्या छ । त्यसैले एकदमै जोखिम भएपछि हामीले रोकेको हो । अब आइसकेका हुनाले उनीहरु एक किसिमले अलपत्र परे भनौं न । उनीहरुलाई इण्डिया पठाउन पनि सकिन्थ्यो, नसकिने होइन । तर, अलिकति मानवीय नाताले ल ठीकै छ नि त भनेर.... ।
भारत सरकार वा भारतीय दूतावासको दबावमा पर्यटन मन्त्रालयले उनीहरुलाई तेस्रो देश जान अनुमति दिएको होइन ?
होइन, प्रेसरको कुरा भएन । उनीहरुले रिक्वेस्ट गर्नु स्वाभाविक हो । उनीहरुले रिक्वेस्ट गरे अनि हामीले गर्यौं । प्रेसरको त केही कुरा भएन, यो हाम्रो आफ्नो निर्णय हो ।
भारतीयहरुलाई ट्रान्जिट बनाउन रोक्नुपर्छ, यसले कोरोनाको जोखिम बढाउँछ भनेर यसबारे सीसीएमसीमा पनि कुरा उठेको हो ?
छलफल भएको थियो । शुरुमा चाहिँ हामीले जतिबेला तेस्रो देशमा ट्रान्जिट गर्न नपाउने, आइसकेकालाई चाहिँ जान दिने भन्ने निर्णय गर्ने जुन टाइम राखेका थियौं, त्यो समय सीमाभित्र गइसक्छन् भन्ने थियो । फ्लाइट पूरा गर्न सकेनन् वा के भो, त्यसपछि चाहिँ बाँकी अलिकति रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना